ad ad

कारोबार


‘ग्राउन्ड ह्यान्डलिङ’ खोसिँदा निगमले वार्षिक ४ अर्ब आम्दानी गुमाउने

‘ग्राउन्ड ह्यान्डलिङ’ खोसिँदा निगमले वार्षिक ४ अर्ब आम्दानी गुमाउने

वसन्त अर्याल
मंसिर १५, २०८० शुक्रबार १६:४६, काठमाडौँ

सरकारले नेपाल वायुसेवा निगमलाई बिनाप्रतिस्पर्धा दिँदै आएको त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवाको जिम्मेवारी खोस्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा प्रतिस्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेको हो। 

नेपाल वायुसेवा निगमले आफ्नो जहाज उडानमा भन्दा बढी ग्राउन्ड ह्यानडलिङमा ध्यान दिएको भन्ने आधारमा खुल्ला प्रतिस्पर्धा गर्न लागिएको प्राधिकरणले जनाएको छ। 

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिको माध्यमबाट छनौट भएको संस्था मार्फत गराउने निर्णय भएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ, ‘हालसम्म उक्त सेवा बिनाप्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो।’

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले त्रिभुवन विमानस्थल सहित, भैरहवा र पोखरा विमानस्थलको समेत ग्राउन्ड ह्यानडलिङ गर्दै आएको छ। 

‘प्राधिकरणको ऐन र नियमावली मै टेकेर खुल्ला प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो,’ प्राधिकरणका उपमहानिर्देशक जगनाथ निरौलाले भने, ‘वायुसेवा निगम सरकारी निकाय नै भएको हुनाले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थियो। तर भूमिस्थ सेवाको विषयमा गुनासो र आफ्ना जहाज सञ्चालनभन्दा ग्राउन्ड ह्यान्डलिङमा ध्यान दिएको हो कि भनी खुला प्रतिस्पर्धा गर्ने निर्णय भएको हो।’

प्राधिकरणले वायुसेवा निगमले उडान सुरक्षा र व्यवस्थापनमा ध्यान दिन नसकेको निष्कर्ष निकाल्दै ग्राउन्ड ह्यान्डलिङ खोसेको हो।  

‘युरोपियन युनियनको अडिट रिपोर्ट, उड्डयन प्राधिकरणले गरेको अडिट, ग्राउन्ड ह्यान्डलिङको विषयमा जनस्तरबाट आएको गुनासोलाई आधार बनाएर खुला प्रतिस्पर्धामा जाने निर्णय गरिएको हो,’ प्राधिकरणका प्रवक्ता समेत रहेका निरौलाले बताए। 

सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको आम्दानी खोस्ने निर्णय गर्दा पछि हट्नुपर्ला नि भन्ने प्रश्नमा निरौलाले भने, ‘हामी प्राधिकरणको ऐन र नियमका आधारमा अघि बढेकाले हट्नु पर्दैन।’

प्राधिकरणले अन्तर्राष्ट्रिय संघ संस्थासँग छलफल गरी टेन्डरको प्रक्रियामा जाने जनाएको छ। ग्राउन्ड ह्यान्डलिङकोलागि अन्तर्राष्ट्रिय टेन्डर नै आह्वान गरी नयाँ कम्पनी छनोट गर्ने प्राधिकरणले जनाएको छ। टेन्डर डकुमेन्ट र आयको अनुमानपछि बोलपत्र आह्वान गर्ने छ। 

निगमको ४ अर्ब आम्दानी घट्ने 
निगमको ठूलो आम्दानी हिस्सा समेत ग्राउन्ड ह्यान्डलिङबाट हुँदै आएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा खोस्दा वार्षिक ४ अर्ब रुपैयाँ आम्दानी घट्ने देखिएको छ। त्रिभुवन विमानस्थलमा उच्च चाप हुँदा निगमले ग्राउन्ड ह्यानडलिङबाटै ४ अर्ब २३ करोड रुपैयाँ कमाएको थियो। 

पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्व गठित निगम सुधार  कार्यदलको प्रतिवेदनले निगमको ठूलो आम्दानी हिस्सा ग्राउन्ड ह्यान्डलिङ रहेको उल्लेख गरेका छन्। 

निगमले आर्थिक वर्ष २०७८/७९ मा भने १६ अर्ब ४२ करोड आम्दानी हुँदा १५ अर्ब २ करोड खर्च गरेको छ। निगमको आम्दानीमध्ये ग्राउन्ड ह्यान्डलिङबाट १९.८५ प्रतिशत आर्जन भएको छ। २०८० वैशाखसम्म आम्दानीको हिस्सा घटेर १२.७३ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्ष २०७४/७५ मा ग्राउन्ड ह्यान्डलिङ सेवाको आम्दानी ३७.६२ प्रतिशत थियो। 

प्रतिवेदनका अनुसार ग्राउन्ड ह्यान्डलिङ सेवा आम्दानी आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब १८ करोड ४० लाख छ। समग्रमा ग्राउन्ड ह्यान्डलिङ सेवा आम्दानी विगतका बर्षहरुमा भन्दा घटेको उल्लेख गरेको छ। 

कोभिडका २ वर्षबाहेक आव ०७४/०७५ मा ४ अर्ब ५ करोड र ०७५/०७६ मा ४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। कोभिड महामारीको बीचमा उडान संख्या कम र छुट लगायतको कारण ०७६/७७ मा ३ अर्ब ६ करोड र ०७७/०७८ मा १ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको यथार्थ खर्च कति हो, लेखांकन भने गरेको छैन। हवाईजहाज सञ्चालनमा निगम नोक्सानमा छ भने ग्राउन्ड ह्यान्डलिङबाट नाफामा छ।

२०७५/०७६ मा ४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्दा २ अर्ब ९२ करोड रुपैयाँ ग्राउन्ड ह्यान्डलिङमा खर्च भएको छ। उक्त वर्ष १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ। ०७४/०७५ मा पनि १ अर्ब २५ करोड खुद नाफा गरेको छ। ०७८/०७९ मा ९८ करोड रुपैयाँ नाफा रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .