ad ad

कारोबार


बजारमा नाफा बुक गर्ने होड, यो साता कारोबार दोब्बर, नेप्सेमा झिनो गिरावट

बजारमा नाफा बुक गर्ने होड, यो साता कारोबार दोब्बर, नेप्सेमा झिनो गिरावट

केशर बोगटी
मंसिर १६, २०८० शनिबार १४:६, काठमाडौँ

यस साता सेयरबजार १८५८.५३ बिन्दुमा अडिएको छ। १८६०.२० बिन्दुमा खुलेको बजार साताभरमा १.६७ अंकले घटेर १८५८.५३ बिन्दुमा झरेको हो।

साताका पाँच कारोबार दिनमा बजार एक दिन मात्र उकालो लाग्यो भने ४ दिन घट्यो। 

आइतबार ४७.७५ अंकले बढेको बजार त्यसपछि निरन्तर घटेको थियो। 

रकमका आधारमा भने अघिल्लो साताको तुलनामा यो साता झण्डै दोब्बर कारोबार भयो।

यो साता ७ अर्ब १४ करोडको कारोबार भयो। गत साता ८.१२ अंकले बढेको बजारमा ४ अर्ब २७ करोडको कारोबार भएको थियो।
साताको पहिलो कारोबार दिन बजार उच्च अंकले बढेपछि लगानीकर्ता नाफा बुक गर्ने होडमा लागेको देखिन्छ। सोही दिन झन्डै २ अर्बको कारोबार समेत भयो। 

त्यसपछिका तीन दिन कारोबार अवधिमा नेप्से १९ सय बिन्दु पार गर्न सफल भयो। तर, १९ सयको बिन्दु पुग्नासाथ ट्रेडरहरू हावी हुने प्रवृत्तिले बजार बढ्न सकेन। खुम्चिएको बजारमा कारोबार सकारात्मक हुनुले लगानीकर्ताको मनोबल विस्तारै बढ्न थालेको आकलन गर्न सकिन्छ। 

आगामी साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै छ। लगानीकर्ता मौद्रिक नीति अझै खुकुलो आउने अपेक्षामा छन्। खासगरी सेयर धितो कर्जाको जोखिम भार घटाउने र सेयर धितो कर्जाको सीमा बढाउने उनीहरूको अपेक्षा छ। 

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेको छ। वित्तीय संस्थाहरूसँग करिब  ४ खर्ब लगानीयोग्य रकम छ। कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गइरहेको छ।

अधिक तरलता भएका बेला ब्याजदर घट्दै जानु बजारको लागि सकारात्मक मानिन्छ। 

यद्यपि, कर्जाको माग बढिसकेको छैन। लगानीकर्ताहरू अझै पनि ब्याजदर घट्ने अपेक्षाका साथ प्रतीक्षा गरिरहेका छन्। 

बैंकहरू सेयरधितो कर्जा र अटो कर्जाका स्किम नै सार्वजनिक गरिरहेका छन्। 

त्यसमाथि बैंकहरूले सेयर कर्जा सहज बनाउनु बजारको लागि सकारात्मक संकेतसमेत हो। लगानीकर्ताको मनोबल बढाउन थाले बजारलाई सबै पक्षले टेवा मिलेको जानकार बताउँछन्।   

साताभरमा नेप्सेको कूल बजार पुँजीकरण २८ खर्ब ६५ अर्ब छ।

२ उपसूचकमा बढ्दा ११ मा गिरावट

यस साता १३ वटा उपसूचकमध्ये २ को बढोत्तरी आएको छ। त्यसैगरी ११ वटा उपसमूहको सूचक घटेको छ। होटल र म्युचल फण्डमा मात्र वृद्धि देखियो। सबैभन्दा बढी होटलको परिसूचक ४६.४७ अंकले बढेको छ। 

जीवन बिमा ३६१.२, निर्जीवन बिमा उपसूचक २७६.५६, औद्योगिक समूहको १५२.२६, विकास बैंक ९५.६९ अंक र वित्त समूहको सूचक ८५.१९ अंकले घटेको छ।

यो साता सूचीकृत सेयर

यस साता नेप्सेमा एक कम्पनीको आईपीओ र एक कम्पनीको एफपीओ सूचीकृत भएको छ। यो साता बजारमा त्रिशूली जलविद्युत कम्पनीको १ करोड ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ। 

त्यसैगरी, मिर्मिरे लघुवित्तको १ लाख २३ हजार ८१६  कित्ता एफपीओ सूचीकृत भएको छ। 

सर्वाधिक कमाउने कम्पनी

यो साता नेप्सेमा रुरु जलविद्युत र छिमेक लघुवित्तको सेयरमूल्य सर्वाधिक बढेको छ। यो साता यी दुई कम्पनीका सेयरधनीले सर्वाधिक कमाउन सफल रहे।

सर्वाधिक कारोबार गर्ने कम्पनी

यो साता सोनापुर मिनिरल आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक माग भएको कम्पनी

फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा सोनापुर मिनिरल आयल कम्पनी, नेपाल इन्भेस्टमन्ट मेगा बैंक र रावा इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .