कारोबार


विदेशी लगानीकर्ताले नेपालबाट लगे २७ अर्ब नाफा, ६ अर्ब लैजाँदै

विदेशी लगानीकर्ताले नेपालबाट लगे २७ अर्ब नाफा, ६ अर्ब लैजाँदै

दीपक भट्ट
माघ १९, २०७६ आइतबार १३:४,

नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले नेपालबाट नाफाबापत २७ अर्ब ७२ करोड रुपैयाँ लगेका छन्। आर्थिक वर्ष २०७५/०७६ मा विदेशी लगानीकर्ताले नाफाबापत उक्त रकम र १ अर्ब २१ करोड रुपैयाँबराबरको लगानी फिर्ता गरेका हुन्।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा विदेशीले लगेको यो नाफा रकम केही कम हो। अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५३ करोड रुपैयाँ नाफाबापत विदेश गएको थियो।

चालू आर्थिक वर्षमा पनि नाफाबापतको झण्डै ६ अर्ब रुपैयाँ लैजान विदेशी कम्पनीहरुले आवेदन दिइसकेका छन्।

नाफा लान खोज्नेहरुमा १९ कम्पनी छन्। आवेदन दिएका १९ कम्पनीमध्ये सूर्य नेपालको लाभांश भने नेपालमा नै पूरै लगानी गर्ने निर्णय भइसकेको छ। उक्त कम्पनीले आवेदन रद्द गरी नयाँ क्षेत्र अर्थात् होटलमा लगानी गर्ने गरी काम अघि बढिसकेको छ। सूर्य नेपालले नाफाबापत ४ अर्ब ७६ करोड रुपैयाँ विदेश लाने तयारीमा रहेको थियो। हाल उक्त रकम रोकिएको छ।

नाफाबापतको पैसा लान आवदेन दिनेहरुमा भने गोर्खा ब्रुअरी १ अर्ब १ करोड, चीनको हुवावे टेक्नोलोजी नेपाल प्रालिले १३ करोड, सोल्टी होटल लिमिटेडका विदेशी लगानीकर्ताले करिब १ अर्ब छन्। त्यस्तै, बर्जर जोन्सन एण्ड निकोल्सन नेपाल प्रालिले पनि लाभांशबापतको रकम लैजान निवेदन दिएको छ।

उक्त कम्पनीले विभागमा ९५ करोड लैजान अनुमति मागेको छ। त्यस्तै, यति ब्रुअरीले ८ लाख ७२ हजार, युनिलिभर नेपाल लिमिटेडले २ करोड लाख ५७ हजार ९ सय ५३ रूपैयाँ लैजान अनुमति माग गरेको छ। यस्तै सीजी फुड्स नेपाल प्रालिले प्रविधि विकास गरेबापत ६० लाख रूपैयाँ अमेरिकन डलरमा भुक्तानी माग गरेको छ। यो भने नाफा वा रोयल्टी रकम होइन। कम्पनीमा नै नयाँ प्रविधि भित्र्याइएको र त्यसको भुक्तानी गर्न माग गरेका छन्।

ओरियन्टल होटलले ४५ लाख रूपैयाँ, देवयानी इन्टरनेशनल नेपाल प्रालिले १५ लाख ६१ हजार, ट्रान्स नेपाल फ्राइज्ट सर्भिसले ४१ लाख ४२ हजार, टाइगर वन प्रालिले २७ लाख ३७ हजार हिमालय इन्काउन्टर्स प्रालिले ४ करोड ८७ लाख, भोटेकोशी पावर कम्पनी प्रालिले लाभांशबापतको ४६ लाख ७ हजार रूपैयाँ लैजान अनुमति माग गरेका छन्।

यो आवेदन उद्योग विभागमा परेको हो। नाफा लान उद्योग विभागको स्वीकृति लिन राष्ट्र बैंकले अनिवार्य गरेको छ। करिब १० वटा कम्पनीले भने नाफा तथा रोयल्टीबापतको रकमलाई नेपालमा नै लगानी विस्तारको प्रस्ताव समेत गरेको विभागले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad