ad ad

कारोबार


४३ कम्पनीको लाभांश घोषणा : २४ कम्पनीको सेयर किन्दा बोनस पाइने

४३ कम्पनीको लाभांश घोषणा : २४ कम्पनीको सेयर किन्दा बोनस पाइने

केशर बोगटी
मंसिर २६, २०८० मंगलबार २१:१२, काठमाडौँ

झण्डै ४ दर्जन पब्लिक कम्पनीले लाभांश घोषणा गरेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत पब्लिक कम्पनीले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश घोषणा गरेका हुन्। 

जसमा १० वाणिज्य बैंक, चार विकास बैंक, दुई फाइनान्स कम्पनी, तीन होटल एण्ड टुरिजम, ६ हाइड्रोपावर कम्पनी, दुई उत्पादनमूलक कम्पनी, चार म्यानुफ्याक्चररिङ कम्पनी, ११ लघुवित्त र एक निर्जीवन बीमा कम्पनी छन्।

१९ कम्पनीले प्रस्तावित लाभांश वितरण गर्न बुक क्लोज गरिसकेका छन्। बाँकी २४ कम्पनीमध्ये अधिकांशले बुक क्लोज मिति तय गरिसकेका छन् भने केहीले तय गरेका छैनन्। 

लाभांश प्रस्ताव गरी बुक क्लोज गर्न बाँकी कम्पनीको सेयर खरिद गर्दा लाभांश हात पार्न सकिनेछ। 

लाभांश प्रस्तावित कम्पनीको बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै साधारणसभा र लाभांशको हकदार बन्न पाइन्छ। 

हालसम्म लाभांश प्रस्ताव गर्ने १० वाणिज्य बैंकहरुमध्ये ८ बैंकले बुक क्लोज गरिसकेका छन्। बाँकी दुई बैंकको सेयर खरिद गर्दा भने लाभांश हात पार्न सकिनेछ। 

त्यसैगरी दुई विकास बैंक, दुई फाइनान्स कम्पनी, दुई होटल कम्पनी, ८ लघुवित्त, एक बीमा कम्पनी, चार हाइड्रोपावर र अन्य पाँच कम्पनीले लाभांश प्रस्ताव गरी बुक क्लोज गरिसकेका छैनन्।
 
दुई वाणिज्य बैंकको बोनस पाइने 
हालसम्म १० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। नबिल बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र माछापुच्छ«े बैंकले लाभांश घोषणा गरेका छन्। 

जसमा ८ बैंकले बुक क्लोज नै गरिसकेका छन्। नबिल बैंक र नेपाल एसबीआई बैंकले बुक क्लोज मिति तय गरेका छन्। 

बुक क्लोजको अघिल्लो दिनसम्म यी दुई बैंकको सेयर खरिद गरे प्रस्तावित लाभांश हात पार्न सकिनेछ। 

नबिल र नेपाल एसबीआई बैंकले मंसिर २९ गते बुक क्लोज मिति तय गरेका छन्। यद्यपि, यी दुई बैंकको मंसिर २८ गतेसम्म कायम लगानीकर्ता आगामी साधारणसभामा सहभागी हुन पाउने र लाभांश हात पार्न सक्नेछन्। 

बुक क्लोजको अघिल्लो दिनसम्म नबिल बैंकको सेयर खरिद गर्दा ११ प्रतिशत नगद र नेपाल एसबीआई बैंकको १०.५५ प्रतिशत लाभांश हात पार्न सकिनेछ। 

४ मध्ये दुई विकास बैंकको बुक क्लोज हुन बाँकी 
हालसम्म ४ विकास बैंकले लाभांश घोषणा गरेका छन्। लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन्। 

सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्न बुक क्लोज समेत गरिसकेका छन्। 

लुम्बिनी विकास बैंकले बुक क्लोज मिति तय गरेको छैन। मितेरी डेभलपमेन्ट बैंकले मंसिर २८ बुक क्लोज मिति तय गरेको छ। यी दुई बैंकको क्लोजअगावै सेयर खरिद गर्नेले प्रस्तावित लाभांश हात पार्नेछन्। 

दुई फाइनान्स कम्पनीको लाभांश पाइने 
हालसम्म दुई फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन्। आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका छन्। 

आईसीएफसी फाइनान्सले ६.५ प्रतिशत र मन्जुश्री फाइनान्सले ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन्। यी दुवै कम्पनीले बुक क्लोज गरेका छैनन। तसर्थ यी दुई कम्पनीको सेयर खरिद गर्दा लाभांश हात पार्न सकिनेछ।

होटल एण्ड टुरिजम 
हालसम्म नेप्सेमा सूचीकृत तीन होटलले लाभांश घोषणा गरेका छन्। तारागाउँ रिजेन्सी, सोल्टी होटल र ओरेण्टल होटलले लाभांश घोषणा गरेका हुन्। तारागाउँ रिजेन्सीले १५ प्रतिशत, सोल्टी होटलले ३१.५७ प्रतिशत र ओरेण्टल होटलले ५.२६ प्रतिशत लाभांश घोषणा गरेका छन्। लाभांश घोषणा गर्ने तीनमध्ये ओरेण्टल होटलले बुक क्लोज गरिसकेको छ। 

सोल्टी होटलले बुक क्लोज मिति तय गरेको छ। होटलले पुस ५ गते बुक क्लोज गर्नेछ। अर्थात् पुस ४ गतेसम्म यस होटलको सेयर खरिद गर्नेले लाभांश हात पार्न सक्छन्। 

आधा दर्जन हाइड्रोपावर कम्पनीको लाभांश घोषणा
हालसम्म आधा दर्जन हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन्। भवगति हाइड्रोपावर, चिलिमे, सेञ्चुरी इनर्जी, नेपाल हाइड्रो डेभलपर्स, माण्डू हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन्।

जसमध्ये दुईले बुक क्लोज गरिसकेका छन्। अन्य दुई कम्पनीले बुक क्लोज मिति तय गरेका छन्। सेञ्चुरी इनर्जीले बुक क्लोज मिति तय गरेको छैन। 

निफ्राको लाभांश पाइने 
नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले बुक क्लोज मिति तय गरेको छ। बैंकले पुस ६ गते बुक क्लोज मिति तय गरेको छ। पुस ५ गतेसम्म कायम बैंकका सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्। बैंकले कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ। 

हिमालयन डिस्टिलरी र बोटलर्स नेपाल (तराई)
हिमायन डिस्टिलरीले २५ प्रतिशत र बोटलर्स नेपाल (तराई) लिमिटेडले ६० प्रतिशत लाभांश घोषणा गरेका छन्। यी दुवै कम्पनीले बुक क्लोेज मिति तय गरेका छैनन्। तसर्थ यी दुवै कम्पनीको सेयर खरिद गर्दा प्रस्तावित लाभांश पाइनेछ।

११ लघुवित्तको लाभांश घोषणा
हालसम्म ११ लघुवित्तले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। 

युनिक लघुवित्त, आरएसडीसी लघुवित्त, स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, सपोर्ट लघुवित्त, धौलागिरि लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, साना किसान विकास लघुवित्त, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन्।

आरएसडीसी लघुवित्त, स्वावलम्बन लघुवित्त, एनआईसी एसिया लघुवित्तले लाभांश वितरण गर्न बुक क्लोज गरिसकेका छन्। अन्य ८ लघुवित्तको बुक क्लोज हुन बाँकी नै छ। 

युनिक लघुवित्तले गत आर्थिक वर्ष २०७९/०८०को नाफाबाट सेयधनीहरुलाईे १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्तै, आरएसडीसी लघुवित्तले ९.०५२६ प्रतिशत, स्वावलम्बन लघुवित्तले १३.०१ प्रतिशत, एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत, सपोर्ट लघुवित्तले १३.६८ प्रतिशत, धौलागिरि लघुवित्तले १५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले १५ प्रतिशत, साना किसान विकास लघुवित्तले २० प्रतिशत, समता घरेलु लघुवित्तले ५.७०७६ प्रतिशत, आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले १० प्रतिशत, छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

जसमध्ये तीन लघुवित्तले बुक क्लोज गरिसकेका छन् भने बाँकी ८ कम्पनीले बुक क्लोज मिति तय गरेका छैनन्। बुक क्लोज गर्न बाँकी ८ कम्पनीको सेयर खरिद गर्दा लाभांश पाइनेछ। 

नेपाल इन्स्योरेन्स कम्पनी
यस कम्पनीले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्दै छ। मंसिर २७ गतेसम्म कम्पनीको सेयर खरिद गर्दा लाभांश हात पार्न सकिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .