ad ad

कारोबार


साताभरमा बिक्यो साढे १६ अर्बको सेयर, १३ वटै उपसूचकमा उछाल

साताभरमा बिक्यो साढे १६ अर्बको सेयर, १३ वटै उपसूचकमा उछाल

केशर बोगटी
मंसिर ३०, २०८० शनिबार ११:३४, काठमाडौँ

यस साता नेप्से परिसूचक १४१.८३ अंकले वृद्धि भएको छ। गत साता १८५२.७७ बिन्दुमा बन्द भएको बजार यो साता १४१.८३ अंकले वृद्धि भई १९९४.६० बिन्दुमा पुगेको छ। 

साताका पाँच कारोबार दिनमा एक दिन घटेको बजार ४ दिन बढ्न सफल रह्यो। पाँचवटै कारोबार दिनमा १६ अर्ब ४४ करोडको कारोबार भएको छ। गत साता ६ अर्ब ४७ करोडको कारोबार भएको थियो। 

साताको पहिलो कारोबार दिन बजार उच्च अंकले बढेपछि सोमबार लगानीकर्ता नाफा बुक गर्ने होडमा लागेको देखियो। त्यसपछि बजार निरन्तर बढेर २ हजार नजिक पुगेको हो। 

बजार बढ्नथालेपछि औसत कारोबार नै साढे ३ अर्ब हुन थालेको छ। निरन्तर कारोबार बढ्दै जाँदा लगानीकर्ताको मनोबल बढ्न थालेको बुझिन्छ। बजार बढ्नथालेसँगै नाफा बुक गर्ने होड देखिँदा बजार अपेक्षाजनक रुपमा बढ्न सकेन। तर, सेलिङ प्रेसरमा समेत लगानीकर्ता सम्हालिँदा बजारमा उच्च कारोबार भएको छ। 

मौद्रिक समीक्षाको प्रभाव 
गत साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेसँगै नेप्सेसँगै कारोबार समेत उल्लेख्य मात्रामा बढेको हो। मौद्रिक नीतिमा सेयर धितोकर्जाको जोखिम भार घटाउँदा लगानीकर्ता हौसिएका देखिन्छन्। 

साथै, बैंक तथा वित्तीय संस्थामा अधिक तरलता समेत रहेको छ। वित्तीय संस्थाहरूसँग करिब ४ खर्ब लगानीयोग्य रकम छ। कर्जाको ब्याजदर पनि निरन्तर घट्दै गइरहेको छ। अधिक तरलता भएका बेला ब्याजदर घट्दै जानु बजारको लागि सकारात्मक मानिन्छ।

यद्यपि, कर्जाको माग बढिसकेको छैन। लगानीकर्ताहरू अझै पनि ब्याजदर घट्ने अपेक्षाका साथ प्रतीक्षा गरिरहेका छन्। बैंकहरू सेयरधितो कर्जा र अटो कर्जाका स्किम नै सार्वजनिक गरिरहेका छन्। 

त्यसमाथि बैंकहरूले सेयर कर्जा सहज बनाउनु बजारको लागि सकारात्मक संकेत समेत हो। लगानीकर्ताको मनोबल बढाउन थाले बजारलाई सबै पक्षले टेवा मिलेको जानकार बताउँछन्।  

योसँगै साताभरमा नेप्सेको कुल बजार पुँजीकरण ३० खर्ब ७६ अर्ब पुगेको छ।

१३ वटै उपसूचकमा उछाल 
यस साता १३ वटा उपसूचक बढेका छन्। यो साता लाइफ इन्स्योरेन्स उपसूचक ६७६.९५ अंकले बढेको छ। 

त्यसैगरी, निर्जीवन बीमा उपसूचक ७८६.४ अंक, होटल तथा पर्यटन ४००.३३, उत्पादन तथा प्रशोधन ४०५.९९, डेभलपमेन्ट बैंकको २६८.५७, माइक्रोफाइनान्स २८२.३९, ट्रेडिङ १८३.८२, हाइड्रोपावर २३३.६९, फाइनान्स उपसूचक १४६.१३ र अन्य उपसूचक ८९.०६ अंकले बढेको छ। 

साथै, बैंकिङ उपसूचक ५७.०२, इन्भेष्टमेन्ट ४.९४ र म्युचुअल फण्ड उपसूचक ०.७७ अंकले बढेको छ। 

यो साता सूचीकृत सेयर
यो साता नेप्सेमा एक कम्पनीको आईपीओ, एक कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। 

यो साता नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ४० लाख ३२ हजार ८७५ कित्ता सेयर सूचीकृत गरेको छ। 

साथै, अरुण कावेली पावर कम्पनीले १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर र मुक्तिनाथ कृषि कम्पनीले ७० लाख कित्ता सेयर सूचीकृत गरेको छ। 

सर्वाधिक कमाउने कम्पनी
यो साता नेप्सेमा बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ। यो साता यी दुई कम्पनीका सेयरधनीले सर्वाधिक कमाउन सफल रहे।

सर्वाधिक कारोबार गर्ने कम्पनी
यो साता सोनापुर मिनरल्स आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक माग भएको कम्पनी
फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा सोनापुर मिनरल्स आयल कम्पनी र नेपाल इन्भेस्टमन्ट मेगा बैंक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .