कारोबार


निगमलाई दिएको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन

निगमलाई दिएको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन

नेपालखबर
पुस ८, २०८० आइतबार १७:३०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायुसेवा निगमले हालसम्म गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई निर्देशन दिएका छन्। 

आइतबार सिंहदरबारमा मन्त्री किराँतीलाई बोलाएर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन्। 

गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ अब उप्रान्त प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो। प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२)अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो। 

सोसँगै प्राधिकरणले १७ गते नै त्यसको लागि बोलपत्र आह्वान गर्न ५ सदस्यीय समिति बनाएको थियो। बोलपत्रका कागजात तयारका लागि निर्देशक सुनिल कुमाश कुशवाहको नेतृत्वमा समिति बनाइएको थियो। 

यता ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ३/४ अर्ब आम्दानी गर्दै आएको निगमका कर्मचारी प्राधिकरणको यो निर्णयले आन्दोलित भएका थिए। उक्त ग्राउन्ड ह्यान्डलिङबाट निगमले १ अर्ब हाराहारीमा नाफा गर्दै आएकामा प्राधिकरणले खोसेपछि नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलन नै घोषणा गरेको थियो। 

त्योसँगै कर्मचारीले २० गतेबाट आन्दोलन गर्दै आएका थिए। निगमले ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट नभई स्वतः पाउनुपर्ने माग राखेका थिए। हवाइ माफियाको निर्देशनमा प्राधिकरणका महानिर्देशकले निगमबाट ग्राउन्ड ह्यान्डलिङ खोसेको भन्दै उनीहरुले प्राधिकरणविरुद्ध आन्दोलन गर्दै आएका थिए। 

कर्मचारी आन्दोलित बनेपछि नागरिक उड्डयनमन्त्री किराँतीमाथि चर्को दबाब परेको थियो। सोसँगै उनी कर्मचारीसँग यही पुस २ मा वार्ता गर्न बाध्य भएका थिए। त्यसमा मन्त्री किराँतीले यसबारे मन्त्रिपरिषदबाट नै निर्णय गर्ने भनेपछि कर्मचारीले १३औँ दिनपछि आन्दोलन स्थगित गरेका छन्। 

योसँगै प्रधानमन्त्रीले बोलाएरै नखोस्न भनेपछि मन्त्री किराँतीमाथि थप दबाब सिर्जना भएको छ। 

युरोपेली संघको कालोसूचीबाट नहटेको विषयमा आरोप प्रत्यारोपपछि प्राधिकरणले निगमसँग ग्राउन्ड ह्यान्डलिङ खोसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .