ad ad

कारोबार


७ उद्योगलाई ३४ सय ५८ मेट्रिक टन सुपारी आयात अनुमति, श्रीराम टोबाकोलाई २३ सय मेट्रिक टन

७ उद्योगलाई ३४ सय ५८ मेट्रिक टन सुपारी आयात अनुमति, श्रीराम टोबाकोलाई २३ सय मेट्रिक टन

दीपक भट्ट
पुस २०, २०८० शुक्रबार १४:१५, काठमाडौँ

सरकारले चालू आवमा मरिच, सुपारी, केराउ, छोकडालगायतका वस्तु छ महिना अवधिको लागि मात्रै आयात गर्न दिने भएको छ। 

चार वर्षअघि आयातमा पूर्ण बन्देज लगाए पनि ती वस्तुहरू औद्योगिक प्रयोजनको लागि अनुमति लिएर ल्याउन दिनलागेको हो। 

यसको प्रक्रिया सुरु भइसकेको छ। यस वर्ष सरकारले निश्चित परिमाणमा ती वस्तुहरू भित्र्याउन अनुमति दिने निर्णय गरेको थियो। 

सरकारले आयात गर्न नै नपाउने गरी प्रतिबन्ध लगाएकामा त्यसयता कार्यविधि बनाएर आयात अनुमति प्रदान गर्दै आएको छ। त्यसको लागि पनि निश्चित समय तोक्ने गरेको छ। 

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ अनुसार उक्त वस्तु आयातको अनुमति दिइएको हो। यसको लागि गत कात्तिक २ गते नै राजपत्रमा सूचना जारी भएको थियो।  

उक्त कार्यविधिमा विगतमा उद्योगले कच्चा पदार्थको रुपमा प्रयोग गरेको वस्तुस्थिति र उद्योगको क्षमतालाई मुख्य आधार बनाएर अनुमति दिने उल्लेख छ। कार्यविधिअनुसार कच्चा पदार्थको रुपमा सुपारी, केराउ र मरिच आयात गर्न चाहनेले उद्योग विभागमा आवेदन दिनुपर्छ। 

सो आवेदनको आधारमा उद्योग विभागले कोटा सिफारिस गर्छ। उक्त सिफारिसको आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिदको अनुमति प्रदान गर्छ। 

कुन उद्योगले कति ल्याउँदै छन् सुपारी र मरिच? 
चालू आवमा कात्तिकको सुरुदेखि नै आयातको अनुमति वितरणको काम भएको छ। यसअनुसार सुपारीतर्फ सबैभन्दा धेरै आयात अनुमति लिनेमा श्रीराम टोवाको उद्योग प्रालि छ। उक्त उद्योगले २ हजार ३ सय ३१ दशमलव ३ मेट्रिक टन ल्याउन पाउने अनुमति पाएको छ। 

त्यस्तै मधु प्रोडक्स विराटनगरले ८४ दशमलव ६५ मेट्रिक टन, श्री देउती गुड्का इण्डष्ट्रिज बाँकेले ३ सय ४४ दशमलव ८ मेट्रिक टन, महाशक्ति गुड्खा उद्योग कपिलवस्तुले ५२ मेट्रिक टन, विजार्ड फ्रेगनेन्स इण्डष्ट्रिज रुपन्देहीले ६ सय ६ मेट्रिक टन, नारायणराज प्रोडक्स झापाले २४ मेट्रिक टन, र लुम्बिनी पान मसला उद्योगले १६ मेट्रिक टनको अनुमति पाएका छन्। 

यता मरिचतर्फ अनुमति लिनेमा मसला उद्योगहरू छन्। उनीहरूले सेतो र कालो मरिच आयातको अनुमति पाएका छन्। 

यसअनुसार यशोदा फुड्स प्रालि भैरहवाले कालो मरिच ११ मेट्रिक टन र सेतो मरिच ५ मेट्रिक टन,  मोहित स्पाइसेस एण्ड प्रोडक्ट्स प्रालि काठमाडौंले कालो मरिच २७ दशमलव ४२ मेट्रिक टन, श्री दुगड स्पाइसेस एण्ड फुड्स प्रोडक्ट्स प्रालिले कालो मरिच ५६ मेट्रिक टन र सेतो मरिच २६ दशमलव ३९ मेट्रिक टन, त्रिमूर्ति इण्डष्ट्रिज प्रालि रुपन्देहीले कालो मरिच ११ मेट्रिक टन, सेतो मरिच १ दशमलव ४८ मेट्रिक टनको लागि अनुमति पाएका छन्। 

त्यस्तै डाबर नेपालले ३ सय १९ मेट्रिक टन कालो मरिच आयातको अनुमति पाउँदा एसियन थाइफुड प्रालिले ३२ मेट्रिक टन कालो मरिच र श्री गायत्री स्पाइसेस एण्ड फुड प्रोडक्ट्स प्रालिले ५९ दशमलव ७७ मेट्रिक टन कालो मरिचको अनुमति पाएको उद्योग विभाग र वाणिज्य विभागको तथ्याङ्कले देखाएको छ।

२०७८ फागुनमा उद्योग मन्त्रालयले उक्त वस्तु आयातलाई व्यवस्थित गर्न कार्यविधि बनाएको थियो। सोसँगै मन्त्रिपरिषद् बैठकले पारित गरेर राजपत्रमा प्रकाशित भएको थियो। कार्यविधिअनुसार नै आयात गर्न दिइने वा फरक तरिकाबाट समेत आयात गर्न सकिने भन्ने विषयमा राय मागिएको थियो। त्यसमा अर्थ मन्त्रालयले कार्यविधिअनुसार अघि बढ्न भनेको थियो। 

सोही कार्यविधिअनुसार उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैँ आयात गर्नसक्ने व्यवस्था छ। त्योभन्दा अघि ट्रेडिङ कम्पनीबाट आयात गरिँदै आएको थियो। कार्यविधिकै अनुसार आयात अनुमति दिने भएपछि ट्रेडिङ कम्पनीलाई भने उक्त वस्तु ल्याउन दिइएको छैन। 

सरकारले २०७६ चैतमा केराउ, सुपारी, छोकडा र मरिचजस्ता वस्तुको आयात नै बन्द गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .