कारोबार


‘बाह्य लगानी भित्र्याउन सरकारको थप पहल आवश्यक’

‘बाह्य लगानी भित्र्याउन सरकारको थप पहल आवश्यक’

नेपालखबर
माघ १७, २०८० बुधबार १७:३९, काठमाडौँ

नेपाल बैंकर्स संघ र ‘यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा ‘इम्प्लिमेन्टेसन अफ इन्स्टिच्युसनल मेकानिजम फर हिडिङ फेसिलिटि एन्ड सजेसन्स फर द क्यू टु रिभ्यू अफ मोनिटरी पोलिसी २०८१र८१’ विषयक पोलिसी डाइलग सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उदेश्य मौद्रिक नीति २०८०र८१ मा भएका केही नीतिगत व्यवस्था र त्यसका कार्यान्वयनका पक्षहरुको बारेमा अन्तरक्रिया तथा हेजिङ्ग संग सम्बन्धित विषयमा छलफल रहेको बैंकर्स संघले जनाएको छ।

कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष सुनिल केसीले नेपालको आर्थिक विकासको लक्ष्य, अन्तर्राष्ट्रिय जगतमा गरिएको प्रतिबद्धता परिपूर्तिको लागि ठूलो लगानी खाँचो पर्ने बताए।

उनले अहिलेको अवस्थामा बाह्य लगानीलाई देशमा कसरी भित्राउन सकिन्छ भन्ने विषय महत्वपूर्ण रहेको बताए। नेपालले लिएको दिगो विकासको लक्ष्य परिपूर्तिको लागी पनि नेपालमा ठूलो स्रोत चाहिने र देश भित्रका बैंक तथा वित्तीय संस्थाले मात्र त्यसको परिपूर्ति गर्न नसक्ने परिस्थितिमा वैदेशिक लगानी अपरिहार्य रहेकाले सरकारले यसको सहजताको लागि थप पहल गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा शिशिर कुमार ढुङ्गानाले प्रस्तुतीकरण गरेका थिए। उनले आफ्नो प्रस्तुतिमा नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्य मार्फत विदेशी लगानीकर्ताहरूलाई हेजिङ्ग सुविधा प्रदान गर्ने नीति घोषणा गरेको भएता पनि हालसम्म हेजिङ नियमावली, २०७९ पूर्ण रुपमा कार्यान्वयन हुन नसेको बताए।

त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र विभिन्न निकायहरूले कस्तो भूमिका खेल्न सक्छन् भन्ने विषय तथा हेजिङ्गसँग सम्बन्धित नीति कार्यान्वयनका लागि के कस्ता प्रयासहरु भैरहेका छन्, हालसम्म सम्पन्‍न भएका कार्यहरु, नीति कार्यान्वयनको जिम्मेवार निकाय, हेजिङ्ग सुविधा प्राप्‍त गर्न अवलम्वन गर्नुपर्ने प्रक्रिया, उपयोग तथा लगानीको सीमा जस्ता विविध पक्षहरुका बारेमा प्रकाश पारे। 

प्रस्तुतिको क्रममा उनले मौद्रिक नीति २०८०/८१ को अर्धवार्षिक समीक्षा आउन लागेको सन्दर्भमा केही नीतिगत व्यवस्था उपर छलफल र सुझाव पेश गरे।

त्यसैगरी अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले हेजिङ्गको विषयमा नेपाल सरकार गम्भीर रहेको र आपसी समझदारी र सहकार्यबाट यसलाई प्रभावकारी बनाउन तयार रहेको बताए।

कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफलका क्रममा उठेको विषयहरूलाई सम्बोधन गर्दै देशका उद्योगी, व्यवसायी र बैंक सबैको मनोबल उच्च भएमा मात्र देशको आर्थिक विकासमा यसले सकारात्मक प्रभाव पार्ने कुरामा नेपाल राष्ट्र बैंक स्पष्ट रहेको बताए। सोहि अनुसार नेपाल राष्ट्र बैंकले नीति निर्देशन तर्जुमा गर्ने गरेको उनको भनाई थियो।

हेजिङको सम्बन्धमा थप प्रकाश पार्दै उनले अहिले पनि बैंकहरूले कुनै न कुनै रुपमा हेजिङको सुविधा उपभोग गर्दै आएको र बैंकले आफ्नो क्षमता तथा प्राविधिक दक्षताको आधारमा त्यसको उपयोग गर्न सकिने कुरा बताए।

कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले मौद्रिक नीतिमा भएका केही नीतिगत व्यवस्थाहरु र हेजिङ जस्तो महत्वपूर्ण विषयमा सम्बन्धित सबै सरोकारवालाहरु एकै ठाउँमा छलफल गर्ने वातावरण बनेको बताए।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु तथा निर्देशकहरु, विभिन्न सरकारी निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका पदाधिकारी/प्रतिनिधिहरु, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र अन्य पदाधिकारीहरु लगायतको उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .