ad ad

कारोबार


सहायक कम्पनी खोल्न दिएर पूर्वाधार र कृषिमा बीमा क्षेत्रको लगानी तानिँदै

आधा दर्जन कम्पनीले प्राधिकरणसँग मागे स्वीकृति, चुक्ता पुँजी कति?
सहायक कम्पनी खोल्न दिएर पूर्वाधार र कृषिमा बीमा क्षेत्रको लगानी तानिँदै

केशर बोगटी
माघ २२, २०८० सोमबार १४:३२, काठमाडौँ

बीमा कम्पनीले पूर्वाधार तथा कृषि लगायतका क्षेत्रमा लगानी बढाउने उद्देश्यले सहायक (सब्सिडरी) कम्पनी स्थापना गर्ने भएका छन्।

बीमा ऐनको दफा ९ को उपदफा नं. ७३० मा बीमा कम्पनीहरुले आफ्नो लगानीलाई सब्सिडरी कम्पनीको रुपमा विस्तार गर्न पाउने व्यवस्था छ। 

सोहीअनुरुप बीमा कम्पनीहरुले पूर्वाधार, कृषि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्ने गरी सहायक कम्पनी खडा गर्न लागेका हुन्। 

हाल बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत कृषि तथा उत्पादन, शीत भण्डार गृह, पर्यटन, जलविद्युत्, ऊर्जा, केबलकार, सडक, स्वास्थ्य र शिक्षामा लगानी गर्नुपर्ने व्यवस्था छ। 

तर, बीमा कम्पनीहरुले यी क्षेत्रमा कुल लगानीको १ प्रतिशत मात्रै लगानी गरेका छन्। यस क्षेत्रमा गरिएको लगानी बढी जोखिम हुने भन्दै उनीहरुले लगानी बढाउन नचाहेको देखिन्छ। 

कम्पनीहरुले यस्तो क्षेत्रमा लगानी गर्दा जोखिम हुने र आफूहरुसँग जोखिम मूल्यांकन गर्ने विज्ञता नभएको बताउँदै आएका छन्। 

चालू आवको ६ महिना (पुस मसान्तसम्म)मा बीमा कम्पनीले कुल लगानीको झण्डै १ प्रतिशत मात्रै पूर्वाधार तथा कृषि क्षेत्रमा लगानी गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

यसले बीमा कम्पनीहरु यस क्षेत्रमा लगानी गर्न अनिच्छुक रहेको देखिन्छ। 

बीमा क्षेत्रकै जानकारहरु बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्ने र ब्याज आम्दानीमा रमाउने प्रवृत्तिका कारण बीमा कम्पनीहरु यस क्षेत्रमा लगानी गर्न नचाहेको बताउँछन्।  

ठूलो पुँजी भएका संस्थाले जोखिम देखाएर पूर्वाधार लगायतका क्षेत्रमा लगानी नगरी मुद्दतीमा पैसा राख्ने र ब्याजमा रमाउने अनि त्यो पुँजी बैंकमार्फत जाँदा लागत महंगो हुने गरेको छ। 

सिधै लगानी हुनुपर्ने पुँजी बैंकमार्फत जाँदा त्यसको लागत बढ्ने र  थपिएको भार अन्ततः सर्वधारणले व्यहोर्नुपर्ने हुन्छ। 

ब्याज खाने पैसा पूर्वाधार र कृषिमा तान्ने प्रयास 
बीमा कम्पनीहरु यस्ता क्षेत्रमा सिधै लगानी गर्न नखोज्दा बीमा प्राधिकरणले सहायक कम्पनी खडा गरी लगानी बढाउन सक्ने बाटो खोलिदिएको हो। 

बैंक तथा वित्तीय संस्थामा पैसा राखेर मात्रै देशको विकास नहुने निष्कर्ष निकाल्दै बीमा कम्पनीलाई सहायक कम्पनीमार्फत पूर्वाधारलगायतका क्षेत्रमा लगानी बढाउने उद्देश्य राखिएको प्राधिकरणले बताएको छ।  

बीमा कम्पनीहरुको लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप बनेको छ। हालसम्म बीमा कम्पनीहरुले साढे ५ खर्ब लगानी बैंक तथा वित्तीय संस्थामा छ। 

२०८० पुस मसान्तसम्म आइपुग्दा बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा ५ खर्ब ४५ अर्ब बढी पैसा राखेका छन्।

हालसम्म आधा दर्जन बीमा कम्पनीले सहायक कम्पनी स्थापनाको स्वीकृतिको लागि प्राधिकरणमा आवेदन दिएका छन्। 

हाल प्राधिकरणमा लगानी विस्तारका लागि सहायक कम्पनी खडा गर्न नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सलिको इन्स्योरेन्सले निवेदन दिएका छन्। 

प्राधिकरणले स्वीकृति दिएसँगै सहायक कम्पनीले पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा लगानी पर्न पाउनेछन्।

सहायक कम्पनीले कुन–कुन क्षेत्रमा लगानी गर्न पाउने? 
बीमा कम्पनीहरुले ल्याउन लागेका सहायक कम्पनीले इन्भेष्टमेन्टको मोडालिटीमा सञ्चालन गर्न दिने प्राधिकरणको योजना छ। 

यी कम्पनीले कृषि तथा उत्पादन, शीत भण्डार गृह, पर्यटन, जलविद्युत्, ऊर्जा, केबलकार, सडक, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा लगानी गर्न पाउनेछन्। 

यीबाहेक केही सुरक्षित क्षेत्रमा समेत लगानीको व्यवस्था गरिने बीमा प्राधिकरणका अधिकारी बताउँछन्। 

बीमा कम्पनीहरुले सहायक कम्पनीमार्फत पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्नेछन्। सहायक कम्पनीहरुले लगानी क्षेत्रसँग सम्बन्धित विज्ञता राखेका हुन्छन्। विज्ञताको आधारमा परियोजनाको दिगोपना छ भनी हेर्ने काम गरेर मात्रै लगानी गर्छ। 

बीमा कम्पनीले सहायक कम्पनीमार्फत पूर्वाधार तथा कृषि क्षेत्रमा गरेको लगानीको लागत सस्तो हुनेछ। र, विभिन्न परियोजनाले सस्तो तथा सुलभ दरमा पुँजी पाउनेछन्। 

सबै पैसा एउटै ठाउँमा लगानी गर्दा जोखिम हुनसक्छ। तसर्थ, पूर्वाधारसँगै केही सुरक्षित क्षेत्रमा लगानीको व्यवस्था गर्न निर्देशिका तयारी भइरहेको उनीहरुको भनाइ छ। 

मूल कम्पनीको भन्दा धेरै पुँजी सहायकको 
हाल जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवनको साढे २ अर्ब तोकिएको छ। अधिकांश कम्पनीले पुँजी पुर्याउँदा केहीको पुँजी पुगेको छैन। 

बीमा कम्पनीहरुले तोकेअनुरुप पुँजी पुर्याउन नसकेको बेला ५/६ अर्ब पुँजीसहितको सहायक कम्पनी खडा गर्न खोजेको बीमा प्राधिकरण कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन्। 

‘लगानीको लागि सहायक कम्पनी खोल्न दिने भनेका हौँ। त्यसको सुपरिवेक्षण गर्ने कुरामा अझै स्पष्टता भएको छैन’, उनले भने, ‘सहायक कम्पनीको नियम राष्ट्र बैंकले गर्दैन। प्राधिकरणले त्यसको सुपरिवेक्षण गर्नुपर्ने हुन्छ।’

चुक्ता पुँजीलगायतका कुरामा स्पष्ट नियम तथा निर्देशिका नआउँदा कम्पनीहरुले ढुक्क र तीव्रताका कारण कम्पनी स्थापना गरी लगानी गर्न पाएका छैनन्। 

यद्यपि, सहायक कम्पनीको लगानी निर्देशिका बनाएर मात्रै अनुमति दिने उनको भनाइ छ। 

‘जीवन बीमा कम्पनीको पैसा त पोलिसी होल्डरको पैसा हो। यस्तो लगानीमा केही रिस्क आयो भने अप्ठ्यारो हुन्छ’, उनले भने, ‘यस्तो रिस्क हेर्न नियन्त्रण लिनुपर्छ कि भनेर केही ढिलाइ भइरहेको छ। ननलाइफ (निर्जीवन)मा धेरै अप्ठ्यारो छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .