ad ad

कारोबार


धितोको अधिक मूल्यांकन गरी सहकारीका अध्यक्षलाई दिएको ऋणले १० बैंकरको हातमा हतकडी

धितोको अधिक मूल्यांकन गरी सहकारीका अध्यक्षलाई दिएको ऋणले १० बैंकरको हातमा हतकडी

तत्कालीन सेन्चुरी बैंकका सीईओहरू तुलसीराम र मनोज


नेपालखबर
फागुन १५, २०८० मंगलबार १६:५०, काठमाडौँ

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा मिलेमतोमा धितोको एक अर्ब रुपैयाँको ओभर भ्यालुएसन (अधिक मूल्यांकन) भएको खुलेको छ। 

मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित १० बैंकर पक्राउ परेपछि कर्मचारीको मिलेमतोमा धितोको अधिक मूल्यांकन गरी ऋण प्रवाह भएको खुलेको हो।    

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानअनुसार प्रवाह भएको ऋणमध्ये करिब १ अर्बको धितोले २ अर्ब बढी कर्जा प्रवाह भएको देखिएको छ। 

धितोले धान्नेभन्दा धेरै कर्जा प्रवाह गरेको अनुसन्धानमा देखिएपछि मंगलबार तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई सीआईबीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौतमसहित तत्कालीन सीईओ मनोज न्यौपाने र कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठ छन्। 

तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन्। सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएपछि अहिले प्रभु बैंकको नामबाट कारोबार भइरहेको छ।

प्रभु बैंकले सेञ्चुरी बैंकको उक्त कर्जा असुल गर्नका लागि पटक–पटक ताकेता र धितो समेत लिलाम गर्नका लागि सूचना जारी गरे पनि धितोको मूल्यांकन कर्जाभन्दा कम भएपछि सो धितो बिक्री हुनसकेको छैन। 

विषय के हो? 
तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकले चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

यस कर्जालाई लिएर एक महिनाअघि नेपाल राष्ट्र बैंकले प्रभु बैंकमा स्थलगतरूपमा विशेष अनुगमन गरेको थियो। अन्ततः राष्ट्र बैंकको सिफारिसमा सीआईबीले बैंकरहरूलाई पक्राउ गरेको हो। प्रभु बैंकले तीनपटक धितो लिलामीको सूचना जारी गर्दा पनि सम्पत्ति बिक्री हुनसकेको थिएन।

बैंक स्रोतका अनुसार धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य कर्जाको तुलनामा आधा पनि छैन। अहिले चौलागाईं सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन्।  

चौलागाईंको ३ अर्ब ६८ करोड ऋण
सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँ रुपैयाँ हिनामिना गरेर अहिले हिरासतमा रहेका रविन्द्र चौलागाईंले विभिन्न बैंकसँग साढे ३ अर्ब बढी ऋण लिएको भेटिएको छ। 

देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनले आफ्ना विभिन्न कम्पनीहरूका लागि चारवटा वाणिज्य बैंकबाट तीन अर्ब ६८ करोड रुपैयाँ ऋण लिएको भेटिएको हो।

उनको प्रभु बैंक (तत्कालीन सेञ्चुरी कमर्सियल) २ अर्ब ४० करोड, तत्कालीन मेगा (हालको नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकबाट पनि ७० करोड, एनआईसी एसिया बैंकमा ४० करोड र माछापुच्छ्रे बैंकबाट पनि १८ करोड रुपैयाँ ऋण लिएको भेटिएको हो। 

थप समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .