कारोबार


अर्थतन्त्र निराशाजनक छैन, मैले सम्हालेपछि सूचकहरूमा सुधार देखियो : अर्थमन्त्री महत

अर्थतन्त्र निराशाजनक छैन, मैले सम्हालेपछि सूचकहरूमा सुधार देखियो : अर्थमन्त्री महत

तस्बिर : रासस


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १९:२०, काठमाडौँ

अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताएका छन्।

पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका उनले बताए।

'अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्, बाहिर प्रचार गरेजस्तो नकरात्मक छैनन्', उनले भने। 

देशको अर्थतन्त्र सङ्कटमा रहेका बेला आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेको बताउँदै उनले त्यसपछि क्रमशः सुधार आएको बताए।

'बैङ्क ब्याजदर घटेको छ, मूल्यवृद्धि दर घटेको छ, अरू धेरै सूचकहरु सकारात्मक छन्, अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ। अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन म प्रयत्न गरिरहेको छु,' मन्त्री महतले भने, 'नेपालमा नराम्रा कुराको बढी प्रचार हुने गरेको छ, यहाँ यति धेरै सम्भावना छन्, हरेक नागरिकले सकारात्मक सोचका साथ स्वदेशमा नै कम गर्नुपर्छ।'

अर्थमन्त्री महतले पछिल्लो समय पर्यटन क्षेत्र चलायमान भएसँगै बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदा अर्थतन्त्रमा थप टेवा पुगेको बताए।

पर्यटन र जलविद्युत्मा अथाह सम्भावना रहेकाले ती क्षेत्रमा रोजगारी सृृजना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उनले बताए।

वैदिक सनातन हिन्दू धर्म नेपालीको मौलिकता भएको भन्दै यो धर्मबाट कोही पनि यताउता गर्न नहुनेमा उनले जोड दिए।

पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा भएका संरचनाको विकासको प्रशंसा गर्दै पञ्चकोट धार्मिक गन्तव्य हुने बताए।

पञ्चकोट क्षेत्रको सडक, खानेपानीमालगायत विकासको क्षेत्रमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाएका छन्। 

स्वामी कमलनयनाचार्यले जल, जमिनको संरक्षण गरी विकास निर्माणमा लाग्न आग्रह गरे।

जल रहे मात्रै सिङ्गो मानव जीवन रहने हुँदा राज्यले यसतर्फ गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए। उनले अर्थमन्त्रीमार्फत वैदिक सनतान धर्मको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .