कारोबार


बैंकको ऋण तिर्दिनँ भन्नेलाई नियन्त्रणमा लिने अर्थमन्त्री पुनको चेतावनी

बैंकको ऋण तिर्दिनँ भन्नेलाई नियन्त्रणमा लिने अर्थमन्त्री पुनको चेतावनी

नेपालखबर
फागुन २४, २०८० बिहिबार १९:४, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिने भन्दै हिड्नेलाई सरकारले नियन्त्रणमा लिने बताएका छन्।  

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भड्काउँदै हिंड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको उनले जानकारी दिए।

सिंहदरबारमा बिहीबार नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको बधाई लिँदै  अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने घोषणा गरे।

‘बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भनेर अभियान चलाउने प्रवृत्तिलाई अब धेरै दिन छुट दिन सकिँदैन,’ पुनले भने, ‘त्यो प्रवृत्तिलाई प्रोत्साहित गर्ने काम कसैले पनि गर्नु हुँदैन।’

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने उनको भनाइ छ। 

मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेन्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट रहेको बताउँदै उनले भने, ‘सरकारले लगानीको वातावरण बनाउँछ। सुरक्षाको प्रत्याभूति दिलाउँछ,’ पुनले भने, ‘निजी क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ।’

सरकारले नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिको सुरक्षा दिने प्रतिबद्धता उनको थियो।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतले बैंकिङ क्षेत्रको सुरक्षामा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए।

ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका साथै भौतिक आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग उनीहरूको आग्रह थियो।

मन्त्री पुनले निजी क्षेत्रका व्यवसायीलाई गल्ती नगरी काम गर्न, अनावश्यक दुःख नदिन नियामक निकायलाई आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .