ad ad

कारोबार


कोटेश्वरमा विमानस्थलमुनि सुरुङमार्ग र फ्लाइओभर, जापानको सहुलियत ऋण

कोटेश्वरमा विमानस्थलमुनि सुरुङमार्ग र फ्लाइओभर, जापानको सहुलियत ऋण

कार्यालय समयमा सबैभन्दा बढी ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ। तस्बिर : सरोज नेपाल


वसन्त अर्याल
चैत १, २०८० बिहिबार १६:५२, काठमाडौँ

जापानले काठमाडौंको कोटेश्वरमा सुरुङमार्ग र फ्लाइओभर बनाउन ऋण सहायता दिने भएको छ। 

बागमती पुलदेखि मनोहरा पुलसम्म नयाँ संरचना बनाउन आर्थिक सहायता प्रदान गर्ने भएको हो। 

चक्रपथ र भक्तपुर चल्ने छोटो दूरीका सवारीसाधनका साथै उपत्यकाबाहिरसम्म जाने लामोदूरीका सवारीसाधन पनि कोटेश्वर हुँदै जाने गरेका छन्। यसले कोटेश्वर चोकमा सर्वसाधारणदेखि यात्रुहरुले दिनहुँ लामो ट्राफिक जाम झेल्नुपर्ने समस्या छ। 

अरनिको राजमार्ग र बीपी राजमार्गका गाडी सोही मार्ग हुँदै जानुपर्ने भएकाले कार्यालय समयमा सबैभन्दा बढी ट्राफिक जाम कोटेश्वरमा हुने गरेको छ। सोही कारण सरकारले लामो समयदेखि कोटेश्वरमा अन्डरपास, फ्लाई ओभर र सुरुङमार्गबारे अध्ययन तथा छलफल गर्दै आएको छ । तर कुन पूर्वाधार उपयुक्त हुने टुंगिएको छैन।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोटेश्वरमा ट्राफिक चाप कम गर्न वैकल्पिक पूर्वाधार बनाउन सम्भाव्यता अध्ययन गरेको थियो। यसअनुसार ३ वटा वैकल्पिक प्रस्ताव गरिएको छ। तिनबारे अध्ययन गर्दा त्रिभुवन विमानस्थलको धावनमार्ग रहेको जग्गामुनि सुरुङ खन्ने र फ्लाई ओभरले जोड्ने सहमति भएको छ। 

सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा. विजय जैसीले कोटेश्वरमा ट्राफिक चाप कम गर्न सुरुङमार्ग र फ्लाई ओभर बनाउन लागेको नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार पूर्वाधार निर्माणको प्रस्तावमात्र नभई सरकारले चाहे जापानले नै सहुलियत ऋणमा बनाइदिने प्रस्ताव समेत गरेको छ। 

‘ऋण लगानी गर्नको लागि जाइकाले चासो देखाएको छ’, महाशाखा प्रमुख जैसीले भने, ‘सहुलियत ऋण सहायताको लागि छलफल भइरहेको छ तर टुंगिसकेको छैन।’  

जाइकासँग वार्ता गर्न मन्त्रिपरिषद्ले पनि वार्ता टोली गठन गरिसकेको छ। अर्थ मन्त्रालयका अधिकारीहरुले ऋण सहायताबारे छलफल गरिरहेको उनको भनाइ छ। 

यसका लागि जाइकासँग ३१ अर्ब रुपैयाँ ऋण मागिएको जैसी बताउँछन्। तर नयाँ पूर्वाधारको लागत भने एकीन भइसकेको छैन। 
‘डीपीआर बनेपछि लागत स्पष्ट हुन्छ, अहिले ३१ अर्ब रुपैयाँ ऋण सहायता माग गरेका छौँ’, उनले भने। 

सडक विभागका अनुसार तीनकुने सुरुङमार्ग जोड्न बागमती खोला (शान्तिनगर)सम्म फ्लाई ओभर बन्छ। पेप्सीखोला मोडिने चोकमा जाम घटाउन मनोहरासम्म फ्लाइओभर हुनेछ। 

‘जडीबुटीबाट एयरपोर्टको जग्गामुनिबाट तीनकुने निस्किने ६०० मिटरको सुरुङ बन्छ’, जैसीले भने, ‘बीचमा सुरुङमार्ग बन्दा छेउमा फ्लाइओभर बन्नेछ।’

सरकारले आर्थिक वर्ष २०७४/०७५ मा वैकल्पिक पूर्वाधार बनाउने निर्णय गरेको थियो। प्राविधिक विषय नटुंगिँदा निर्माणबारे भने अनिश्चितता कायम हुँदै आएको छ। 

सुरुङमार्ग बनाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच लाइट (धावनमार्ग पुग्नुअघि जहाजलाई निर्देश गर्ने प्रकाश (बत्ती) मुनिको जग्गा प्रयोग गर्नुपर्ने भएकाले नागरिक उड्डयन प्राधिकरणले पनि  शर्त राख्दै आएको छ। 

सडक विभागले विमानस्थलको बाहिरी भागमा मात्रै संरचना बन्ने भएकाले प्राधिकरणका केही शर्त पालना गर्न अप्ठ्यारो नहुने बताएको छ। 

काठमाडौंको कलंकीमा चिनियाँ सहयोगमा यसअघि नै अन्डरपास निर्माण भइसकेको छ। चालू आर्थिक वर्षकै बजेटमा सरकारले कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माणकार्य सुरुवात गर्ने उल्लेख गरेको छ। तर कोटेश्वरको काम अघि बढे पनि अरु बजेट घोषणामै सीमित भइरहेका छन्। 

ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य यो आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख गरे पनि डिजाइन परिवर्तन हुँदा ढिलाइ भइरहेको छ। 

सूर्यविनायक–धुलिखेल सडक विस्तार आफ्नै स्रोतमा 
जाइकाकै सहयोगमा कोटेश्वरदेखि सूर्यविनायकसम्म सडक विस्तार भएको थियो।

तर सूर्यविनायकबाट धुलिखेलसम्म जाइकाले अध्ययन गरी ऋण लगानी गर्न तयार हुँदा अहिलेकै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्रीसँग विवाद भयो। अन्ततः जाइका पछि हटेको थियो। 

त्यसपछि नेपाल सरकारको आफ्नै स्रोतमा ३ वटा प्याकेजमा यस खण्डमा काम भइरहेको छ। ३ प्याकेजमा एउटा पुल छ भने २ वटा सडक छन्। 

सूर्यविनायक–धुलिखेल आयोजना प्रमुख राजेन्द्र प्रसाद दासले २०८२ सम्म सबै प्याकेजको काम सक्ने दाबी गरे। 

‘जाइका पछि हटेपछि आफ्नै स्रोतमा विस्तार भइरहेको छ। अहिले सडक छेउको वाल उठाउने, कल्भर्ट बनाउने काम हुँदै छ’, उनले भने, ‘सबै प्याकेजको काम २०८२ सम्म सकिन्छ।’

यस खण्डमा पर्ने कुल सडकको लम्बाइ १५.५ किमि छ। धुलिखेलबाट साँगासम्म एउटा र साँगाबाट सूर्यविनायकसम्म अर्को प्याकेजमा काम भइरहेको छ। 

यी दुई प्याकेज साढे ८ अर्बमा सक्ने सम्झौता भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .