ad ad

कारोबार


सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा सास्ती, साँगामा अन्डरपासको डिजाइन नै बाँकी

सुस्त निर्माणले सूर्यविनायक-धुलिखेल सडकमा सास्ती, साँगामा अन्डरपासको डिजाइन नै बाँकी

नागढुंगा–नौबीसेपछि सबैभन्दा व्यस्त नाका सूर्यविनायक–धुलिखेल सडकको अवस्था नाजुक छ। तस्बिर : सरोज बैजु


नेपालखबर
चैत ७, २०८० बुधबार ११:३३, काठमाडौँ

बजेट अभावका कारण सूर्यविनायक–धुलिखेल सडकको प्रगति सुस्त छ। ३ वर्षमा ८ अर्ब खर्च गर्नुपर्ने ठेक्कामा सरकारले ५४ करोड मात्रै छुट्याएको थियो। 

आयोजनाले सडक निर्माणलाई तीव्रता दिन थप २ अर्ब रुपैयाँ माग गरे पनि हालै ३८ करोड रुपैयाँ निकासा भएको छ। ६ लेनमा विस्तार गर्न लागिएको सडक २०७९ फागुनमा साँगाबाट काम थालिएको थियो। 

८ अर्ब ४२ करोड दायित्व रहेको आयोजनामा चालू आर्थिक वर्षमा करिब ५४ करोड रुपैयाँमात्रै विनियोजन भएको आयोजनाले जनाएको छ। बजेट अपुग भन्दै थप २ अर्ब रुपैयाँ माग गरेकामा ३८ करोड रुपैयाँ बजेट थप भएको छ।  

‘सरकारले थप ३८ करोड रुपैयाँ निकासा गरे पनि रकम भुक्तानी गर्न अझै बाँकी रहन्छ’, आयोजनाका सीडीई नारायण प्रसाद लामिछानेले भने। 

काठमाडौं उपत्यका जोड्ने उक्त सडक हुँदै काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखाका बासिन्दा नियमित आउजाउ गर्छन्।

त्यसबाहेक चीनको तातोपानी जोड्ने अरनिको राजमार्ग र तराई जोड्ने छोटो सडक बीपी राजमार्ग धुलिखेल हुँदै जान्छन्। 

नागढुंगा–नौबीसेपछि सबैभन्दा व्यस्त नाका सूर्यविनायक–धुलिखेल सडकको अवस्था नाजुक छ। तर सरकारले बजेट अभावसँगै अन्य विभिन्न कारणले प्रगति सुस्त छ। 

राजमार्ग निर्माणको २५ वर्षपछि २ लेनबाट ६ लेनमा विस्तार हुनलागेको हो। जाइकाकै सहयोगमा कोटेश्वरदेखि सूर्यविनायकसम्म सडक विस्तार भएको थियो।

सूर्यविनायकबाट धुलिखेलसम्म जाइकाले अध्ययन गरी ऋण लगानी गर्न तयार हुँदा मन्त्रीसँगको विवादमा पछि हटेको थियो। तत्कालीन समयमा रघुवीर महासेठ नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए। 

त्योसँगै हाल नेपाल सरकारको आफ्नै स्रोतमा ३ वटा प्याकेजमा सूर्यविनायक धुलिखेल सडक निर्माण भइरहेको छ। ३ प्याकेजमा एउटा पुल छ भने २ वटा सडक छन्। सूर्यविनायक–धुलिखेल आयोजना प्रमुख राजेन्द्र प्रसाद दासले २०८२ सम्म सबै प्याकेजको काम सक्ने गरी काम भइरहेको बताए। 

‘जाइका पछि हटेपछि आफ्नै स्रोतमा विस्तार भइरहेको छ। अहिले सडक छेउको वाल उठाउने, कल्भर्ट बनाउने काम हुँदै छ’, आयोजना प्रमुख दासले भने, ‘सबै प्याकेजको काम २०८२ सम्म सक्ने योजना छ।’

पहिलो चरणमा धुलिखेलबाट साँगासम्म ८.४ किमि छ। यसको ठेक्का ४ अर्ब ५ करोडमा लागेको छ। साँगाबाट सूर्यविनायकसम्म ७.५ किमि छ। दोस्रो खण्डको ३ अर्ब ७७ करोडमा ठेक्का सम्झौता भएको छ। जहाँ २०–२० मिटरका ३ पुल निर्माण गरिनेछ। 

सूर्यविनायक–धुलिखेल आयोजनाका सीडीई लामिछानेले बजेट अभावसँगै केही संरचना हटाउन नसक्दा लक्ष्यअनुसार काम हुन नसकेको बताए। 

‘राइट अफ वेभित्र भएका घर टहरा हटाउनुपर्ने अवस्था पनि छ। कतिलाई क्षतिपूर्ति दिएर हटाउने कतिलाई नदिई हटाउने स्पष्ट भइसकेको छैन’, लामिछाने भन्छन्, ‘साँगामा अन्डरपासको डिजाइनको कारणले काम हुनसकेको छैन।’

सूर्यविनायकदेखि धुलिखेलसम्म समथर भूभाग रहे पनि साँगामा थोरै उचाइ छ। धुलिखेल पुग्ने ठाउँमा घुम्तीमा थप जग्गा लिनुपर्ने भएकाले जग्गा अधिग्रहण गर्नुपर्नेछ। 

साँगा भन्ज्याङ कटेलगत्तै नासिका मन्दिरलगायत पुरातात्त्विक वस्तुहरु फेला परेकाले पुरातत्त्व विभागसँगको सहकार्यमा काम अघि बढाउनुपर्छ। 

‘साँगा–धुलिखेल प्याकेजमा कुल भौतिक प्रगति २२ प्रतिशत छ’, उनी भन्छन्, ‘सूर्यविनायक धुलिखेलको १८ प्रतिशत प्रगति छ।’

साँगामा करिब १ किलोमिटरमा तल र माथि गरी सडक निर्माण हुनेछ।

निवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एक वर्षअघि स्थलगत अनुगमन गर्दै निर्माण काम छिटो सक्न निर्देशन दिएका थिए। तर काम गर्न आवश्यक बजेटको जोहो भने गर्न सकेनन्। 

पछिल्ला वर्षमा नेपाल आफैँले निर्माण गरिरहेका सडकमा भुक्तानी नै प्रमुख समस्या बन्दै गएको छ।

दातृनिकायसँग सम्झौता भएका सडकमा निर्माण कम्पनीले प्रक्रिया पुर्‍याएर निश्चित समयमा रकम पाए पनि आन्तरिक स्रोत व्यवस्थापन गर्न नसक्दा नेपालले अघि बढाएका आयोजनामा अर्बौँ रुपैयाँ बक्यौता छ। 

धुलिखेल–खावाँ सडक असारसम्म कालोपत्रे हुने दाबी
केही दिनअघि पानी पर्दा गाडी चिप्लिने समस्या देखिएको धुलिखेल–खावाँ सडक चालू आर्थिक वर्षमा कालोपत्रे हुने आयोजनाले दाबी गरेको छ। 

इन्जिनियर लामिछानेले बजेट नहुँदा निर्माण कम्पनीले काम नगरेको बताए। 

धुलिखेल कट्नेबित्तिकै २ किलोमिटर सडक अझै निर्माण हुनसकेको छैन। अहिले बजेटको सुनिश्चितता भएकाले काम हुने आयोजनाको दाबी छ। 

‘निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ। निर्माण कम्पनीले अब काम थाल्ने भनेको छ’, उनले सुनाए, ‘नेपालथोक क्षेत्रमा करिब १० किलोमिटर सडक ओभर ले गर्नुपर्नेछ।’

बाँकी धुलिखेल–सिन्धुली सडकको बाँकी खण्डमा खासै समस्या नरहेको उनको भनाइ छ। 

थप तस्बिर 
 

सबै तस्बिर : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .