ad ad

कारोबार


नयाँ वर्षमा अर्थतन्त्र जगाउने यी हुन् आशाका १० क्षेत्र

नयाँ वर्षमा अर्थतन्त्र जगाउने यी हुन् आशाका १० क्षेत्र

वसन्त अर्याल
बैशाख १, २०८१ शनिबार ९:५९, काठमाडौँ

नेपाली अर्थतन्त्रका लागि २०८० खासै उल्लेख्य वर्ष रहेन। बाह्य क्षेत्रको सुधारले अर्थतन्त्रको अनुहारमा केही मुस्कान पोते पनि आन्तरिक क्षेत्र चलायमान थिएन। 

उद्योग, व्यवसायदेखि बैंकिङ क्षेत्रसम्मले व्यावसायिक सुस्तताको चुनौती खेप्नुपर्यो। व्यवसाय कमजोर हुँदा नाफामा असर पुग्यो। तरलता थुप्रियो, लगानी उल्लेख्य मात्रामा विस्तार भएन। नीतिगत गुनासा लिएर निजी क्षेत्र सिंहदरबार धाउने क्रमले निरन्तरता पायो। 

तर यी सबैका बाबजुद गत वर्षको अन्त्यसम्म आइपुग्दा बाह्य क्षेत्र झनै बलियो भएको छ भने आन्तरिक अर्थतन्त्रमा सुधारको पहल बढेको छ। आशा जगाउने आम्दानीका क्षेत्र विस्तार हुने संकेत देखिएका छन्। 

यहाँ उत्पादित विद्युतको खपत बढ्ने र तेस्रो मुलुकमा निर्यात हुने देखिएको छ। यसो हुँदा बिजुली बेचेरै करिब २५ देखि ३० अर्ब भित्र्याउन सकिने अनुमान छ। उता, आईसीटी क्षेत्रले समेत खर्बको निर्यात गर्दै छ। 

यही वर्ष पर्यटक आगमन इतिहासमै उच्च संख्यामा आउने संकेत देखिइसकेको छ। त्यस्तै, पेट्रोल डिजेल गाडीको सट्टा विद्युतीय गाडीले बजार लिँदै छ। नेपालको सबैभन्दा ठूलो व्यापारघाटा रहेको छिमेकी मुलुक भारतमा सिमेन्ट र फलामजन्य निर्यातले रेकर्ड तोड्दै छन्। २०७९ र ८० मा धेरै फस्टाउन नसकेको निर्माण तथा घरजग्गा क्षेत्र तंग्रिने कोशिसमा छन्। 

यस्तो परिदृश्यमाझ भर्खरै विश्व बैंक र एसियाली विकास बैंकले आगामी वर्ष नेपालको अर्थतन्त्रको वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेका छन्। 

नयाँ वर्षको सुरुवातमै सरकारले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दै छ। विदेशी लगानी भित्र्याउन तदनुकूल वातावारण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा छन्। यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रुपमा प्रतीक्षा गरिएको छ। 

आयातित इन्धन घटाउँदै विद्युतीय गाडी 
चालू आर्थिक वर्षमा विद्युतीय गाडीको आयातले रेकर्ड राखेको छ। साउनदेखि चैतसम्म मात्रै ६ हजार ४३५ नेपाल भित्रिए। नेपालमा भित्रिएकामध्ये ५० किलोवाटसम्मका २७ सय ४६, ५० देखि १०० किलोवाटका ३ हजार ५९४, १०१ देखि २०० किलोवाटसम्मका ७५ र २०१ किलोवाटमाथिका २० वटा आयात भए। 

११ सिटमाथिका विद्युतीय माइक्रो ३७० वटा आयात भए। ८ महिनामा १५ अर्ब ८१ करोड रुपैयाँबराबरका विद्युतीय निजी गाडी भित्रिए। अहिले २२ लाखदेखि २ करोड रुपैयाँ बढीसम्मका विद्युतीय गाडी भित्रिएका छन्। 

टाटा, बीवाईडी, महिन्द्रा, किया, एमजीलगायतका बजार प्रतिस्पर्धीबाट नयाँ मोडल आउँदै छन्। यसले विद्युतीय गाडीको बजारमा थप प्रतिस्पर्धा बढ्नेछ। 

नेपाली बजारमा नयाँ प्लेयरको आगमनले पुराना कम्पनीबीच विद्युतीय गाडीमै प्रतिस्पर्धा हुन थालेको छ। निजी गाडीमात्रै नभई २५ सिटसम्मका सार्वजनिक यातायातमा समेत विद्युतीय गाडीको वर्चस्व हुनथालेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म १९६ वटा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो तथा मिनिबस भित्रिँदा ३३१ वटा विद्युतीय माइक्रो भित्रिएका छन्। 

पेट्रोलका गाडीको माग घट्दै गएकाले २०८१ मा विद्युतीय गाडीकै वर्चस्व देखिनेछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार्जिङ स्टेसनले मात्रै दैनिक १ लाख युनिट विद्युत् खपत गरेको बताउँछन्। हाल विद्युत् प्राधिकरण र निजी क्षेत्रगरी देशभर ४०० वटा चार्जिङ स्टेसन स्थापना भइसकेका छन्। 

खासगरी विद्युतीय गाडीको बजार बढ्नु भनेको आयातित इन्धन घट्नु हो र उत्पादित बिजुली खपत हुनु हो। ०८१ मा यो क्रम बढ्दा अर्थतन्त्रमा इन्धन आयातको भार क्रमशः कम हुँदै जानेछ।

सिमेन्ट निर्यातले फेर्न सक्छ नेपाल–भारतको व्यापारको तथ्यांक 
अर्को आशा गरिएको क्षेत्र हो सिमेन्ट निर्यात। आर्थिक वर्ष २०७९/०८० मा करिब ७८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिंकर निर्यात गरेको नेपालले चालू आर्थिक वर्षको ८ महिनामै त्यसलाई ह्वात्तै बढाएको छ। 

फागुनसम्म २ अर्ब ४७ करोड रुपैयाँको निर्यात भइसकेको छ। जसमा सिमेन्ट क्लिंकर १ अर्ब १८ करोड र पोर्टल्यान्ड सिमेन्ट १ अर्ब २८ करोड रुपैयाँ निर्यात भएको छ। सरकारले सिमेन्ट निर्यातलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ। ५० करोड बढीको निर्यात गर्नेलाई अनुदान दिने समेत व्यवस्था छ। सिमेन्टको आन्तरिक खपत घट्दा पनि निर्यात हुँदा राहत मिलेको छ। 

भारतीय क्षेत्रमा सिमेन्ट निर्यात गर्ने कम्पनीको संख्या आधा दर्जन नाघेको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल सिमेन्ट निर्यात बढ्दा व्यवसायीलाई राहत पुगेको बताउँछन्।

तानसेन सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल भन्छन्, ‘भारतमा निर्यात बढ्दै जाँदा उद्योगलाई सहयोग पुगेको छ।’

हाल निर्यात गर्ने उद्योगले कुल क्षमतामध्ये ४०–४५ प्रतिशत क्षमताको प्रयोग गरेका छन्। नेपाली उद्योगीले उत्तर प्रदेश, बिहारमा सिमेन्ट पठाइरहेका छन्। 

‘नेपालको बोर्डरबाट १०० किलोमिटर पर नेपालको जनसंख्या जति नै भारतीय बसोबास गर्छन्’, अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारका भन्छन्, ‘त्यहाँको बजारमा नेपाली सिमेन्ट खपत गराउन सके मात्रै हामीलाई पुग्छ।’

सिमेन्ट उत्पादकले भारतमा वार्षिक डेढ खर्बसम्मको सिमेन्ट निर्यात गर्न सकिने बताउँदै आएका छन्। 

११ अर्बको जस्तापाता तथा स्टिल निर्यात 
नेपालमा उत्साहजनक रुपमा निर्यात हुने स्टिलजन्य वस्तु पनि हो। जसमा सबैभन्दा ठूलो हिस्सा जस्तापाताको छ। चालू आवको साउनदेखि फागुनसम्म मात्रै ११ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको छ। 

आर्थिक वर्ष २०७९/०८० को तुलनामा ८ महिनामै बढी निर्यात भएको छ। गत आर्थिक वर्षमा १० अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो। व्यवसायीले आगामी आर्थिक वर्षमा स्टिलजन्य सामग्रीको निर्यात झन् बढ्ने सम्भावना रहेको बताएका छन्।

नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा ठूलो जनसंख्या र विकासउन्मुख राज्य रहेकाले निर्माणजन्य सामग्रीको खपत बढी रहेको व्यवसायी बताउँछन्। 

पर्यटक आगमनको रेकर्ड तोड्न सक्ने 
नयाँ वर्षमा आशा गर्न सकिने क्षेत्र हो पर्यटन। गत मार्च महिनामा १ लाख २८ हजार विदेशी पर्यटक भित्रिए जुन गत वर्षको तुलनामा २८.९ प्रतिशतले बढी हो। नेपाल पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार अधिकांश देशबाट नेपाल आउने पर्यटक बढेका छन्। 

नेपाल भित्रिने पर्यटकमा सबैभन्दा बढी भारतीय र दोस्रोमा चिनियाँ छन्। २०२३ को मार्च महिनामा ९९ हजार ४२६ जना पर्यटक आएका थिए। मार्च र अप्रिलमा महिनामा हिमाल आरोहण र ट्रेकिङको लागि बढी आउने गरेका छन्। २०२४ को फ्रेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्। जनवरीमा ७९ हजार १०० मात्रै रहेका थिए। पर्यटन बोर्डले २०२४ मा सबैभन्दा बढी पर्यटक आउने आकलन गरेको छ। 

‘२०१९ मा करिब १२ लाख र २०२३ मा १० लाख बढी पर्यटक भित्रिएका थिए’, पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘२०१९ को तुलनामा कम्तीमा १५ प्रतिशतले पर्यटक बढ्न सक्छन्।’

बोर्डले समयमै प्रचारप्रसार गर्ने र पोखरा, भैरहवाको विमानस्थल सञ्चालन गर्न सके बढीमात्रामा पर्यटक आउन सक्ने जनाएको छ। 

राष्ट्र बैंकको तथ्यांकअनुसार विदेशी पर्यटकबाट हुने आम्दानी बढेको छ। पछिल्लो ८ महिनाको तथ्यांकअनुसार भ्रमण आय ४२.१ प्रतिशतले वृद्धि भएर ५१ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३६ अर्ब १६ करोड मात्रै थियो।

पर्यटकसँगै नयाँ तारे होटल थपिँदै छन्। नयाँ वर्षबाटै बन्दीपुरमा पाँचतारे होटल सञ्चालनमा आउँदै छ। बन्दीपुर केबलकार एण्ड टुरिजमले कुल तीन अर्ब ५८ करोडको लागतमा केबलकारसहितको पर्यटन पूर्वाधार बनाएको छ। जसमा ५६ करोड लागतमा ५६ रोपनीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल बनेको छ। 

यता काठमाडौं उपत्यकामा शकर ग्रुपले ८ अर्ब लगानीमा हिल्टन होटल तयार गर्दै छ। असारसम्म निर्माण सक्ने लक्ष्य राखिएको छ। त्यसबाहेक पोखरा, भैरहवा, चितवनमा तारे होटल सञ्चालनमा आउने व्यवसायी बताउँछन्। 

उपत्यकाबाहिर फैलिँदै हाउजिङ र अपार्टमेन्ट व्यवसाय
०८१ मा हाउजिङ र अपार्टमेन्ट व्यवसायबाट पनि अपेक्षा गरिएको छ। काठमाडौंमा केन्द्रित हाउजिङ र अपार्टमेन्टमा उत्पत्यकाबाहिर विस्तार हुँदै छन्। पोखरा, रुपन्देही, इटहरी, विराटनगरमा नयाँ हाउजिङ तथा अपार्टमेन्ट निर्माण हुँदै छन्। 

‘उपत्यका बाहिरका मुख्य सहरमा जनसंख्या बढ्दा लगानी बढ्दै गएको छ,’ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी भन्छन्, ‘मुख्य सहरमा जग्गाको मूल्य बढ्दै जाँदा थोरै जग्गामा व्यवस्थित घर र अपार्टमेन्ट बन्न थालेका छन्।’

काठमाडौं उपत्यकाबाहिर सिई रियल स्टेटले रुपन्देही र विराटनगरमा अपार्टमेन्ट र हाउजिङमा लगानी गरिरहेको छ। रुपन्देहीमा बोधी होम्स, तिलोत्तमा होम्स बनिरहेका छन्। झापामा सुगम र हरिहर कोलोनी बनिरहेका छन्। 

पोखरामा अपार्टमेन्ट धेरै बनिरहेका छन्। बी एन्ड बी लेक भ्यू, सुनगाभा अपार्टमेन्ट, फेवा प्रिन्स, लेक भ्यु अपार्टमेन्ट, सूयोत्तम लक्जरी अपार्टमेन्ट, अन्नपूर्ण अपार्टमेन्ट, लभ्ली हिल, पोखरा रेजिडेन्सीलगायत अपार्टमेन्ट  छन्। यसले पछिल्लो समय सुस्ताएको रियल स्टेट व्यवसाय आगामी वर्ष बढ्ने देखिएको छ। 

‘आगामी वर्ष रियल स्टेट व्यवसाय राम्रै बढ्ने देखिन्छ’, उनी भन्छन्, ‘अर्थतन्त्र चलायमान हुनेबित्तिकै व्यवसाय बढिहाल्छ।’

तेस्रो मुलुकमा विद्युत निर्यात हुँदै 
नेपालले हाल भारतसँग मात्रै विद्युत् व्यापार गर्दै आएको छ। २०८१ मा बंगलादेशले विद्युत् खरिद गर्ने भएको छ। बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरिसकेको छ। 

भारतको प्रसारणलाइन प्रयोग गरी नेपालबाट वर्षातमा बंगलादेशमा विद्युत निर्यात हुनेछ। यसबाट राष्ट्रिय आम्दानी बढाउन ठूलो सहयोग मिल्ने अपेक्षा छ। 

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको क्रममा रसुवागढी नाका हुँदै २२० केभीको प्रसारणलाइनलाइनबाट विद्युत् निर्यात गर्ने समझदारी गरेका छन्। यसले भारतसँगै बंगलादेश र चीनमा समेत विद्युत व्यापार अघि बढ्नेछ। 

नेपालमा करिब ३ हजार मेगावाट विद्युत् उत्पादन भइरहेको छ। हाल साढे ४ हजार मेगावाटका आयोजना निर्माण हुँदै छन्। 

२०८० को वर्षातमा १५ अर्ब २४ करोड रुपैयाँ आम्दानी बिजुली निर्यातबाट भएको छ। यस्तोमा २०८१ मा करिब ९०० मेगावट विद्युत थपिँदा २५ देखि ३० अर्बको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ। 

सुरुङमार्गको नयाँ युगमा लम्किँदै सडक पूर्वाधार
०८१ मा सडक पूर्वाधारमा विशेषगरी सुरुङमार्गको प्रवेश हुँदै छ। दशैँसम्म केही सडक सुरुङको ‘ब्रेक थ्रु’ हुँदै छ भने अन्य स्थानका सुरुङको कामले तीव्रता पाउनेछ।  

यसबाहेक सडक विभागले ७ ठाउँमा यसको सम्भाव्यता अध्ययन सकेको छ भने ११ वटा नयाँ सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिरहेको छ।

२०८१ को सुरुवातमै काठमाडौं उपत्यका जोड्ने २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग छेडिनेछ। एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको छ। यो सुरुङमार्ग करिब २ मिटर मात्रै पूरा हुन बाँकी छ। जुन सडक मार्गमा पहिलो सुरुङ हुनेछ। 

२०८१ मै थप ३ वटा सडक मार्गका सुरुङ छिचोलिँदै छन्। निर्माणाधीन द्रुतमार्गमा कुल ६ सुरुङ छन्। यीमध्ये ३ वटा सुरुङमार्ग आगामी दशैँसम्म छेडि सक्ने लक्ष्य छ।  

बुटवलबाट पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग पनि धमाधम निर्माण भइरहेको छ। रुपन्देही र पाल्पाको सीमामा पर्ने आयोजना हरेक वर्ष पहिरोले सडक अवरुद्ध गर्ने र यात्रुको ज्यान समेत जाने गरेको छ। 

१.१२ मिटर लामो यो सुरुङमार्ग ईपीसी (डिजाइन गरी आफैँ निर्माण गर्ने) मोडलमा बनिरहेको छ। यो कुल ७ अर्ब ३४ करोड रुपैयाँमा ठेक्का लागेको छ। 

नेपालमा सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले सुरुङमार्गको अध्ययन गरिरहेको छ।

केन्द्रका निर्देशक नरेशमान शाक्य पहिले नेपालमा पहुँच पुर्‍याउने उद्देश्यले मात्रै सडक निर्माण गरिएको बताउँछन्। जसका कारण घुमाउरा, ग्रेड नमिलेका (उकालो ओरालो बढी) र मोड नमिलेका सडक निर्माण भएको उनको भनाइ छ। 

‘सडक विभागसँग पुल बनाउने क्षमता थिएन। एउटा पुल घटाउन २५ किलोमिटर लामो बाटो बनाउँथ्यौं’, सुपरिटेन्डेन्ट इन्जिनियर शाक्य भन्छन्, ‘अहिले सवारीसाधन बढी गुड्न थाले। दुर्घटना बढ्दै गएपछि हाम्रा पूर्वाधार संरचना बनाउने शैली नै परिवर्तन गर्न लागेका छौँ।’
डिजाइन नै १२ महिनै सञ्चालन भइराख्ने गरी हुने उनी बताउँछन्। 

‘अहिले विस्तार भइरहेका सडकमा घुमाउरो बाटो छ भने सिधा बनाउँदै दूरी छोट्याउने गरिरहेका छौं’, शाक्य थप्छन्, ‘पहिलाको तुलनामा हाम्रो क्षमता बढेको छ। घुमाउरो बाटोमा पुल हालेर छोट्याउने काम गरेका छौँ।’

काठमाडौं उपत्यकाभित्रै ट्राफिक सहज बनाउन बलम्बु, ग्वार्को, कोटेश्वर, बानेश्वरमा समेत फ्लाई ओभर र अन्डरपासका योजना तयार भइरहेका छन्। 

रेमिट्यान्सले बाह्य व्यापारमा सहज
आयातमा आधारित नेपालको व्यापारमा रेमिट्यान्स बढ्दा सहज भएको छ। विदेशबाट आएको रकम सामान खरिद गर्न विदेश नै पुगे पनि आर्थिक चलायमान बनाउन सहज भएको छ। 

नेपालले वस्तु तथा सेवा निर्यात र पयर्टक आगमनको तुलनामा वैदेशिक व्यापारको लागि बढी डलर खर्च गर्नुपर्छ। यसको भार वैदेशिक रोजगारीमा गएका नेपालीले धानेका छन्। 

८ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ ।  

साउनदेखि अवधिमा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ। अघिल्लो वर्ष ८ महिनामा ७ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै विप्रेषण भित्रिएको थियो। गत वर्ष १२ खर्ब २० अर्ब रुपैयाँ भित्रिएकोमा अहिले त्यो रेकर्ड तोडिँदै छ। 

विदेशबाट भित्रिने रकम बढ्दा चालू खाता र शोधनान्तर स्थिति बचतमा पुगेको छ। चालू खाता १ खर्ब ६६ अर्ब रुपैयाँले बचतमा पुगेको छ।

शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब बचतमा छ। यसले अर्थतन्त्रको बाह्य सूचक राम्रा देखिएका छन्। 

आईटी निर्यात अब खर्बमा  
नेपालबाट वार्षिक १ अर्ब अमेरिकी डलरको आईटी सेवा निर्यात हुने अनुमान छ। आइटी कम्पनीले सफ्टवेयरको टुल्स र टेक्निकहरु निर्यात गर्छन्। प्रोग्रामिङ, कोडिङ, डिजाइनिङ, सफ्टवेयर डेभलपमेन्टलगायत निर्यात भइरहेको छ। पछिल्लो समय परामर्श, विद्यार्थीलाई ट्युसन, लगायतका सेवा दिइरहेका छन्। 

एक वर्षअघि इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले गरेको अध्ययनले वार्षिक ५१५ मिलियन अमेरिकी डलर आम्दानी गरेको देखिएको छ। नेपाल सरकारसँग कुनै आधिकारिक तथ्यांक छैन। 

अर्थमन्त्री वर्षमान पुन ५ वर्षमा ५ खर्बबरारबरको सफ्टवेयर निर्यात गर्न सक्ने बताउँछन्। 

‘गत आर्थिक वर्षमा करिब ७६ अर्ब रुपैयाँ बराबरको आईटी क्षेत्रबाट निर्यात भएको देखिन्छ’, मन्त्रालयको एक कार्यक्रममा उनले भनेका छन्, ‘यो नयाँ क्षेत्र आएको छ। एक अध्ययनले अबको ५ वर्षमा ५ खर्बको निर्यात गर्न सक्छौं।’

मन्त्री पुनले नेपालबाट सफ्टवेयर र सेवा निर्यात दिन सक्छौं। नेपालमा वार्षिक १० हजार जनशक्ति आइटी क्षेत्रमा आइरहेको उनी बताउँछन्। युवाहरुले देशभित्रै बसेर आम्दानी गर्ने क्षेत्रको रुपमा स्थापित बन्दै गएको छ। 

फस्टाउँदै स्टार्टअप उद्यम 
नेपालमा राइड सेयरिङदेखि इकमर्स क्षेत्रको स्टार्टअप फैलिँदै गएका छन्। राइड सेयररिङमा पठाओ, इन ड्राइभले बजार बढाउँदै गएका छन्।

स्टार्टअपमा लजिस्टिक व्यवसाय फस्टाउन थालेको छ। उपाय, नेपाल क्यान मुभले पुरानो लजिस्टक शैलीमा परिवर्तन गरेका छन्। 

प्रविधिको प्रयोग गरी व्यवसायी र उपभोक्तालाई सहज बनाउने कम्पनी बजारमा आएका छन्। आगामी वर्षबाट थोक कारोबार गर्ने डिजिटल साहुजीजस्ता एप आउँदै छन्।

विद्यालयको व्यवस्थापन सहज बनाउन वेदा एप, व्यक्तिगत हिसाब किताब सहज बनाउने खातापाना, कम्पनीको हिसाब सहज बनाउने टिग लगायत थुप्रै बजारमा सफल भइसकेका छन्।

युवालाई जोडी खोज्नेदेखि घरमै सेवा पुर्‍याउने थुप्रै स्टार्टअप कम्पनी बजारमा आएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .