कारोबार


उद्योगमन्त्री भण्डारी र तिब्बती उपाध्यक्ष फुकुआनबीच भेटवार्ता, निर्यातमा सहजीकरण गरिदिन आग्रह

उद्योगमन्त्री भण्डारी र तिब्बती उपाध्यक्ष फुकुआनबीच भेटवार्ता, निर्यातमा सहजीकरण गरिदिन आग्रह

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १३:२५, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटमा उद्योगमन्त्री भण्डारीले नेपाल र चीनको तिब्बत क्षेत्रबीचको सम्बन्ध हिमाल र नदीहरूबाट जोडिएको भन्दै दुई देशको कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पहिलेदेखि नै विभिन्न तह तथा क्षेत्रमा सम्बन्ध एवं सहकार्य रहँदै आएको धारणा राखे।

भेटमा मन्त्री भण्डारीले नेपालले बीआरआईमा सहकार्य गर्दै आएको भन्दै यसअन्तर्गत भौतिक पूर्वाधार विकास तथा अन्तरआबद्धताका विविध क्षेत्रमा लाभ लिन नेपाल प्रयासरत रहेको बताए।

उनले नेपाली उत्पादनहरूको चीनमा सहज पहुँच, दुवै देशका व्यापारिक विन्दुलाई व्यवस्थित गर्ने, चीनको भन्सार र क्वारेन्टिन प्रक्रियाका बारेमा नेपाली निर्यातकर्ताहरूलाई चीन सरकारबाट सहजीकरण गरिदिनसमेत भेटमा आग्रह गरेका छन्। 

‘नेपालसँग सिमाना जोडिएका चीनको सिजाङका प्रमुख भन्सार बिन्दुहरूमा जाँच गर्ने प्रयोगशालाको सुविधा चीनबाट हुन सकेको खण्डमा नेपाली वस्तुहरूको चिनियाँ बजारमा पहुँच विस्तारलाई अझै सहज र सरल बनाउने विश्वास मैले लिएको छु,’ भेटमा मन्त्री भण्डारीले भने।

भेटमा तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआनले मन्त्री भण्डारीले उठाएका विषयहरू समाधान गर्न प्रयास गर्ने भन्दै चीन सामूहिक हित र समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।

नेपाल सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेकोमा बधाई दिँदै चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानीका लागि इच्छुक रहेको उनको भनाइ थियो।

नेपाल र चीनबीच पछिल्लो समय उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू भएकोले त्यसबाट दुई देशको सम्बन्ध मजबुत गर्न सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .