नेपाल वायु सेवा निगम कम्पनी मोडलमा जाने भएको छ। पछिल्लाे सञ्चालक समितिको बैठकमा कम्पनी मोडलमा लैजाने प्रस्ताव पारित भएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निगमलाई निजीकरण गरिने बताएका थिए। मन्त्रालयले पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा बनाएको अध्ययन समितिले पनि निगमलाई कम्पनी मोडलमा लैजान सुझाव दिएको थियो।
त्यसैअनुसार सञ्चालक समितिका एक सदस्यका अनुसार निगमको २५ प्रतिशत सेयर बिक्री गर्ने निर्णय पारित गरेको हो। यसमा ३ प्रतिशत सेयर निगमकै कर्मचारीले पाउनेछन्। उक्त निर्णय पर्यटन मन्त्रालय हुँदै अर्थ मन्त्रालय जानेछ।
सरकारको पूर्ण स्वामित्वमा रहेसम्म वायुसेवा निगमले नाफा गर्न नसक्ने भन्दै निजीकरणमा लागिएको ती सदस्यले बताए।
केही समयअघि पर्यटनमन्त्री योगेश भट्टराईले निगमका कर्मचारी जिम्मेवार नभएको आरोप लगाएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै योगेश भट्टराईले समेत निगमलाई कम्पनी मोडलमा लैजाने बताउँदै आएका थिए।
हाल निगमको अन्तर्राष्ट्रिय उडान नाफामै रहे पनि आन्तरिक उडान भने ठूलो घाटा छ। निगमले आफ्नो घाटा ग्राउण्ड ह्यान्डलिङबाट परिपूर्ति गर्दै आएको थियो। तर गत वर्ष ग्राउण्ड ह्यान्डलिङबापत आएको पैसाले समेत उडान तथा सञ्चालन खर्च धान्न सकेको छैन।

प्रतिक्रिया