सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ सरकार बनेसँगै मुलुकमा आर्थिक गतिविधि बढ्ने सम्भावना देखिएको दाबी गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै प्रवक्तासमेत रहेका महतले खुलुको मौदिक नीति र कांग्रेस एमाले सरकारले मुलुकमा स्थायित्व दिनसक्ने भएकाले मुलुकको आर्थिक गतिविधि आगामी दिन बढ्दै जाने देखिएको तर्क समेत गरे।
‘कांग्रेस र एमालेको जुन संयुक्त सरकार बनेको छ। त्यसले पनि आम जनमानसमा एउटा विश्वास र भरोसा बढेको कारणले पनि आर्थिक गतिविधि आउने दिनमा बढ्छ भन्ने कुरामा म विश्वस्त छु। तर त्यो भनेर हामीलाई निष्क्रिय हुने छुट छैन। हामी अत्यन्त क्रियाशिलताका साथ काम गर्न जरुरी छ भन्ने मलाई लाग्छ,’ उनले भने।
उनले सेयर बजारमा भने बिना आधार उकालो चढिरहेको भन्दै यसमा कडा निगरानी राख्न सरकारलाई सचेत गराए।
प्रवक्ता महतले केहीको चलखेलका कारण सेयर बजार उकालो लागेको हुनसक्ने औंल्याउँदै सर्वसाधरणलाई यसमा लगानी गर्ने कुरामा सचेत हुन पनि आग्रह पनि गरे।
‘जहाँसम्म मौद्रिक नीतिको सवाल छ। नयाँ मौद्रिक नीति आउँदै गर्दा सेयर मार्केटमा नयाँ गति देखिएको छ। तर यो शेयर मार्केटमा जसरी बुल स्ट्रेन्थ देखिएको छ। त्यसलाई हामीले सहज रुपमा लिनसक्ने अवस्था छैन। त्यहाँ केही चलखेल गर्नेहरूका म्यानुपुलेशन गर्ने सम्भावना देखिएको छ,’ उनले अघि भने।
Shares

प्रतिक्रिया