भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो हुँदै छ।
यसका लागि नाडा अटोमोबाइल्स एसोसिएसनले अटो सोमा सहभागी हुने कम्पनी छनोट गरिसकेको छ।
अटो सोमा चारपांग्रे, दुईपांग्रे, ब्याट्री तथा स्पेयर पार्ट्सलगायतका स्टल भए पनि विद्युतीय गाडी नै आकर्षणको केन्द्र हुनथालेका छन्।
२०२४ को नाडा अटो सोमा पनि विद्युतीय नयाँ ब्रान्ड र नयाँ मोडलले आकर्षण गर्दै छ। विगतका वर्षमा नयाँ पेट्रोल/डिजेलका गाडी ग्राहकको चासोका विषय हुन्थे भने अहिले विद्युतीय गाडीप्रति चासो बढ्दै गएको छ।
२०२४ को नाडा अटो सोमा नेपालमा उपस्थिति भएका टाटा, हुन्डाई, नेटा, स्काई वेल, आयन, सेरेस, किया, सिट्रोन, सुजुकी, डिप्पल, बीवाईडी, ओमोडा, एमजी ब्रान्डले स्टल बुकिङ गरेका छन्।
नेपालमा बिक्री हुने गाडीको ४० प्रतिशत गाडी नाडा अटो सोमै बुकिङ हुने गरेको अटो व्यवसायीले बताउँदै आएका छन्। नाडा अटो सोमा आधा दर्जन निजी गाडीका नयाँ ब्रान्डको प्रदर्शनीमा रहनेछ।
टाटा
सिप्रदी ट्रेड्रिङले नाडा अटो सोमा नयाँ मोडलको रुपमा ईभी पञ्च प्रदर्शनीमा राख्दै छ।
गत वर्षको नाडा अटो सोमा टियागो ईभी सार्वजनिक गरेकोमा अहिले ईभी पञ्च सार्वजनिक गर्दै छ। भारतमा नेक्सनको फेसलिफ्ट सार्वजनिक भए पनि नेपालमा तत्काल आउने सम्भावना नभएको कम्पनीले जनाएको छ।
‘नाडा अटो सोमा टाटाको पञ्च ईभी नै मुख्य आकर्षण हो’, सिप्रदीका एक अधिकारीले भने, ‘अहिले नेपाली सडकमा टेस्टिङ भइरहेको छ। गत वर्ष टियागोजस्तै पञ्च ईभी ग्राहकको केन्द्र हुनेछ।’
२ वटा भेरियन्टमा रहेको पञ्च ईभीमा मोटर पावर ६० र ९० किलोवाट छ।
६० किलोवाट मोटर रहेको गाडीमा २५ किलोवाट आवरको ब्याट्री र ३१५ किमि रेन्ज छ भने ९० किलोवाटको मोटर रहेको पञ्चमा ३५ किलोवाट आवरको ब्याट्री गाडीले ४२१ किमिसम्म रेन्ज दिन्छ।
हुन्डाई
नेपालमा हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले नाडा अटो सोमा ‘नयाँ क्रेटा’ सोकेस गर्दै छ। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो।
फेसलिफ्टको रुपमा नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्विलहरू पनि छन्।
‘नाडा अटो सोमा हुन्डाईको क्रेटा नै मुख्य प्रोडक्टको रुपमा रहन्छ’, लक्ष्मी इन्कर्पोरेटका बिक्री महाप्रबन्धक दीपक थपलिया भन्छन्, ‘विद्युतीय गाडीमा आयोनिक ५ र कोना उपलब्ध हुन्छन्।’
नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ।
लक्ष्मी ग्रुपले चिनियाँ केयी ब्रान्डको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार २ वटा नयाँ मोडल ल्याउने तयारी गरिरहेकोमा कम्तीमा नाडामा एउटा मोडल आउनेछ।
नेटा, आयन
चौधरी ग्रुपले हाल बिक्री गर्दै आएको नेटा एक्सलाई नाडा अटो सोमा राख्नेछ।
सीजी मोटर्सले प्यासेन्जर भेहिकलकै २ वटा नयाँ ब्रान्ड र मोडल राख्नेछ। आयन ब्रान्डको वाई मोडल बिक्री गरिरहेको छ।
नाडा अटो सोमा सीजी मोटर्सले सबैभन्दा बढी नयाँ ब्रान्ड प्रदर्शनीमा राख्दै छ। प्रिमियम गाडीको रुपमा अवतार ब्रान्ड राख्दै छ। अवतार ११ मोडलको रेन्ज ५८० देखि ६३० किलोमिटरसम्म छ।
सीजीले नै एक्सपेङ ब्रान्डको गाडी देखाउनेछ। एक्सपेङको जी ६ गाडी ल्याएको छ। त्यसबाहेक रिडरा पिकअप विद्युतीय गाडी ल्याउँदै छ।
सीजी मोटर्सले थापाथलीको एउटै भवनमा आयन, अवतार, एक्सपेङका विभिन्न मोडल राख्न शोरुम ‘डेकोरेसन’ गरिरहेको छ।
‘नाडा अटो सोमा हाम्रो ८ वटा ब्रान्डको उपस्थिति रहनेछ’, सीजी मोटर्सका एक अधिकारीले भने।
स्काई वेल
जी मोटर्स प्रा.लिले आधिकारिक वितरकको रुपमा चिनियाँ ब्रान्ड स्काई वेल लक्जरी ईभी एसयूभी ईटी ५ नेपालमा बिक्री गर्दै आएको छ।
१५० किलोवाटको मोटर पावर र ८५.९ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ६२० किमि रेन्ज दिन्छ।
नेपालमा १ करोड ९ लाख रुपैयाँ मूल्यमा गाडी सार्वजनिक गरेको थियो। अब ब्याट्रीको क्षमता घटाएर मूल्य पनि घटाउने गरी बजारमा ल्याउँदै छ।
‘ईटी ५ मोडलकै ब्याट्री क्षमता घटाई मूल्य पनि कम गरेर नाडामा सार्वजनिक गर्दै छौँ’, जी मोटर्सका नविन फुयालले भने, ‘गाडीमा केही फिचर्सहरु पनि परिवर्तन हुँदै छन्।’
बीवाईडी
नेपालमा पछिल्लो समय सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा बीवाईडी छ। बीवाईडीको अट्टो ३ र डल्फिन मोडल सडकमा धेरै देखिन्छ।
नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भदौमा हुने नाडा अटो सोमा नयाँ प्रोडक्ट आउने सम्भावना नरहेको बताएको छ।
‘नाडा अटो सोमा अट्टो ३ र डल्फिन नै मुख्य प्रोडक्ट हुन्’, साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने।
बजारमा बीवाईडीले सस्तो गाडीको रुपमा सिगल भित्र्याउने चर्चा भए पनि साइमेक्सले तत्काल आउने सम्भावना नभएको जानकारी दिएको छ।
‘सिगल मोडल आउने बाहिरी हल्ला मात्रै हुन्। तत्काल आउने सम्भावना छैन’, श्रेष्ठले भने।
ओमोडा
ओमोडा ब्रान्डमा ई५ नेपाली बजारमा बिक्री भइरहेको छ।
सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले २०८० माघमा सार्वजनिक गरेको नयाँ भेरियन्ट थप गर्दै छ। नक्साल शोरुमबाट बिक्री गरेको मोडल देशभर विस्तार गरेको छ।
‘ओमोडा ई ५ को डिलक्स भेरियन्ट नाडा अटो सोमा ल्याउँदै छौँ’, एसपीजी अटोमोबाइल्सका ज्ञानेन्द्र चन्दले भने, ‘जिकोको जे ६ मोडल ग्राहकका लागि आकर्षण हुनेछ।’
जे ६ मलेसिया अटो सोमा सार्वजनिक गरिएको थियो। विश्व उत्पादनमा १३५ किलोवाट मोटर र २२० एनएम टर्क जेनेरेट गर्ने गाडीमा ६९.८ लिथियम आयन ब्याट्री छ। एक पटकको चार्जमा ५०१ किमि गुड्छ।
डिप्पल र सेरेस
एमएडब्लु ग्रुपले नाडा अटो सोमा एउटा नयाँ ब्रान्डसहित उपस्थिति जनाउँदै छ।
हाल बिक्री गरिरहेको सेरेस र डिप्पलसँगै नामी ब्रान्डका गाडी प्रदर्शनीमा राख्दै छ। नेपाली बजारमा पछिल्लो समय सडकमा देखिने प्रिमियम मोडलमा पर्छ एस०७। कम्पनीले नयाँ मोडल एल०७ सार्वजनिक गर्दै छ।
‘डिप्पल एसइ०७ बिक्री गर्दै आएका छौँ। अटो सोमा पनि प्रदर्शनीमा हुन्छ’, चांगन नेपालका रमेश धनेकु भन्छन्, ‘डिप्पलको अब एल०७ मोडल नयाँ प्रोडक्टको रुपमा प्रदर्शन गर्नेछौँ।’
गत वर्ष नाडा अटो सोमा सार्वजनिक गरिएको सेरेस ब्रान्डको फेसलिफ्ट कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको छ। २०२४ को नाडा अटो सोमा पनि सेरेस ३ र मिनी ईभी राख्दै छ।
नयाँ ब्रान्ड एमएडब्लुले नामी ०१ मोडल शोकेसमा राख्ने कम्पनीले जानकारी दिएको छ।
सुजुकी
सुजुकी गाडीको आधिकारिक बिक्रेता रहेको सीजी मोटोकर्पले २०२४ को नाडा अटो सोमा बजारमा चलिरहेका प्रोडक्ट नै प्रदर्शनीमा राख्ने भएको छ। गत वर्ष नाडा अटो सोमा जिम्नी आकर्षक प्रोडक्टको रुपमा राखेको थियो।
‘अहिले नयाँ प्रोडक्ट खासै छैन। चलिरहेका प्रोडक्ट नै हुन्छन्’, सीजी मोटोकर्पका सिरज पन्त भन्छन्।
सुजुकीका नेपालमा ब्रेजा, जिम्नी, ग्रान्ड भिटारालगायतका प्रोडक्ट रहेका छन्।
Shares
प्रतिक्रिया