विद्युतीय गाडी हाँक्दै आएका दिनेश भण्डारी दसैँमा बुटवलबाट गुल्मी जाँदै छन्। यात्राअघि करिब ११५ किमि दूरीको सडकमा उनी चार्जिङ स्टेसन भए/नभएको थाहा नपाउँदा ‘प्यानिक’ सुनिन्छन्।
सामाजिक सञ्जालमा भण्डारीको चासो छ, ‘बुटवल–तम्घास (गुल्मी) रुटमा कहाँ–कहाँ चार्जिङ स्टेसन होला?’
झापा घर भएका निशान चाम्लिङ काठमाडौं उपत्यकामै चार्जिङ स्टेसन कम हुँदा रातभरि नसुतेको अनुभव सुनाउँछन्।
‘तपाईंहरुलाई विश्वास लाग्दैन होला, म राति १० बजेदेखि विद्युत् प्राधिकरणको रत्नपार्क चार्जिङ लाइनमा बसेको थिएँ, १ बजे मेरो पालो आउने बेला सर्भर डाउन भयो’, शनिबार राति ३ः१० मा चाम्लिङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलिस क्लब गएको (थिएँ), लाइन उस्तै रहेछ। ३ बजे हार मानेर फर्किएँ।’
विद्युतीय गाडी बिक्रेताले गाडी बेच्नमा मात्रै ध्यान दिएको र चार्जिङ स्टेसनबारे नसोचेको उनको भनाइ छ।
इलामका सुमन प्रधानलाई पनि काठमाडौं उपत्यकाभित्र जीबीटी चार्जिङ स्टेसनबारे चासो छ। ‘काठमाडौं उपत्यकाभित्र जीबीटी चार्जर कहाँ छ?’, सञ्जालमै उनले सोधेका छन्, ‘चौबीसै घण्टा खुल्ने (चार्जिङ स्टेसनबारे) कसैलाई जानकारी छ?’
***

नेपालमा विद्युतीय यातायातलाई भरपर्दो पूर्वाधारको आवश्यकता कति छ र उपलब्धताबारे ग्राहकलाई जानकारी कम रहेको यसले देखाउँछ।
नेपालमा निजी कारको ७० प्रतिशत विद्युतीय गाडी बिक्री हुन थालिसकेका छन्। करिब २१ हजार विद्युतीय गाडी बिक्री भइसक्दा ५०० चार्जिङ स्टेसन स्थापना भएका छन्। त्यसमा पनि अधिकांश निजी चार्जिङ स्टेसन छन्, जुन आफ्ना कम्पनीले मात्रै चार्ज गर्न दिने गरेका छन्।
नेपाल विद्युत् प्राधिकरण र केही निजी व्यवसायीले सार्वजनिक चार्जिङ स्टेसन स्थापना गरेका छन्। जहाँ सबैले चार्ज गर्न पाउँछन्।
सडकमा गाडी गुडाउनेलाई कुन ठाउँमा चार्जिङ स्टेसन छ जानकारी नहुँदा कुनै ठाउँमा घण्टौँ लाइन बस्ने त कुनै ठाउँमा खाली रहने अवस्था हुने गरेको छ।
‘देशभर ५०० चार्जिङ स्टेसन सञ्चालनमा आए पनि एकीकृत नहुँदा लामोदूरीको यात्रा गर्नेलाई अप्ठ्यारो भएको छ’, नेपाल विद्युत् प्राधिकरणका चार्जिङ स्टेसन परियोजना प्रमुख सागर ज्ञवालीले भने, ‘हामीले एप बनाएर दसैँअघि नै चार्जिङ स्टेसनलाई एकीकृत गर्न खोजेका थियौँ तर सकेनौँ।’
ज्ञवालीले चार्जिङ स्टेसनको लागि एप विकास भए पनि सबै कम्पनीहरु नजोडिइसकेकाले ‘लाइभ’ गर्न नसकिएको बताए।
‘सार्वजनिक चार्जिङ स्टेसन विद्युत् प्राधिकरणको अनुमति लिएर स्थापना भएका हुन्छन्, कुन ठाउँमा छ हामी ‘लोकेट’ गर्न सक्छौँ’, उनले थपे, ‘कम्पनीहरुले निजीस्तरमा बनाएर हाम्रो अनुमति लिएका छैनन्। तर सबैलाई एकीकरण गर्न खोजिरहेका छौँ।’
एउटा कम्पनीको चार्जिङ स्टेसनमा अर्को कम्पनीले चार्ज गर्न नदिने र व्यावसायिक रुपमा सञ्चालनमा आएका स्टेसन एकीकृत नहुँदा दसैँमा लामो यात्रा गर्नेमा चिन्ता देखिन्छ।
नेपाल विद्युत् प्राधिकरण र ठूला कम्पनीहरुको केन्द्र चार्जिङ नेपालले एकीकृत गरेको छ। विद्युत् प्राधिकरणले देशभर ६२ स्टेसन निर्माण गरेको छ। तर व्यक्तिगत रुपमा स्थापना गरेका वा व्यावसायिक चार्जिङ स्टेसन उक्त सूचीमा छैनन्।
उक्त वेबसाइटबाट कुन ठाउँमा कहाँ चार्जिङ स्टेसन रहेका छन् भन्ने अनलाइनबाटै हेर्न सकिन्छ।

सीजी मोटर्स
नेपालमा एक दर्जन बढी विद्युतीय सवारी ब्रान्ड होल्ड गरेको सीजी मोटर्सले २३७ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ। त्यसमा २०० बढी सञ्चालनमा रहेको सीजी मोटर्सले जानकारी दिएको छ।
राजमार्गको हरेक ५०–६० किलोमिटरपछि एउटा चार्जिङ स्टेसन राख्ने कम्पनीको योजना छ। कम्पनीले ५ वटा विद्युतीय गाडी बिक्री गर्दा एउटा चार्जिङ स्टेसन राख्ने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाल बताउँछन्।
‘कमर्सियल र प्यासेन्जर भेहिकलमा २०० बढी चार्जिङ स्टेसन छन्’, उनी भन्छन्, ‘चालू आर्थिक वर्षमा २५० स्थानमा थपसँगै नेपालको २० ठाउँ र काठमाडौं उपत्यकाको ३ ठाउँमा सर्भिस सेन्टर स्थापना गर्छौँ।’
सार्वजनिक यातायातमा सबैभन्दा बढी बिक्री भएको सीजी मोटर्सले अधिकांश ठाउँमा चार्जिङ स्टेसन राखेको छ।
कम्पनीका दुई प्रकारका चार्जिङ प्रणाली छन्। यसमध्ये सीसीएस२ चाहिँ निजी सवारीसाधनमा चार्ज गर्न प्रयोग हुने प्लग हो भने जीबीटीचाहिँ पब्लिक माइक्रो चार्ज गर्न प्रयोग हुने सिस्टम हो।

टाटा मोटर्स
नेक्सन, टियागो, पन्चसहित विद्युतीय ट्याक्सी बिक्री गरिरहेको सिप्रदी ट्रेडिङले २०० बढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
यसका २४ वटा डीसी फास्ट चार्जिङ स्टेसन छन्। कम्पनीले काठमाडौं र उपत्यकाबाहिर दर्जन चार्जिङ स्टेसन स्थापना गरेको छ।
यस्तै सय बढी एसी फास्ट चार्जर छन्। पूर्वदेखि पश्चिमसम्म अधिकांश राजमार्ग, होटलमा चार्जिङ स्टेसन रहेको सिप्रदीले उल्लेख गरेको छ।

बीवाईडी
गत वर्ष नेपालमा सबैभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको बीवाईडीले मुख्य सहरमा चार्जिङ स्टेसन राखेको छ।
बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको चार्जिङ स्टेसन दाङको लमही, घोराही र तुल्सिपुर, रुपन्देहीमा कालिका नगर बुटवल र सिद्धर्थ नगर भैरहवामा छ। बुटवल सर्भिस सेन्टरमा पनि कम्पनीले चार्जिङ स्टेसन राखेको छ।
यसबाहेक पृथ्वी राजमार्गमा याक ब्रुअरी कम्पनी कुरिनटनर, चितवनको हाकिम चोक, सीएमटी रिसोर्टमा स्टेसन छ भने पोखराको उत्तम चोकमा पनि राखिएको छ।
पूर्वमा बिर्तामोडको गणपति क्याफे, इटहरीको सेन्ट्रल प्लाजा, जनकपुरको सिनुर्जोडामा चार्जिङ सुविधा राखेको कम्पनीले काठमाडौंमा गौरीघाट, बीवाईडी पार्क नक्साल, ललितपुर, सोल्टीमोड, सल्लाघारी र अनामनगरमा चार्जिङ स्टेसन राखेको छ।
कम्पनीले थप चार्जिङ स्टेसन विस्तार गरिरहेको जनाएको छ।

हुन्डाई
नेपालमा कोना र आयोनिक ५ विद्युतीय गाडी बिक्री गरिरहेको हुन्डाईले ४५ ठाउँमा फास्ट चार्जिङ स्टेसन रहेको उल्लेख गरेको छ।
हुन्डाईले ७ किलोवाटदेखि २२ किलोवाटसम्मका चार्जिङ स्टेसन निर्माण गरिरहेको छ।
बागमती प्रदेशमा धेरै रहेका छन् भने मधेश प्रदेशमा कम छन्। कर्णालीमा चार्जिङ पूर्वाधार स्थापना नगरिसकेको कम्पनीले सुदूरपश्चिममा ३, लुम्बिनीमा ८, गण्डकीमा ५, बागमती प्रदेशमा १६ र कोशी प्रदेशमा ७ वटा चार्जिङ स्टेसन राखिसकेको छ।
ओमोडा/जेको
सारडा ग्रुपले बिक्री गर्दै आएको ओमोडा र जेकोको चार्जिङ स्टेसन विस्तार गर्दै छ। कम्पनीले जेको नयाँ ब्रान्ड ल्याएको हो भने ओमोडा केही समयअघिबाट बिक्री गर्दै आएको थियो।
कम्पनीले १३ ठाउँमा चार्जिङ स्टेसन रहेको उल्लेख गरेको छ। उपत्यकाबाहिर इटहरी, विराटनगर, झापा, बर्दिबास, भरतपुर, बुटवल, कास्की, दाङ, सुर्खेत, धनगढी, चितवनमा चार्जिङ स्टेसन छन्।

एमजी
नेपालमा एमजीले ३ वटा मोडल बिक्री थालेको छ। कम्पनीले ३० किलोवाटका डीसी फास्ट चार्जर ११ ठाउँमा स्थापना गरेको छ भने १२ ठाउँमा ७ किलोवाटका चार्जिङ स्टेसन रहेको उल्लेख गरेको छ।
काठमाडौंबाहिर डीसी फास्ट चार्जर चितवन, पोखरा, भैरहवा, बुटवल, धनगढी, कुरिनटार, ढल्केबर, इटहरी र मुलकोटमा छ। बीपी राजमार्ग बन्द भएकाले मुलकोट र खुर्कोटमा रहेका चार्जिङ स्टेसन प्रयोगमा आउन पाएका छैनन्।
कम्पनीका चार्जिङ स्टेसनबारे यहाँबाट जानकारी लिन सकिन्छ।
Shares

प्रतिक्रिया