सरकारले सञ्चालन गरेको स्टार्टअप उद्यम कर्जा कार्यक्रम २०८१ का लागि १३१४ वटा व्यावसायिक प्रस्ताव पहिलो चरणको छनौटमा परेका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरुबाट भदौ ११ देखि भदौ ३१ सम्म प्रस्ताव आह्वान गरेको थियो । जसमा १ हजार ३ सय १४ वटा प्रस्ताव प्रारम्भिक सूचीमा परेका हुन् ।
प्रतिष्ठानले पहिलो चरणको छनौटमा परेका प्रस्तावहरुमाथि प्रस्तावकले प्रस्तुतीकरण दिनुपर्ने उल्लेख गरेको छ । प्रारम्भिक सूचीमा परेकाहरुको प्रस्तुतीकरण पुस २८ देखि चैत ११ गतेसम्म हुने तालिका छ ।
प्रस्तुतीकरणका लागि १० मिनेट समय तोकिएको छ। जसमा छनौटमा परेकाहरुले आफैँ उपस्थित भएर कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नवउद्यमी प्रोत्साहनस्वरुप स्टार्टअप कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । जसबाट ३ प्रतिशत मात्रै ब्याजमा उद्यमीले विना धितो कर्जा पाउनेछन् । बजेटमार्फत यस कार्यक्रमका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
सोही कार्यक्रमका लागि प्रतिष्ठानले गत भदौमा आवेदन माग गरेको थियो । जसमा ५ हजार बढीले आवेदन दिए पनि प्रतिष्ठानको प्रारम्भिक सूचीमा १ हजार ३१४ वटामात्रै परेको हो ।
प्रतिष्ठानका अनुसार प्रस्तुतीकरणमा परेकाहरुले एमएस पावरप्वाइन्टका माध्यमबाट वा तोकिएको ढाँचामा लिखित रुपमा ल्याएको विवरणमा आधारित रहेर व्यावसायिक योजना प्रस्तुत गर्नुपर्नेछ । प्रस्तुतीकरणका लागि प्रस्तावक आफैँ पुग्नुपर्नेछ ।
प्रस्तुतीकरणका लागि छनौटमा परेका प्रस्तावकहरुले व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान वा भ्याट दर्ताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०८०/८१ को करचुक्ता भएको सक्कल प्रमाणपत्र, आधिकारिक प्रस्तावकको नागरिकता र व्यावसायिक प्रस्तुतीकरणको हार्डकपी समेत उपलब्ध गराउनुपर्नेछ ।
Shares

प्रतिक्रिया