कारोबार


मूल्यवृद्धि ६ प्रतिशत नाघ्यो, खाद्यवस्तुको उच्च, निर्माण सामग्रीको घट्यो

मूल्यवृद्धि ६ प्रतिशत नाघ्यो, खाद्यवस्तुको उच्च, निर्माण सामग्रीको घट्यो

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १९:३८, काठमाडौँ

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत मङ्सिर मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत मङ्सिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ०५ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीतिलाई ५ दशमलव ५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि उच्च देखिएको छ। गत मङ्सिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९२ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४ दशमलव ९२ प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४३ दशमलव ०५ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ७० प्रतिशत र घ्यू तथा तेलको ९ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव १८ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको शून्य दशमलव ८३ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७ दशमलव ९८ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७ दशमलव ०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको६ दशमलव ७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ।

गत मङ्सिरमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ।

प्रदेशगत रुपमा कोसी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ३६, मधेस प्रदेशको ६ दशमलव ७७, बागमती प्रदेशको ५ दशमलव ८४, गण्डकी प्रदेशको ४ दशमलव ८१, लुम्बिनी प्रदेशको ५ दशमलव ५३, कर्णाली प्रदेशको ४ दशमलव १९ र सुदूरपश्चिम प्रदेशको ६ दशमलव ६६ प्रतिशत रहेको छ।

यस अवधिमा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ८२, तराईको ६ दशमलव ३१, पहाडको ५ दशमलव ६५ र हिमालको ६ दशमलव ५८ प्रतिशत रहेको छ।

गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६ दशमलव ५२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २ दशमलव ६३ प्रतिशत रहेको थियो। यो अवधिमा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४ दशमलव १४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad