कारोबार


मैले फिस्टे बिजुली कार चढेको देखेर मान्छे हाँस्थेः कुन्द दीक्षित (अन्तर्वार्ता)

मैले फिस्टे बिजुली कार चढेको देखेर मान्छे हाँस्थेः कुन्द दीक्षित (अन्तर्वार्ता)

कृष्ण आचार्य
असार २०, २०७६ शुक्रबार ३:५,

वातावरणसम्बन्धी विषयमा कलम चलाउन माहिर पत्रकार कुन्द दीक्षित नेपालको पहिलो बिजुली कार खरिदकर्ता हुन्। करिब १५ वर्षदेखि बिजुली कार चढ्दै आएका अँग्रेजी साप्ताहिक नेपाली टाइम्सका सम्पादक दीक्षित नेपालमा विद्युतीय गाडीको एक जना अग्रणी अभियानकर्ता हुन्। केही महिनाअघि महिन्द्राले काठमाडौंस्थित शोरुममा भित्र्याएको बिजुली कारको उद्घाटन गरेका दीक्षितसँग संवादः

विद्युतीय गाडीबारे तपाईंलाई पहिलो पटक कसरी थाहा भयो?
धेरैलाई थाहा छैन कि म पत्रकार हुनुअघि वैज्ञानिक हुँ। मैले माइक्रोबायोलोजी विषय पढेको हुँ। पढाइले गर्दा वातावरणसँग सम्बन्धित विषयमा रुचि थियो। हाम्रो परिवारमा पुर्खादेखि नै सबै लेखक छौँ। रगतमा मसी मिसिएकाले पनि होला पछि म पत्रकारिताप्रति आकर्षित भएँ। फेरि मेरो पत्रकारिताको सुरुवात पनि वातावरणको विषयमा लेखेरै भएको हो। त्यस्तै, १५ वर्षअघिको कुरा होला, भर्खरै नेपाली टाइम्स पत्रिका सुरु भएको थियो, हामीले विश्वव्यापी तापक्रम वृद्धिको विषयमा लेख्यौँ। तापक्रम वृद्धिको मुख्य कारण पेट्रोल, डिजेलको प्रयोग नै थियो। त्यसको विकल्प खोज्ने क्रममा विद्युतीय कार उपयुक्त र आवश्यक हुन्छ भन्ने निश्चित भयो। यसरी नै हो।

अनि आफैले कहिले बिजुली कार किन्नु भयो?
आफूचाहिँ वातावरणीय परिवर्तनको बारेमा वकालत गरेर लेख्ने अनि डिजेल, पेट्रोलवाला गाडी चढेर त सुहाएन नि। त्यसैले एउटा ‘स्टेटमेन्ट’ बनाउनकै लागि १५ वर्ष पहिलेदेखि नै म बिजुली कार चढ्न थालें। रेभाको एजेन्टमार्फत विदेशबाट कार नेपालमा ल्याएँ। तत्कालीन सरकारले विदेशबाट बिजुली कार ल्याउन दिएको थियो। तर, सरकार परिवर्तन भएपछि कर लगाउन खोजियो। यसरी बैंङलोरबाट आएका चारवटा कार भन्सारमा अड्कियो। ती कार चार वर्ष त्यत्तिकै रहे। पछि त्यसलाई ‘रिकन्डिसन’ गरेर ल्याइयो।

कति मूल्यमा किन्नुभएको थियो रेभा?
मैले ११ लाखमा किनेको हुँ। तर, त्यतिबेला कर घटेको थिएन। बिजुली कार ल्याउँदा पनि पेट्रोल कारजत्तिकै कर तिर्नुपथ्र्यो।

नेपालमा बिजुली कार किन्ने तपाईं नै पहिलो व्यक्ति हो?
हो, पहिलो कार किन्ने म नै हो। तर, त्यतिबेला आएका चारवटै कार बिक्री भएका थिए।

Kunda2

बिजुली कार चढ्दा मानिसहरुबाट कस्तो प्रतिक्रिया आयो?
त्यतिबेला रेभा भन्ने सानो ‘फिस्टे’ कार थियो मेरो। यति सानो कि मलाई भित्र छिर्नै गाह्रो पथ्र्यो। यति अग्लो मान्छे कति सानो कारमा चढेको भनेर मानिसहरु हाँस्थे पनि। साथीहरुले पनि गिज्याउँथे। परिवारका सदस्यले पनि के गरेको यस्तो भनेर प्रश्न गर्थे। अहिले त परिवारका सदस्य पनि मेरै बिजुली कारमा चढेर यात्रा गर्छन्।

व्यक्तिगत अनुभवचाहिँ कस्तो रह्यो?
मलाई व्यक्तिगत रुपमा पनि असजिलो भयो। योभन्दा अगाडि दोब्बर ठूलो कार चढेको मान्छेलाई सहज हुने कुरै थिएन। कसैलाई कतै लानुपर्यो भने पनि खुम्चिएर बस्नुपथ्र्यो। पेट्रोलको अभाव हुँदा मानिसहरु लाइनमा बसिरहेका हुन्थे। म भने शानसँग कार चलाएर हिँड्थेँ। त्यतिबेला एकदम मज्जा आउने। अरु–अरुले पनि हेर्थे।

२–३ वर्षपछि मानिसहरुले यो के हो, कति मूल्य पर्छ भनेर चासो देखाउन थाले। विस्तारै बिजुली गाडी यस्तो हुँदो रहेछ भनेर चेतना बढ्दै गयो। हामीले आफ्नो तर्फबाट लेख्ने कामलाई पनि जारी राख्यौँ।

नेपालको भूगोल र काठमाडौंको बाटो बिजुली गाडी चलाउन लायक छ?
त्यस्तै गाह्रो पर्दैन। जति खाल्डाखुल्डी भए पनि बिजुली गाडी होस् वा डिजल गाडी आफ्नै प्रक्रियामा चल्छ। अहिले म ‘ई–२ओ’ चढिरहेको छु। यसको ‘क्लियरेन्स’ मारुतीभन्दा राम्रो छ। त्यसैले मारुती जहाँ जान्छ, त्यहाँ मेरो गाडी पनि जान्छ। धुलिखेल, नगरकोट, हात्तीवन त म आफैँ पुगेको छु। अहिले नयाँ आएको हुन्डाईको बिजुली कार त काठमाडौंबाट बुटवलसम्म पुग्छ।

अर्को रमाइलो कुरा के छ भने काठमाडौंमा जाम हुँदा तपाईं बाइक वा तेलवाला कारमा हुनुहुन्छ भने त्यसले स्टार्ट बन्द नगर्दासम्म तेल खाइरहेको हुन्छ। तर, तपाईं बिजुली कारमा हुनुहुन्छ भने जाम हुँदा चार्ज पनि खपत हुँदैन।

Kunda1

उकालो–ओरालोमा कुनै समस्या पर्दैन?
उकालोमात्र जाँदा समस्या पर्न सक्छ। म नगरकोट जाँदा उकालो चढ्दा निकै बिजुली खपत भयो। तर, ओरालो झर्दा त्यो सबै ‘रिकभर’ हुन्छ। डाइनामोले अटोमेटिक ब्याट्री चार्ज गरिरहेको हुन्छ। उकालो गएको बाटोबाट ओरालो झर्यो भने सम्म बाटो हिँडेजस्तै हो।

यसको गुड्ने क्षमता, चार्ज गर्ने प्रक्रिया के–कस्तो हुन्छ?
अन्य गाडीमा ‘माइलेज’ भनेजस्तै यसमा ‘टक’ भन्ने हुन्छ। यो भनेको गाडीको एक्सिलेटर दबाएपछि प्रतिघण्टा ३० किलोमिटर वा कति समयमा पुग्ने भन्ने हो। मेरो गाडीको कुरा गर्ने हो भने ६ घण्टा ‘चार्ज’ गर्ने हो भने ८० प्रतिशत ब्याट्री ‘फुल’ हुन्छ। अरु ३ घण्टा ‘चार्ज’ गरेपछि सय प्रतिशत हुन्छ। सय प्रतिशत भयो भने १ सय २० किलोमिटर गुड्छ। तर, नयाँ आएका हुन्डाईहरु त ‘फुल चार्ज’ गर्दा २ सय ७० किलोमिटरसम्म गुडिरहेका हुन्छन्। पछिल्लो समय ब्याट्रीमा पनि विभिन्न प्रविधिको प्रयोग भएका छन्, त्यसैले ‘पावर’ को ‘रेन्ज’ बढ्दै गइरहेको छ। काठमाडौंभित्र हिँड्दा त हप्तामा १ पटक मात्र ‘चार्ज’ गर्दा पनि पुग्छ। ‘चार्ज’ गर्ने प्रक्रिया मोबाइल ‘चार्ज’ गरेजस्तै हो। २२० भोल्टमा मज्जासँग ‘चार्ज’ हुन्छ।

तपाईंलाई बिजुली कारको सबैभन्दा रमाइलो लाग्ने कुरा के हो?
कुनै प्रकारको मेन्टेनेन्स नै चाहिँदैन। ग्यारेजमा लाने झन्झट नै हुँदैन। यसको मुभिङ पार्ट्स नै कम हुन्छ। ब्रेक ‘सिस्टम’ मा ख्याल गर्नुपर्छ त्यत्ति हो।

नेपालमा पछिल्लो समय विद्युतीय कारको अवस्था कस्तो छ?
ई–२ओ र रेभा गरेर ३ सय वटा, हुन्डाई ५० वटा बिक्यो अरु ५० वटा अर्डर गरिएको छ। किया ३० वटा गरेर त्यही पाँच सयको हाराहारीमा बिक्री भयो होला। तर, निजी गाडी बिजुलीको आएर त्यसले तेलको खपतमा खासै फरक पार्दैन। हामीले जानुपर्ने भनेको बिजुली सार्वजनिक यातायातमै हो। अहिले महिन्द्रा, टाटा, किया, हाओयु, जे स्टार, देहीजस्ता बिजुली कार १६ लाखदेखि नै किन्न पाइन्छ।

बिजुली गाडीको उपभोग बढाउन नेपालको नीति प्रभावकारी छ त?
सबैभन्दा महत्वपूर्ण कुरा त कर छुट नै हो। अहिले बिजुली गाडीमा ५ देखि १० प्रतिशतमात्र कर लाग्छ। जब कि डिजेल–पेट्रोल गाडीमा २ सय ६१ प्रतिशत कर लागिरहेको छ। यति धेरै अन्तर त संसारको अन्य कुनै पनि देशमा छैन। त्यसैले बिजुली गाडीमा हामी कर प्रणालीमा एसियाकै प्रगतिशील अवस्थामा छौँ। हुन्डाईले आफ्नो बिजुली कार अष्ट्रेलिया, अमेरिकामा निर्यात गर्नुअघि नेपालमा गरेको हो। त्यो नेपालको नीतिकै कारणले हो।

नेपालमा समस्या भनेको चार्जिङ स्टेसनको हो। एउटा चार्जिङ स्टेसनलाई कम्तीमा ३० देखि ५० हजार डलरसम्म पर्छ। अनि एउटा गाडी चार्ज हुन कम्तीमा १ घण्टा लाग्छ। पछि नयाँ प्रविधि आउला तर अहिलेको समस्या भनेको यही हो। जस्तै, कुरिनटारमा चार्जिङ स्टेसन राख्यो र सयौँ गाडी हिँड्न थाले भने समस्या आएन त?

Kunda3

वातावरणलाई सन्तुलनमा राख्न बिजुली गाडीको कस्तो भूमिका रहन्छ?
डिजेल–पेट्रोलको प्रयोग कम भएका कारण कार्बन उत्सर्जन कम हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा यही हो।

बिजुली कारले अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला?
बिजुली कारमा २–४ जना मानिस हिँड्दैमा त खासै प्रभाव नपर्ला तर सार्वजनिक यातायातको रुपमा यसको विकास हुने हो भने पक्कै फलदायी हुनेछ। बिजुली गाडी चढ्दा कर कम लाग्ने भयो, वर्षको २५–३० हजार सडक कर बच्यो र पेट्रोलमा लगानी भएन। भनेपछि धेरै पैसा जोगियो। अर्को कुरा ५ वर्षमा डिजेल र पेट्रोलको आयात तीन गुणाले बढिसकेको छ। यसरी नै वृद्धि हुँदै जाने हो भने हाम्रो अर्थतन्त्र कहाँ पुग्ला? त्यसैले यसको प्रयोग सबै दृष्टिकोणबाट उत्तम छ।

हामीसँग अझै पनि पर्याप्त बिजुली छैन। यस्तो अवस्था बिजुली गाडी चलाउन सकिन्छ त?
अहिले त गाह्रो नै छ। किन कि हामी चार सय मेगावट बिजुली त भारतबाट किनेर बालिरहेका छौँ। यस्तो अवस्थामा विदेशबाट बिजुली किनेर बिजुली गाडी चलाउनु भनेको वाहियात नै हो। सरकारले करछुट त गर्यो अब यससँग जोडिएका अन्य कुरामा पनि ध्यान दिनुपर्छ।

अर्को कुरा अबको १० वर्षभित्र हामी बिजुली गाडीमा जानैपर्ने अवस्था आउँछ। किनकि भारत र चीन जहाँबाट ८० प्रतिशत कार आयात हुन्छन्, उनीहरुले अबको १० वर्षपछि डिजेल र पेट्रोलको गाडी बनाउन छाड्नेछन्। भनेपछि हाम्रो आउने कार बिजुली नै हो। त्यसैले हामी त्यसको तयारीमा लाग्नुपर्छ।

पछिल्लो समय भीआईपीहरुको रोजाइमा पनि बिजुली कार परेको हो?
हो, अहिले त राष्ट्रपति नै चढ्न थाल्नुभएको छ। ऊर्जामन्त्री वर्षमान पुन, नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलगायतले बिजुली कार चढ्छन् । तर, उनीहरु आफैं चढेर मात्र पनि हुँदैन। बिजुली सार्वजनिक यातायात चलाउन सक्नुपर्छ।

Kunda

विश्वव्यापी रुपमा यसको प्रयोग तपाईंले कस्तो पाउनुभएको छ?
१ सय ५० वर्षअगाडि पहिलो कार जुन बन्यो, त्यो बिजुली कार थियो। इलेक्ट्रिक मोटरबाट चल्थ्यो। पछि मात्र पेट्रोलको इन्जिन आएको हो। तर, विडम्बना के भने आजभन्दा २ वर्षअघिसम्म विश्वमा बिजुली गाडीबारे खासै सनसनी थिएन। अहिले हरेक मिडियामा, हरेक दिनजसो यसबारे समाचार तथा सूचनाहरु आइरहेका छन्। जलवायु परिवर्तनबारे चेतना फैलिन थालेपछि विश्वका मानिसहरु बिजुली कारप्रति आकर्षित भएका हुन्। अहिले युरोप, अमेरिका, अष्ट्रेलिया, जापानजस्ता देशका सहरहरुमा बिजुली गाडी चल्न थालेका छन्। हाम्रोमा जस्तै त्यहाँ पनि बिजुली गाडी अर्थतन्त्रसँग जोडिएर आउँछ।

बिजुली कारको सुरक्षा कमजोर छ भन्ने कुरा आउँछ। खास के हो?
केही समयअघि एउटा बिजुली कार आगलागी भयो भन्ने सुनेको थिएँ। तर, हामी यो किन देख्दैनौँ कि यहाँ पेट्रोल–डिजेलबाट चल्ने कार पनि आगलागी भइरहेका हुन्छन्? त्यसैले मेरो अनुभवमा बिजुली कार सुरक्षाको हिसाबले खासै कमजोर छैन। सबैभन्दा ठूलो समस्या भनेको चार्जिङ नै हो।

कुनै न कुनै नकारात्मक पक्ष पनि त होला नि?
पहिलो ६–७ वर्षपछि ब्याट्री परिवर्तन गर्नुपर्छ। दोस्रो सकिएको ब्याट्रीको लिथियम कसरी व्यवस्थापन गर्ने भन्ने हो। अरु नकारात्मक पक्ष त म केही देख्दिनँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .