कारोबार


विद्युत् प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज आयोजना, ३३ वटाको छनोट र स्तरीकरण

विद्युत् प्राधिकरणको प्राथमिकतामा पम्प स्टोरेज आयोजना, ३३ वटाको छनोट र स्तरीकरण

नेपालखबर
फागुन १८, २०८१ आइतबार १४:१५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ।

प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभर १५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचान गरेको थियो। त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरिएको छ।

रुकुम (पश्चिम)स्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ।

६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि २०० मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ।

काठमाडौं उपत्यकाका एवम् विद्युत भार केन्द्र नजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ। आयोजना विकास विभागले हाल आयोजनाको डेक्स अध्ययन गरिरहेको छ। 

आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मि. अग्लो बाँध बनाई दुईवटा जलाशय निर्माण गरिनेछ। विद्युतगृह मोवा खोलामा रहनेछ। हुग्दी खोलाको जलाशयमा भण्डार भएको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ। विद्युत उत्पादनपछि मोवा खोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दी खोला (माथिल्लो जलाशय) मा खसालिनेछ। आयोजनालाई विद्युतको बढी माग हुने समय (पिक)मा ६ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको छ। 

पम्प स्टोरेज आयोजनाहरुमा विद्युतको न्यूनतम माग भएको (अफ पिक) अथवा  ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ। यसरी, भण्डार गरिएको पानीलाई  पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ।

विद्युत प्रणाली स्थिरता, पिक डिमान्ड एवम् खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्त्वपूर्ण मानिन्छ। अफ पिक समयमा  पम्प गरी भण्डारण गरिएको पानीको प्रगोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रुपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महंगोमा बिक्री गर्न सकिन्छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विभागका निर्देशक नसिबमान प्रधानलगायतको टोलीले शनिबार  धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाको जानकारी लिएको छ। 

कार्यकारी निर्देशक घिसिङले भौगोलिक अवस्थिति, वातावरणीय तथा समाजिक अवस्था, उक्त स्थलसम्म पुग्न आवश्यक पहुँच पूर्वाधारको सुगमता, उत्पादित विद्युत् प्रवाहका लागि प्रसारणलाइनको उपलब्धता, र विद्युत् भार केन्द्रभन्दा नजिक रहेकाले प्रारम्भिक अध्ययनबाट अन्य आयोजनाहरुको तुलनामा हुलिङटार–दुकिम आयोजना निर्माणका लागि आकर्षक देखिएको बताए। 

आयोजनालाई पहिलो चरणमा करिब ५१० मेगावाटमा निर्माण गर्ने र क्रमशः बढाउँदै पूर्ण क्षमताको बनाउन सकिने उल्लेख गर्दै उनले यो आयोजना निर्माणलाई प्राथमिकतामा राखी सर्वेक्षण अनुमतिपत्र लिने प्रक्रिया तत्काल अगाडि बढाइने उल्लेख गरे।  

आयोजनाबाट वार्षिक रुपमा करिब ३ अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजनाको प्रति मेगावाट लागत करिब ५ लाख ८७ हजार अमेरिकी डलर (करिब ७ करोड ७५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad