पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेन्टिनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन्। क्षेत्रीय होटल संघ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टिनका लागि होटल प्रयोग गर्न दिने निर्णय गरेका हुन्।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार क्वारेन्टिनका लागि चार हजार शय्या दिन सकिने छ । बैठकले तीन हजार श्यया केन्द्रीय सरकार र एक हजार श्यया स्थानीय सरकारले प्रयोग गर्ने गरी दिन सकिने निर्णय गरेको हो ।
स्थानीय सरकारले प्रयोग गर्ने क्वारेन्टिनमा विशेषतः पूर्वी चितवनकै बासिन्दा हुनुपर्ने उनले बताए।
कोरोनाको संक्रमण रोक्न सरकारले मंगलबारदेखि देशभर बन्द घोषणा गरेसँगै सौराहाका होटल व्यवसायीले आफ्ना होटललाई क्वारेन्टिनमा राख्न आह्वान गरेका हुन्। देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा कोरोनाको सन्त्राससँगै सुनसान छ। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि रोकेपछि थप सुनसान भएको हो।
सौराहामा ११५ वटा होटल रहेका छन्। ती होटलको क्षमता पाँच हजार ५०० हाराहारी रहेको छ। चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा प्रमुख बासस्थान हो।
देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा हरेक वर्ष दुई लाखभन्दा बढी पर्यटक आउने गर्छन्। कोरोनाको प्रभावका कारण व्यवसाय प्रभावित भएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्ने भन्दै व्यवसायीले सरकारसँग सहयोग मागेका छन्।

प्रतिक्रिया