कारोबार


आईएमई ग्रुपको २ अर्ब लगानीमा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा

आईएमई ग्रुपको २ अर्ब लगानीमा नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा

नेपालखबर
फागुन २२, २०८१ बिहिबार ११:४४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपको लगानीमा रहेको नेपालकै ठूलो कागज उद्योग सञ्चालनमा आएको छ। महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको उद्योग आज बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा आएको हो। 

विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र उर्जा क्षेत्रमा संलग्न रहेको आईएमई ग्रुपले कागज कारखाना सञ्चालन गरेको हो। 

नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ। 

२०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकेर २०८१ पुसदेखि परीक्षण उत्पादन गर्दै आइरहेको थियो। आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताए।

नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको तथ्यांक छ। नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानीमा स्वदेशमै उत्पादन सुरु गर्न लागिएको उनको भनाइ छ। 

उनले सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्नेगरी कानुनमा सुधार गरेकाले पनि अहिले लगानीको वातावरण बनेको दाबी गरे। नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने उनको दाबी छ। 

‘खास गरेर कोभिड, रसिया युक्रेन र श्रीलंकाको अवस्थापछाडि आर्थिक क्षेत्रमा मन्दी आयो। त्यससँगै म उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिएपछि नेपालमा लगानी गर्ने वातावरण गर्ने विषयमा आह्वान गर्न धेरै देशमा गएर एड्भोकेसी गरिरहेका छौँ,' उनले भने। 
 
नेपालमा लगानीको वातावरण छैन, अवसर छैन भन्ने भ्रम चिर्नकै लागि उद्योग सञ्चालनमा ल्याइएको ढकालको भनाइ छ। 

'हामी वातावरण छैन, अवसर छैन भन्नेकुरा चिर्न र नेपालमा धेरै सम्भावना छ, उत्पादनशील क्षेत्रमा लाग्न सकिन्छ भनेर वेस्टेज पेपरहरूबाट पुन: कागज उत्पादन गर्ने गरी कागज कारखाना खोलेका छौँ,'ढकालले थपे, 'स्थानीय मेटेरियल प्रयोग गरेर नेपालमा उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले कागज कारखाना आजबाट सुरु भयो।'

वातावरण प्रदूषण गर्ने फोहोरलाई उपयोग गरेर कागज उत्पादन गर्न थालिएको ढकाल बताउँछन्।  विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा रहेको ढकाल बताउँछन्।

उनले नेपालको आवश्यकताको ४० प्रतिशत माग कागज यो उद्योगले पूरा गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad