साझा यातायातमा १३ वर्षपछि कनकमणि दीक्षितले अध्यक्षको जिम्मेवारी छाडेका छन्।
२०६८ जेठमा साझा यातायातको अध्यक्ष भएका दीक्षित नयाँ सञ्चालक समिति चयन भएसँगै बाहिरिएका हुन्।
साझा यातायात सञ्चालक समितिको अध्यक्षमा सुशीलराज प्याकुरेल निर्वाचित भएका छन् भने सदस्य कमल राज पाण्डे, कुललाल डंगोल र महिला सदस्यमा सृजना देवकोटा निर्वाचित भएका छन् ।
यस्तै साझा यातायातको लेखा सुपरिवेक्षण समितिमा निर्विरोध निर्वाचित हुनेमा संयोजक प्रदीपराज उपाध्याय छन् भने सदस्यमा नारायण पौडेल र विकास शाह रौनियार छन्।
साधरणसभाअघि सञ्चालक समितिमा दीक्षित अध्यक्ष थिए भने सदस्यहरुमा सुशीलराज प्याकुरेल, भूषण तुलाधर र महिला सदस्यमा वन्दना थापा थिए ।

निवर्तमान अध्यक्ष दीक्षितले साझा यातायातको मुख्य काम उच्चस्तरको सार्वजनिक यातायात सेवा उपलब्ध गराउने भएको बताए भने विद्युतीय परिवहन तथा ‘डिजिटल पेमन्ट’ प्रविधिद्वारा आउँदा दिनमा संस्थाले अझै राम्रो सेवा दिने तथा चुहावट न्यून गर्नसक्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष सुशीलराज प्याकुरेलले नयाँ सञ्चालक समितिले सार्वजनिक यातायातकै मान्यताअनुसार साझा यातायात अगाडि बढाउने बताउँदै नाफा र घाटाको हिसाबकिताब गर्दा साझा यातायातले पुर्याइरहेको सामाजिक सेवालाई समेत मूल्याङ्कन गर्नुपर्ने भन्ने राय व्यक्त गरे।
‘कनकमणि दीक्षित २०६८ जेठ ६ गते अध्यक्षमा नियुक्त हुनुभएको थियो’, महाप्रबन्धक महेन्द्रराज पाण्डेले भने, ‘चैत ३ गतेबाट नयाँ अध्यक्ष प्याकुरेल अध्यक्ष हुनुभएको छ।’
साझा यातायात २०१८ मा स्थापना भई २०५८ मा सरकारले खारेज गर्ने निर्णय गरेको थियो। तर अदालतले सरकारको निर्णण खारेजसँगै पुन: स्थापना भयो। २०६४ बाट फेरि सेवा अवरुद्ध भएको थियो। २०६८ मा दीक्षितसहित नयाँ सञ्चालक समिति आएसँगै २०७० बाट नयाँ बस थपेर आफ्नो सेवा सुरु गरेको थियो।
हाल साझा यातायातबाट महाप्रबन्धक महेन्द्रराज पाण्डे समेत ३५ वर्षे अवकाश पाउँदै विदा हुँदै छन्। साझा यातायात नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजीमा छ।
साझा यातायातले काठमाडौं उपत्यकासहित लामो दूरीका बस समेत सञ्चालन गर्दै आएको छ। संघीय सरकारले ३ अर्ब लगानी गरेसँगै विद्युतीय बस भित्र्याएर उपत्यकामा सञ्चालन गरिरहेको छ।
Shares

प्रतिक्रिया