कारोबार


तीन हप्तादेखि सेयरबजारले ल्याएन लगानीकर्तामा उत्साह, किन घट्यो?

तीन हप्तादेखि सेयरबजारले ल्याएन लगानीकर्तामा उत्साह, किन घट्यो?

सांकेतिक तस्बिर (एआईको सहयोगमा)


नेपालखबर
चैत ९, २०८१ शनिबार ११:३५, काठमाडौँ

धितोपत्रको दोस्रो बजारमा पछिल्लो तीन हप्तादेखि लगानीकर्ताको उत्साह हराएको छ।

झण्डै ५ महिनाको लामो पर्खाइपछि सूचकले सिँढी चढ्न थालेपछि लगानीकर्ताको आत्मविश्वास पनि बढ्नथालेको थियो। तर फेरि सूचकको ओरालो यात्रासँगै धर्मराउन थालेको हो।

भदौ २ मा ३० हजार ४९ अंकमा पुगेर फर्किएको नेप्से पुनः त्यही हाराहारीमा पुग्न लगानीकर्ताले ५ महिना बढी कुर्नुपरेको थियो। 

लामो पर्खाइपछि फागुन १९ गते नेप्सेले २८ सय अंक पार गर्दा लगानीकर्तामा बजार बढ्ने आशा ह्वात्तै बढ्यो। फलतः निष्क्रिय रहँदै आएका लगानीकर्ताले दोस्रो बजारमा पुनर्प्रवेश मात्र गरेनन्, कारोबार रकम पनि बढाए । 

४ देखि ५ अर्बको दैनिक कारोबार गर्र्दै आएका लगानीकर्ताले १४ अर्बमाथिको कारोबार गर्न थाले। तर त्यो उत्साह लामो समय टिक्न सकेन।

पाँच महिनाको लगानीकर्ताको पर्खाइ ९ दिनभन्दा बढी टिकेन। २८ सय २९ मा पुगेर नेप्से फर्किएको १३ दिन भयो। यो १३ दिनमा १ दिन सामान्य अंकले नेप्से बढ्नेबाहेकका सबै दिन नेप्से घटेर समग्र बजार राताम्मे बनेको छ। 

तीन हप्ता निरन्तर बजार घटेपछि बजारलाई लिएर  लगानीकर्ताको आत्मविश्वास धर्मराउन पुगेको छ। बजारले करेक्सनको बाटो नलिएर पुनः रफ्तारमा ओरालो यात्रा गर्न थालेपछि १६ अर्बमाथिको कारोबार गर्ने लगानीकर्ताको लगानी पुनः ४ अर्बमा खुम्चिएको छ। 

पछिल्लो तीन हप्तामा सूचक २५० अंकले घटिसकेको छ भने कारोबार रकम ९ अर्ब ७२ करोड रुपैयाँले घटेको छ। फागुन १९मा राताम्मे बजारमै नेप्से २९२९ अंकमा पुग्दा लगानीकर्ताले १४ अर्ब २८ करोडको कारोबार गरेका थिए। गएको साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २६७९ अंकले घटेपछि लगानीकर्ताले ४ अर्ब ५९ करोडको मात्रै कारोबार गरे। 

यो १३ दिनमा सूचक ८.५३ अंकले घट्दा कारोबार ६८.०६ प्रतिशतले घटेको छ। 

किन घट्यो बजार? 
सेयर लगानीकर्ता सरिता ज्ञवाली ठोस कारणविनै उचाइ लिएकोले बजार घट्नु सामान्य रहेको बताउँछिन्। ठूला उतारचढाव नदेखेपछि लगानीकर्ताहरुमा सर्टटर्म प्रोफिटमा रमाउने प्रवृत्ति बढेको उनको बुझाइ छ। 

सरिता हप्ता दिनमै प्रतिफल उठाउने प्रवृत्ति लगानीकर्तामा बढ्दा बजारको उचाइ बलियो बन्न नसकेको बताउँछिन्। 

‘अब लङटर्म होल्डिङको उद्देश्य लिएर बजारमा पस्ने लगानीकर्ता नै छैनन्, बरु जति छिटो थोरै भए पनि फाइदा लिएर निस्किहालौँ 
बरु घट्दा फेरि पसौँला भन्ने सोच हावी हुनथालेको छ’, उनले नेपालखबरसँग भनिन्।

लामो समय साइड ड्रिफ्ट जोन (सूचक ३ हजार तल २ हजार माथि नै रुमलिरहनु)मा जाँदा लगानीकर्ताले लगानीको प्रवृत्ति परिवर्तन गर्न थालेका छन्। नेप्सेको छोटो अंकको बढाइमै नाफा निकाल्ने लगानीकर्ता हावी हुँदा बजारले अघिल्लोपटकको बुलहरुमा जस्तो उचाइ लिनसकेको छैन। 

पछिल्लो बढाइलाई आधार मान्दा पनि लगानीकर्ताले ९ दिन बढेको बजारमा लगानीलाई पनि अधिकतम बढाउन पुगेका छन्। ७ अर्ब कारोबार गरेका लगानीकर्ताले नेप्से बढ्दै जाँदा लगानीलाई बढाउँदै लगे र २८ सय पार गर्नासाथ भएको लगानी बेचेर निस्किन खोजेको देखिन्छ। 

फागुन १८ गते २८ सय अंकमा उक्लिएपछि लगानीकर्ताले बजारमा बिक्री चाप बढाए। सोही दिन १४ अर्ब २५ करोडको कारोबार गरेका लगानीकर्ताले भोलिपल्टबाट खरिदलाई रोकेर बिक्रीलाई प्राथामिकतामा राख्दा बजारले बढेको ९ दिन घट्न थाल्यो। नभन्दै अहिलेसम्म २५० अंकले नेप्से घटिसकेको छ भने ९ अर्ब माथिले कारोबार घटिसकेको छ। 

ज्ञवाली छोटो प्रतिफल लिने लगानीकर्ता हावी हुने बजारमा यस्तो प्रवृत्ति देखिने बताउँछिन्। 

योबाहेक बजार बढ्न थाल्दै गर्दा विभिन्न बाह्य कारण देखाएका लगानीकर्ता उक्त कारण यथावत् रहँदै बजारबाट बाहिरिएका छन्। जस्तो बजार २८ सय माथि पुग्दै गर्दा लगानीकर्ताले गभर्नरको बहिर्गमनलाई खुसियालीको रुपमा व्याख्या गर्दै बजार बढेको उल्लेख गरेका थिए। 

तर गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल अन्तिम समयमा आइनपुग्दै लगानकर्ताको व्याख्याले काम गरेन। लगानीकर्ताले नरुचाएका गभर्नर अधिकारी चैत २५ राष्ट्र बैंकबाट बाहिरिँदै छन्। तर लगानीकर्ताले भनेजस्तो गभर्नरको बहिर्गमन नजिकिए पनि त्यसको प्रभाव देखिएको छैन। 

दीर्घकालीन लगानीकर्ताको आकर्षण फितलो बन्दै गएको धितोपत्रको दोस्रो बजारमा कारोबारी मात्रै हावी हुन थालेपछि सूचकले नयाँ रेकर्ड बनाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad