केही दिनयता उद्योगहरुले नियमित बिजुली पाउन थालेको उद्योगीहरुले जनाएका छन्।
नेपाल धागो उत्पादन संघले पछिल्ला केही दिनयता नियमित बिजुली पाएको भन्दै सरकारलाई धन्यवाद नै दिएको हो।
संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवर्द्धनमा असर परिरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ।’
सरकारले केही दिनअघि मात्र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।
शाक्यले अर्थतन्त्रलाई योगदान गर्ने उद्योग क्षेत्रमा सकेसम्म लोडसेडिङ हटाउने बताएका थिए। सोलगत्तै सरकारले भारतबाट थप बिजुली आयात गर्न थालेपछि उद्योगहरुमा भइरहेको लोडसेडिङ केही दिनयता हटेको छ।
धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउन पहल गरेको भन्दै शाक्यसहित ऊर्जामन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे।
Shares

प्रतिक्रिया