कारोबार


एनसेल बन्यो डेटा सेन्टर र क्लाउड सेवाप्रदायकमा सूचीकृत हुने पहिलो र एक मात्र कम्पनी

एनसेल बन्यो डेटा सेन्टर र क्लाउड सेवाप्रदायकमा सूचीकृत हुने पहिलो र एक मात्र कम्पनी

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १७:२१, काठमाडौँ

एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ।

सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानुनी व्यवस्था बमोजिम एनसेल सूचीकृत भएको हो।

विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको गहन अध्ययन गर्दा कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सूचीकृत गरिएको हो।

निर्देशिकाअनुसार सञ्चालनमा रहेका डेटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो। एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो। 

यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो। निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ।

डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ । सो सूचीकरणसँगै एनसेलले अब नयाँ कानुनी व्यवस्था अनुसार पनि डेटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको छ। 

हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ। त्यसैगरी एनसेलले पोखरा र हेटौडामा गरी दुई डिजास्टर रिकभरी डेटा सेन्टरहरु सञ्चालन गर्दै आएको छ। 

“हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सूचीकरणको प्रक्रिया सहज भएको हो। सूचीकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं। डेटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण अत्यन्त महत्वपूर्ण छ। यसले डिजिटल नेपाल भिजन अनुरुप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्दछ। यो सूचीकरणका लागि हामी सूचना प्रविधि विभाग प्रति धेरै आभारी छौं,” एनसेलका चीफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने।

सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरणहरुको गहन अध्ययन गरेको थियो।

सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो। डेटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

निर्देशकाले देशमा सूचना प्रविधि प्रणालीहरूको भरपर्दो, सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। डेटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूको औपचारिक सूचीकरणले सम्पूर्ण क्षेत्रमा नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad