राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा बस्ने नेपालीहरूको नागरिकता निरन्तरता हुनुपर्ने बताएका छन्।
विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको उनले बताए।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा आज भएको भेटमा अध्यक्ष लिङ्देनले भने, ‘एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ र उनीहरुलाई मूलथलोबाट टाढा बनाउनु हुन्न भनेर हामीले आवाज उठाउँदै आएका छौँ।’
‘२०६३ सालपछिको राजनीतिक व्यवस्था फेरिएपछि आएको नागरिकता ऐनले विदेशमा बस्ने सबै नेपालीलाई अन्याय गरेको छ,’ उनले भने, ‘अवसरको खोजीमा विदेशमा गएको नेपाली अवसर पायो विदेश बस्यो, उतैको नागरिकता लियो भन्दैमा उसलाई नेपाली नै होइन भन्न कहाँ पाइन्छ? हामीले पनि यसलाई संशोधन र परिमार्जनका लागि माग गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्छौँ।’
विदेशमा बस्ने नेपालीहरु पनि देश विकासका मुख्य सारथी, स्रोत र शक्ति भएको भन्दै उहाँले सबै पक्षलाई मिलेर एकढिक्का भएर देश विकासको साझेदार बन्न समेत आह्वान गरे।
उक्त भेटमा अध्यक्ष डा बद्री केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि त्यसको कार्यान्वयन नभएको र त्यसले खरबौँको सम्पत्ति विदेशिने, नेपालमा लगानी आकर्षित गर्न कठिन हुने लगायतका समस्याबारे ध्यानाकर्षण गराएका थिए।
यसैबीच गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलले आजै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई भेटेर गैरआवासीय नेपाली नागरिकताको कार्यन्वयनका लागि पहल गरिदिन आग्रह गरेको छ ।
जवाफमा अर्यालले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन हुनुपर्छ भनेर पटकपटक आफ्नो पार्टीले सदनमा माग गर्दै आएको उल्लेख गरे।
Shares

प्रतिक्रिया