कारोबार


तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

रासस
बैशाख १७, २०८२ बुधबार १४:३, दमौली (तनहुँ)

तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ।

आयोजनाको एआइए प्रतिवेदनमा आवश्यक सुझावका लागि मन्त्रालय पठाइएको हो। 

यसअघि आयोजनाले उक्त प्रतिवेदन विद्युत् विकास विभागमा बुझाइसकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको परीक्षण सुरुङ खन्न आवश्यक बिस्फोटक पदार्थ व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए।

प्रस्तावित विद्युत्गृह क्षेत्रको जग्गासम्बन्धी अभिलेख जिल्ला मालपोत कार्यालयबाट सङ्कलन गरिएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार जग्गा अधिग्रहण प्रक्रियासमेत अघि बढिसकेको छ।

आयोजनाका विभिन्न संरचनाका लागि आवश्यक पर्ने निजी जग्गा अधिग्रहण प्रक्रिया अघि बढाउन प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको श्रेष्ठले बताए। जग्गा प्राप्ति ऐन, २०३४ मा भएको व्यवस्थाबमोजिम सङ्घीय सरकारबाट प्रारम्भिक अधिकारी तोकिएपछि आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण सुरु गरिने उनले बताए।  

“आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट–३ र ४ हुँदै छ दशमलव आठ कलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादनको योजना बनाइएको छ”, प्रबन्ध सञ्चालक श्रेष्ठले भने। 

आयोजनाबाट बन्दीपुर-६, व्यास नगरपालिका-१३ र १४, देवघाट-२, ३ र ४, ऋषिङ गाउँपालिका-१ र ३, आँबुखैरेनी गाउँपालिका-५ र ६, भरतपुर महानगरपालिका-२९ का केही भाग प्रभावित हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनका अनुसार देवघाट-४ गाईघाटमा अर्धभूमिगत विद्युत्गृहको निर्माण गरी विद्युत् उत्पादन गरिनेछ। 

उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली-नयाँ भरतपुर प्रसारणलाइनमा जोडेर राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने बताउँदै भण्डारीले यसका लागि करिब दुई किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने जानकारी दिए। 

“अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किमि लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसको अनुमानित लागत रु २५ अर्ब रहेको छ”, उनले भने।

लगानी सुनिश्चित गराउन पहल थालिएको बताउँदै प्रमुख भण्डारीले तनहुँ हाइड्रोपावर लिमिटेडले नेपाल विद्युत् प्राधिकरणमार्फत आयोजनामा लगानी व्यवस्थापनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहजीकरण गरिदिन अनुरोध गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए। उनका अनुसार तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । 

“आयोजनाले विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब तीन दशमलव पाँच मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी काजगात तयार गर्न परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो”, प्रमुख भण्डारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad