कोरोना नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म एनसेलको १० करोडसहित विभिन्न संघसंस्थाबाट २४ करोड ७३ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ। उक्त कोषमा सरकारले ५० करोड जम्मा गर्नेछ भने मन्त्रीहरुले समेत चैत महिनाको तलब राख्नेछन।
‘मन्त्रिपरिषदले नै कोषमा मन्त्रीहरुको एक महिनाको तलब जम्मा गर्ने भनिएअनुसार नै चैत महिनाको तलब स्वतः कट्टी भएर कोषमा योगदान हुन्छ’, सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले भने, ‘हामी सबै सार्वजनिक संस्थान, निजी क्षेत्रका संघसंस्था, सामाजिक संस्था, व्यावसायिक जगतलाई पनि योगदान गर्न भनेका छौँ।’
कहाँ खर्च हुन्छ कोषको रकम?
योगदानको रकम कहाँ कहाँ खर्च गर्ने पनि पहिले नै भनेको र कोष सञ्चालन कार्यविधि बनिसकेको उनले बताए। त्यसकै आधारमा कोरोनासँग सम्बन्धित औषधि खरिद, उपकरण, क्वारेन्टिन केन्द्रको व्यवस्थापन, अस्पतालका उपकरणहरु र स्तरोन्नति, कोरोनाबाट संक्रमित हुने सम्भावित व्यक्तिको निःशुल्क उपचारमा कोषको रकम खर्च हुने उनको भनाइ छ।
रकम जम्मा गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको उनले बताए। त्यसको खाता सञ्चालन महालेखा नियन्त्रक कार्यालयबाट हुने र कुनै पनि निकायले यो शीर्षकअन्तर्गत कोषको रकम खर्च गर्न अर्थ मन्त्रालयलाई लेखिपठाउनुपर्ने र मन्त्रालयले निकासाको आदेश दिएपछि महालेखा नियन्त्रकको कार्यालयबाट त्यो भुक्तानी हुने उनले बताए।
‘कोरोनासँग सम्बन्धित समस्या सम्बोधन गर्न हामीले वित्तीय व्यवस्था पनि गर्नुपर्ने हुन्छ’, उनले भने, ‘हामी मानवीय व्यवस्थापन गरिराखेकै छौँ, सामाजिक व्यवस्था पनि गरेकै छौँ तर एउटा अवस्थामा वित्त व्यवस्था पनि चाहिने भएकाले कोष सञ्चालन विधि, जम्मा भएको रकम, भएको खर्च पारदर्शी ढंगले मन्त्रिपरिषदकै कार्यालयबाट सार्वजनिक हुन्छ।’
यो कोषको खाता विधिवत् ढंगले खाता सञ्चालन हुने र पारदर्शी हुने उनले बताए।
सरकारले विश्व महामारीको प्रभाव नेपालमा पनि पर्ने भएपछि यसको रोकथामको लागि राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा कोषको खाता खोलेको थियो। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम नामको खाता नं. १९६०००००११०१ रहेको छ।

प्रतिक्रिया