कोभिड–१९ को संक्रमण रोक्नका लागि फेब्रुअरी महिना र मार्चको आधा महिना महत्वपूर्ण अवसर थियो। त्यो मौका गुमाएपछि, (बेलायत) सरकारले तुरुन्त आफ्नो रणनीतिमा पुरै परिवर्तन (यु–टर्न) गर्दै दुई हप्ताअघि देशव्यापी लकडाउन घोषणा गर्यो।
बच्चाहरुलाई स्कुलबाट छुटाएर, पसल बन्द गरेर र दशौं लाख मानिस काम छाडेर घरमा बसे। तर हाम्रो सम्पूर्ण जनजीवन ठप्प पार्ने नाटक गरिरहँदा, हामीले के चाहिँ बिर्स्यौ भने लकडाउन आफैंमा समाधान होइन।
यसले त यो संक्रमणको विस्तारको गतिलाई रोक्छ मात्र।
यो गुमेको अवसरलाई कसरी पुरताल गर्ने भन्ने नै अहिले बेलायतले सामना गरेको वास्तविक प्रश्न हो। घरभित्र थुनिएर बसिरहने र यो समस्या कहिले सकिएला भनेर पर्खिबसेर मात्र होला त? यहि परिस्थिति कायम रहिरह्यो भने त यो लकडाउनको अनिश्चिततामै हामी फस्छौं। वर्ष नै बित्न पनि सक्छ।
चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उपलब्ध गराएको तथ्यांकअनुसार कोरोना भाइरस भेटिएकामध्ये ८० प्रतिशतलाई मेडिकल उपचार आवश्यक पर्दैन। उनीहरुमा हल्का (माइल्ड) लक्षणमात्र देखिन्छ। यसमा धेरैजसो बालबालिका र ४० वर्षमुनिका मानिस पर्छन्। १४ प्रतिशतमा भने निमोनिया जस्तो गम्भीर स्वास्थ्य समस्या देखिन्छ। ५ प्रतिशतमा स्वासप्रश्वासको समस्या, सेप्टिक सक र धेरै अंगले एकैचोटी काम गर्न छाड्ने जस्ता गम्भीर समस्या देखिन्छन् र उनीहरुलाई विशेष उपचार आवश्यक पर्छ।
त्यसैले, भ्याक्सिन र पर्याप्त उपचारको कमी हुँदासम्म परिस्थितिअनुसार अस्पतालको क्षमताले धान्छ भन्ने सुनिश्चित गर्नु नै सरकारको मुख्य प्राथमिकता हुनुपर्छ। संक्रमण आमजनतामा फैलिन थाल्यो भने १९ प्रतिशत मानिसलाई अस्पतालको सेवा र त्यसमा पनि आईसीयू र विशेष उपचारको आवश्यकता पर्छ।
यस्तो अवस्थामा राष्ट्रिय स्वास्थ्य सेवामा ठूलो दबाब पर्छ। मुख्यतः उचित व्यक्तिगत सुरक्षा सामग्रीको अभावले निकै समस्या उत्पन्न हुन्छ र यसका कारण नियमित सर्जरी, क्यान्सर उपचार, हृदयघात आदि स्वास्थ्य समस्याका लागि इमरजेन्सीको सेवा दिने क्षमतामा पनि सिधै प्रभाव पर्छ।
यो दुईहप्ते लकडाउनलाई लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय स्वास्थ्य संस्थाको क्षमता र यसलाई अनुसरण गर्न आमजनता तयार छन कि छैनन् भन्ने आधारमा गर्नुपर्ने हुन्छ।
भ्याक्सिनको प्रतिक्षा गरिरहँदा आउने तीनदेखि चार महिनासम्ममा एन्टिभाइरल थेरापीको विकास गरिँदैछ। एन्टिभाइरल थेरापीले जटिल बिरामीको उपचार गर्न डाक्टरहरुलाई थप एउटा आधार प्राप्त हुनेछ। भ्याक्सिन नै आएपछि भने त्यसले रोकथामकै काम गर्नसक्छ र बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र कोभिड–१९ को अवस्थासम्म जानबाट रोक्न सकिन्छ। एचआईभी एड्स, मलेरिया लगायतमा थेरापीले सहयोग गरेको छ भने दादुरा लगायतमा भ्याक्सिन निकै प्रभावकारी भएको छ।
पहिले नै परिक्षण गरिएका कुनै औषधिलाई यो प्रयोजनका लागि प्रयोग गर्न मिल्यो भने त्यो सबैभन्दा छिटो उपाय हुनेछ र त्यसका लागि क्लिनिकल प्रयोगहरु भइरहेको छ। भ्याक्सिन सर्वत्र उपलब्ध हुन, प्रभावकारी र सस्तो मूल्यमा पाउन चाहिँ निकै समय लाग्नेछ। अहिले संभावित दुई दर्जन भ्याक्सिनमा काम भइरहेको छ। तीमध्ये धेरैलाई जनावरमा र एउटा चाहिँ छिटै मानवमाथि प्रयोग हुँदैछ।
अहिलेको मुख्य समस्या समय कै हो, किनभने भ्याक्सिन तयार गर्दा त्यसबाट सुरक्षा, त्यसको साइड इफेक्ट र त्यसले काम गर्छ की गर्दैन भनी हेर्नका लागि तीन चरणको क्लिनिकल परिक्षण गर्नैपर्छ। यसका लागि योजनाअनुरुप नै सबैकुरा अघि बढ्दा पनि एक वर्षदेखि १८ महिनासम्म लाग्छ। त्यसपछि सबै देशले यो भ्याक्सिन तुरुन्त खोज्छन्। तत्काल ठूलो संख्यामा भ्याक्सिन उत्पादन गर्नु अर्को चुनौतिपूर्ण काम हो।
सबै जनतासँग भाइरस छ भन्ने सोचेर सबैलाई क्वारेन्टिनमा राख्नुको साटो सबैभन्दा व्यवहारिक बाटो भनेको धेरैभन्दा धेरै मानिसको परीक्षण गर्ने हो। प्रत्येक दिन ७५ हजारदेखि १ लाखसम्म मानिसको परीक्षण गर्नुपर्छ। जो जो भेटिन्छ, उसको परीक्षण गर्ने होइन। जसमा लक्षण देखिएको छ उनीहरुमा परिक्षण गर्ने हो। त्यसपछि उनीहरुसँग सम्पर्कमा रहेका व्यक्तिहरु, जस्तै घरका मानिस, सहकर्मी लगायत पत्ता लगाएर उनीहरुको पनि परीक्षण गर्ने हो। भाइरस भएका व्यक्तिलाई घरमै अनिवार्य दुई–हप्ते क्वारेन्टिनमा राख्ने। अवज्ञा गरे कारवाही गर्ने।
यसो गर्दा जनस्वास्थ्यमा काम गर्नेहरुलाई पनि भाइरस संक्रमण कहाँ छ भन्ने थाहा हुन्छ र त्यसलाई थप फैलिनबाट रोक्न सकिन्छ। यसरी समग्र समाज, अर्थतन्त्रलाई जसोतसो सामान्य अवस्थामा फर्किन सहज हुन्छ।
निजी स्वास्थ्य संख्या र विश्वविद्यालयका ल्यावहरु प्रयोग गरेर परिक्षणको क्षमता वृद्धि गर्न सकिन्छ। त्यसैगरि दक्षिण कोरिया र अन्य साझेदारहरुसँग सहकार्य गर्न सकिन्छ। अहिले दक्षिण कोरियाको कम्पनी एसडी बायोसेन्सरले दैनिक ३ लाख ५० हजार किट्स तयार गरिरहेको छ। उसले यो गति अझै बढाइरहेको छ। तर उसले अहिले अमेरिका, युनाइटेड अरब इमिरेट्स र इण्डोनेसियालाई प्राथमिकता दिइरहेको छ।
सबैभन्दा राम्रो परिस्थिति सिर्जना होस् भन्नका लागि टेस्ट किट्स प्राप्त गर्ने कुरालाई नै उच्चतम राजनीतिक प्राथमिकता दिइनुपर्छ। सँगसँगै कन्ट्याक्ट ट्रेसिङका लागि सहयोग पुर्याउन एप्स र बिग डेटा (तथ्याङक भण्डार) आवश्यक पर्छ। यो बाटोबाट हामी सबै जनतालाई होइन, संक्रमण भएकालाई मात्र क्वारेन्टिन गर्ने अवस्थामा जानसक्छौं। यो योजनाअनुसार समाज, अर्थतन्त्र र स्वास्थ्य सबैले जित्नसक्छन् र अहिलेको परिस्थितिबाट निस्कने उत्कृष्ट बाटो यहि नै देखिन्छ।
(दि गार्डियनबाट। प्रोफेसर देवी श्रीधर युनिभर्सिटी अफ एडिनवर्गकी ग्लोवल पब्लिक हेल्थका अध्यक्ष हुन्)

प्रतिक्रिया