पर्यटकीय सहर पोखरामा विश्वकै दोस्रो अर्धनारीश्वर धाम निर्माण सुरु भएको छ।
पोखरामा चिनियाँ पर्यटकीय गतिविधि बढिरहेको समयमा भारतीय पर्यटकलाई आकर्षित गर्न करिब ७० रोपनी क्षेत्रफल जग्गामा अर्धनारीश्वर धाम निर्माण थालिएको हो।
पोखरा महानगरपालिका–२८ स्थित कालिकामा दिव्यधाम निर्माण हुनेछ। वडा नम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले धामको शिलान्यास गरेका हुन्।
अर्धनारीश्वर दिव्यधाम धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन संस्थाका संरक्षक तथा संस्थापक दीपक तिमिल्सिनाले नेपाल सरकार र भारतीय राजदूतावासको सहयोगमा उक्त धाम बन्ने जानकारी दिए।
‘सामुदायिक वनसँगको समझदारीमा धामको पहिलो चरणको निर्माण सुरु भएको छ’, तिमिल्सिनाले नेपालखबरसँग भने, ‘कुल ५० करोड लागत अनुमान भए पनि पहिलो चरणमा २० करोड खर्च गर्दै छौँ।’
संस्थाले हिन्दू धार्मिक आस्थाको प्रतीक अर्धनारीश्वर धामको निर्माण तथा त्यसको प्रवर्द्धनमार्फत समाजमा नैतिक, सांस्कृतिक र आध्यात्मिक चेत फैलाउने उद्देश्य राखेको छ।
अर्धनारीश्वर धाम निर्माण तथा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा २०८० फागुनमा संस्था दर्ता भएको छ। गहते दुरारुख सामुदायिक वन उपभोक्ता समूहसँग अर्धनारीश्वर दिव्यधाम धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन संस्थाबीच सम्झौता भएको थियो।

‘संस्थाले धामको पूर्वाधार निर्माण, तीर्थालुहरूको सुविधाका लागि आवास, पवित्र जलकुण्ड, सभामञ्च, पार्क र पर्यटन अनुकूल संरचना निर्माणको कार्य सुरु गरेको छ’, तिमिल्सिनाले भने, ‘यस्ता कार्यहरूका लागि पर्याप्त वित्तीय स्रोतको अभाव भइरहँदा नेपाल सरकार र भारतीय दूतावासबाट सहयोगको प्रतिबद्धता आएको छ।’
अर्धनारीश्वर धाम भारतको ब्यांग्लोरमा छ। पोखरामा निर्माण हुने धामले पोखरामा हिन्दू पर्यटकलाई आकर्षित गर्नेछ। प्रस्तावित संरचना निर्माण लागत अनुमान ५० करोड ४५ लाख रुपैयाँ छ।
जसमा आकर्षकको रुपमा १०८ फिटको अर्धनारीश्वर महादेवको मूर्ति बन्नेछ।

‘मूर्ति कस्तो डिजाइनको बनाउने भन्ने विषयमा तयारी भइरहेको छ’, तिमिल्सिनाले थपे, ‘७० रोपनी जग्गामा कहाँ कस्तो संरचना बनाउने भन्नेमा डिजाइनको काम भइरहेको छ।’
भ्यु प्वाइन्ट, बच्चाहरूका लागि पार्क, योग र मेडिटेसन हल, गुरुकुल र प्रशासनिक भवन, पिकनिक स्पट, बगैँचा र सूचना केन्द्र, रेस्टुरेन्ट, ढुंगा छाप्ने, प्रवेशद्वार, शौचालय, निर्माणको फाउन्टेनलगायत छन्।
धाम आसपासमा कालिका देवी मन्दिर, चुत्रेकोट दुमादी, काल भैरव, सिद्धेश्वर मन्दिर, भैरव मन्दिर, जलेश्वर महादेव, थानापति शिव मन्दिर, सर्वमोक्ष धाम छन्।
चालू आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

Shares

प्रतिक्रिया