निर्माणाधीन दोधारा चाँदनी एकीकृत जाँचचौकी/सुख्खा बन्दरगाह निर्माण परियोजना निर्माणस्थलका रुख बिरुवा र पोलहरु हटाउने काम अन्तिम चरणमा पुगेको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाअन्तर्गत वडा नम्बर १ मा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बन्ने परियोजनालाई ४२.३६ हेक्टर राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न सरकारले गत वर्ष असोज २ मा स्वीकृति दिएको थियो।
सोसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल इन्टरमोडल यातायात विकास समितिबीच गत वर्ष पुस २३ गते द्विपक्षीय सम्झौता भएको थियो। उक्त क्षेत्रमा १ हजार ५ सय ९३ रुखहरु कटान गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले गत वर्ष माघ २४ मा अनुमति दिएको थियो।
त्यसपछि समितिले गत फागुन १ मा रुख कटानको टेन्डर आह्वान गर्दै कम्पनी छनोट गरेको थियो। कम्पनीले गत वैशाख ८ देखि रुख कटान सुरु गरेकोमा हालसम्म ९ सय ४० रुख काटिसकिएको समितिले उल्लेख गरेको छ। बाँकी रुख पनि असार दोस्रो हप्ताभित्र काटिसक्ने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा परियोजना निर्माण हुनलागेको हो। यसका लागि सन् २०२३ जुन १ मा दुई देशका सरकारले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। यसको लागत करिब ३ अर्ब ८० करोड रहेको छ।
हाल भारतीय पक्षबाट निर्माण कम्पनी छनोट भइसकेको र निर्माणका लागि कम्पनीसँग सम्झौताको चरणमा रहेको समितिले जनाएको छ।
परियोजनाअन्तर्गत अत्याधुनिक सुविधासम्पन्न व्यापार पूर्वाधार (सडक, पार्किङ क्षेत्र, प्लेटफर्म गोदामघर, तौलपुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, भन्सार, बैंक, पशुपन्छी÷खाद्य प्रयोगशाला (क्वारेन्टाइन) प्रशासनिक भवनलगायतका संरचनाहरु बन्नेछन्।
Shares

प्रतिक्रिया