कारोबार


आइएमईले मनायो २५औं वार्षिकोत्सव, जनहितकेन्द्रित लगानी गर्ने प्रतिबद्धता

आइएमईले मनायो २५औं वार्षिकोत्सव, जनहितकेन्द्रित लगानी गर्ने प्रतिबद्धता

नेपालखबर
जेठ ३१, २०८२ शनिबार २०:५५, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आइएमई समूहलाई लगानी विस्तार गर्दै नयाँ उद्यम र उद्यमी सृजनातर्फ अघि बढ्न आग्रह गरेका छन्। 

ललितपुरमा शुक्रबार आयोजित आइएमईको २५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले राष्ट्र बैंक प्रविधि विकास र उद्यम विस्तारमा सहजीकरण गर्न तयार रहेको बताए।

उनले द्वन्द्वकालको कठिन समयमा जोखिम मोल्दै स्थापना भएको आइएमईले उदाहरणीय कार्य गरेको उल्लेख गर्दै अहिले पनि देशमा जोखिम लिन सक्ने उद्यमीहरूको खाँचो रहेको बताए।

समारोहमा आइएमई समूहका संस्थापक अध्यक्ष चन्द्र प्रसाद ढकालले समूहको सफलताको आधार सार्वजनिक सेवा, सरकारी प्राथमिकता, र दीर्घकालीन व्यवसायिक सम्भावना रहेको स्पष्ट गरे। मुनाफालाई मात्र केन्द्रमा नराखी जनताको आवश्यक सेवा पुर्‍याउने उद्देश्यले अघि बढ्दा सफलता सम्भव भएको उनको भनाइ थियो।

अध्यक्ष ढकालका अनुसार आइएमईले रेमिट्यान्सबाट सुरु गरेर बैंकिङ, बिमा, पर्यटन, सूचना प्रविधि, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै हजारौं गुणस्तरीय रोजगारी सिर्जना गरेको छ, जसले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

त्यस्तै, आइएमईका सह–संस्थापक तथा अध्यक्ष हेमराज ढकालले ग्राहकहरूको सामाजिक र आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले प्रविधिको माध्यमबाट नेपालमै बसेर विदेशमा सेवा निर्यात गर्ने युवाहरूका लागि डिजिटल रेमिट्यान्स पूर्वाधार विस्तार गर्न राष्ट्र बैंकको सहयोग अपेक्षित रहेको बताए।

विदेश रोजगारमा जाने युवाहरू महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनुपरेको उल्लेख गर्दै उनले आइएमईमार्फत सस्तो र सुलभ कर्जा उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्न आग्रह गरे।

२५ वर्षको यात्रामा सहयोग गर्ने सेवाग्राही, सरकार, नियामक निकाय, साझेदार तथा शुभचिन्तकहरूप्रति अध्यक्ष ढकालले आभार व्यक्त गरे।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले प्रविधिमा भएको विकासलाई आत्मसात् गर्दै प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता र साझा मूल्यहरूमा आधारित सेवा प्रदान गरिरहेको जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धामा विजेता बनेकालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। 

कार्यक्रममा सरकारका मन्त्रीहरू, राजनीतिक नेताहरू, उच्चपदस्थ कर्मचारी, विभिन्न क्षेत्रका विज्ञ, आइएमई समूहका संचालक, सीईओ तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad