कारोबार


बजेटमा ‘टेक एन्ड पे’विरुद्ध इप्पानले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

बजेटमा ‘टेक एन्ड पे’विरुद्ध इप्पानले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

इप्पान अध्यक्ष गणेश कार्की


नेपालखबर
असार ५, २०८२ बिहिबार १८:४४, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटमा घुसाइएको विद्युत् खरिदमा ‘टेक एन्ड पे’सम्बन्धी प्रावधान हटाउन सरकार सकारात्मक नभएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

नेपालको विद्युत् उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको निजी क्षेत्रलाई पाखा लगाउने गरी ‘टेक एन्ड पे’  आएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरू आन्दोलित भएका हुन्।

विद्युत् खरिदसम्बन्धी यस व्यवस्थामा बैंकले लगानी नै नगर्ने हुँदा निजी क्षेत्रले अध्ययन गरिरहेका १७ हजार मेगावाटका ३५० बढी आयोजनामा गरिएको ६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएकोले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको इप्पानले जनाएको छ।

इप्पानद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रले ऊर्जा क्षेत्रमा यसरी आक्रामक रुपमा लगानी गरिरहेको बेला नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २०८२ जेठ १५ गते सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा ‘रन अफ रिभर आयोजनाको ‘टेक एन्ड पे’ (लेऊ र तिर) आधारमा पीपीए गरिनेछ’ भन्ने घोषणाले १७ हजार ११७ मेगावाट क्षमताका ३५० बढी आयोजना निर्माण हुने बाटो बन्द हुनुको साथै यसमा निजी क्षेत्रबाट भइसकेको ६६ अर्ब २२ करोड रुपैयाँ लगानीसमेत डुब्ने भएपछि इप्पानले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री, मुख्यसचिव लगायतसँग भेटघाट तथा ज्ञापनपत्र बुझाएर उक्त बुँदा सच्याउनको लागि अनुरोध गरेकोमा कुनै पनि निकायबाट माग पूरा गर्ने सम्बन्धमा गम्भीर नभएपछि इप्पानद्वारा पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।’

यस्ता छन् आन्दोलनका कार्यक्रम
इप्पानका अनुसार असार ६ गते एकपटक फेरि प्रधानमन्त्री, ऊर्जामन्त्री र अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, असार ७ गते प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशकलाई एसएमएस पठाएर ‘टेक एन्ड पे’ फिर्ता लिन अनुरोध गर्ने, असार ८ गते सामाजिक सञ्जालमा ‘टेक एन्ड पे’ पीपीए नीति फिर्ता लेऊ भन्दै सन्देश लेख्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी असार ९ गते ‘टेक एन्ड पे’ को असरबारे निजी क्षेत्रका विभिन्न संघ/संगठनहरुसँग छलफल गरी संयुक्त धारणा सार्वजनिक गर्ने र असार १० गते प्रतिनिधि सभाका सभामुख र प्रमुख सचेतकहरुलाई ‘टेक एन्ड पे’ फिर्ता लिनको लागि सामूहिकरुपमा एसएमएस पठाउने कार्यक्रम तय गरिएको इप्पानका कार्यवाहक अध्यक्ष मोहनकुमार डाँगीले बताए।

प्रतिनिधिसभाबाट बजेट तथा कार्यक्रम पारित हुँदासम्म ‘टेक एन्ड पे’ पीपीए नहटाएमा दोस्रो र तेस्रो चरणमा आयोजनाको चाबी सरकारलाई बुझाउनेसम्मको सशक्त आन्दोलन गर्ने पनि डाँगीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad