कारोबार


ग्वार्को ओभरपासमा चल्न थाले सवारीसाधन (तस्बिरहरू)

ग्वार्को ओभरपासमा चल्न थाले सवारीसाधन (तस्बिरहरू)

सौगात दाहाल
असार ६, २०८२ शुक्रबार १८:३, काठमाडौँ

ग्वार्को ओभरपासबाट एकतर्फी रुपमा साना सवारीसाधन चल्न थालेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेलगत्तै सवारीसाधनहरू चल्न थालेका हुन्।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित ओभरपासको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे।

ओभरपास सञ्चालनमा आएसँगै ग्वार्काेसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान हुने उनले बताए।

काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्काे ओभरपासको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो।

इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्मित उक्त ओभरपास नेपालको पहिलो हो।

कुल पाँच सय मिटर ‘अप्रोच’ सडक रहेको यसमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ। ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो।

“हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुआत गरेका थियौँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमा फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ”, प्रधानमन्त्री ओलीले भने।

यसरी विकास हुँदा विदेश जाने मुद्रा स्वदेशमा रहने उनको दाबी छ।

यसले ठूलो आर्थिक लाभसहित रोजगारी सृजना हुने बताउँदै उनले अरु खनिजको उत्खनन, कृषिको आधुनिकीकरण गर्ने बताए।

उनले थपे, “नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ।”

सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची–महाकालीको कायाकल्प गर्ने बताउँदै उनले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताए।

उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिइरहेका उल्लेख गरे।

यो पनि–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad