एक वर्षपछि सेयरबजार परिसूचक नेप्से फेरि ३ हजार विन्दुभन्दा माथि पुग्यो।
आइतबार कारोबार खुलेको १२.५१ मिनेटमै ३०१३ अंकमा पुगेपछि लगानीकर्ता उत्साहित भए। उनीहरूले करिब ११ महिनायताकै धेरै कारोबार पनि गरे।
बजारमा ३२ सयको रेकर्ड तोड्ने र ४२ सयसम्मको वृद्धि यसै वर्ष देख्न पाउने उनीहरूको अनुमान थियो। किन कि ३ हजार विन्दु पार गरेसँगै लगानीकर्ताले खरिदबिक्री बढाएका थिए।
गत वर्ष भदौ २ गते ३ हजार ४८ अंकसम्म पुगे पनि कारोबार अवधिमा नेप्सेले २९६६.३३ अंकसम्म मात्रै उचाइ लिन सकेको थियो। त्यसयता भने बजार साइडवेजमा चल्यो। २९ सय विन्दु नाघ्नसकेन। निरन्तर उस्तै अंकमा रुमलिएको बजारबाट लगानीकर्ता पनि दिक्क बने।
चालू आर्थिक वर्षको सुरुवातमा पनि बजारको प्रवृत्तिले उत्साह जगाइरहेको छ। आइतबार नेप्सेले पुनः ३ हजार विन्दु पार गरेपछि लगानीकर्तामा रौनक छाएको छ। आइतबारको २६ अर्ब बढीको कारोबार यसको उदाहरण हो।
तर कारोबार बढाए पनि सूचकले भने अन्तिम समयसम्म साथ दिन सकेन। अन्ततः गत वर्षझैँ यो वर्ष पनि ३ हजार पार गरेपछि उही प्रवृत्ति दोहोरिएको छ।
२०८१ भदौ २ गते नेप्सेले ३०४८ अंक छोए पनि टिक्न नसक्दा २९६६.३३ अंकमा राताम्मे भएर बजार बन्द हुन पुगेको थियो। आइतबार त्यही प्रवृत्ति दोहोरियो।
लगातार पाँच दिनको प्रयासपछि छैठौँ दिन नेप्सेले ३ हजार पार गरेलगत्तै बजारको लय परिवर्तन भएको हो। करिब १२ः५१ बजे ३०१३ अंकमा पुगेको नेप्से त्यसयता निरन्तर घटेर २९६४.२० अंकमा बन्द हुन पुग्यो।
यद्यपि पहिलो प्रतिरोध (३०४८) को नजिक पुग्नासाथ बजार घट्नुलाई नकारात्मक मान्न नसकिने लगानीकर्ताको तर्क छ।
२४ दिनमा कुल ३ सय ७८ अंकको उचाइ
२५८६ अंकबाट बढ्न थालेको नेप्सेले २४ दिनमा कुल ३ सय ७८ अंकको उचाइ लिएको छ। पछिल्लो आठ कारोबार दिनयता ठूलो उचाइ लिए पनि सोहीअनुसारको विश्राम भने लिएको थिएन।
जेठ ३१ गते ३४.४६ अंकले बढेको नेप्से साउन १ गते ३४.६१, साउन २ गते ७५.८४ अंक, साउन ४ गते ०.३२ अंक, साउन ५ गते २१.७६ अंक, साउन ६ गते ८०.९७ अंक, साउन ७ गते ५.१७ गते र साउन ८ गते ३.७६ अंकले बढेको थियो।
गएको ८ दिनमै नेप्से २०४.०३ अंकले बढेको हो।
सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलका अनुसार बजार निरन्तर बढेपछि केही समय करेक्सनमा जानु स्वाभाविक रहेको बताउँछन्।
आइतबारको नेप्सेको घटाइलाई स्वस्थ मान्दै स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्।
‘२०४ अंकको उचाइ लिएपछि बजारले विश्राम लिनुपर्छ, यो स्वस्थ बजारको लक्षण नै हो’, उनले नेपालखबरसँग भने।
सूचकले करेक्सन लिए पनि बजारमा देखिएको कारोबारको ‘भोल्युम’ सकारात्मक रहेको उनको भनाइ छ। आइतबार सूचक घटे पनि कुल २६ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
उक्त कारोबार २०८१ भदौ २ गतेयताकै धेरै हो। भदौ २ (नेप्से ३०४८) मा लगानीकर्ताले २८ अर्बको कारोबार गरेका थिए।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बजारमा देखिएको कारोबारले बजार बढ्ने संकेत गरेको बताउँछन्।
‘अहिलेको बैंक तथा वित्तीय संस्थामा भएको तरलताका आधारमा दैनिक ३५ देखि ४० अर्बसम्मको कारोबार हुनुपर्ने हो तर सोअनुसार कारोबार नभए पनि २८ अर्बको कारोबार भएको छ। यो पनि सकारात्मक नै हो’, उनले भने।
‘अर्थतन्त्रका सूचकको सकारात्मक प्रभाव दोस्रो बजारमा’
लगानीकर्ता पौडेल अर्थतन्त्रका सूचकहरू सुधारोन्मुख देखिँदा त्यसको सकारात्मक प्रभाव दोस्रो बजारमा पर्न थालेको तर्क गर्छन्।
देशको ११ महिने वित्तीय तथ्यांकअनुसार मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित छ भने शोधनान्तर स्थिति करिब ५ खर्बले बचतमा छ।
यो अवधिमा निर्यात पनि ७७ प्रतिशतले बढेको छ भने रेमिट्यान्स १५.५ प्रतिशत बढी भित्रिएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट जाने कर्जा पनि प्रक्षेपण गरेअनुसार नबढे पनि गत वर्षको तुलनामा सुधारोन्मुख देखिएको छ। जेठ मसान्तसम्म कर्जा ८ प्रतिशतले बढेको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घटेको बैंक तथा वित्तीय संस्थाको ब्याजलाई थप ०.२५ प्रतिशतसम्मले घट्न सक्ने व्यवस्था गरेसँगै साउन महिनाका लागि करिब दर्जन बैंकहरूले ब्याजदर घटाएका छन्। बैंक तथा वित्तीय संस्थाहरूमा कर्जायोग्य लगानी थुप्रिएर कर्जा निक्षेप अनुपात नै ७५ प्रतिशतमा आइपुगेसँगै सेयरबजारमा लगानी बढ्न सक्ने वातावरण देखिन्छ।
लगानीकर्ता पौडेल यी तमाम सूचकहरूले बजारलाई बढाउन थप सकारात्मक वातावरण बनाउने बताउँछन्।
‘नीतिगत रुपमा लगानीकर्ताले नियामकबाट साथ पाइरहँदा बजारमा ब्याजदरले पनि साथ दिने अवस्था छ, यसले पनि बजारलाई बढाउन मद्दत गर्नेछ’, उनले भने।
पाण्डे पनि नेप्से बढ्ने प्रशस्तै आधारहरू रहेको बताउँछन्। सकारात्मक माहोल बन्दाबन्दै पनि बजार घटेमा भने पुनः नेप्सेले लगानीकर्ताको आत्मविश्वास बढाउन नसक्ने उनको धारणा छ।
‘अहिले पनि बजार बढेन र नेप्से फर्कियो भने त पुनः उचाइ लिन सक्दैन, आजको करेक्सनपछि सम्भवतः बजार बढेमा यस पटक नयाँ रेकर्ड कायम गर्ने सम्भावना रहन्छ’, उनले भने।
जसको सेयर मूल्य ८ दिनमा धेरै बढ्यो
गएको ८ दिनमा २ सय माथिको अंकले नेप्से बढ्दा सर्वाधिक कमाउने १० कम्पनीमा ट्रेड टावर र सान्भी इनर्जी अगाडि छन्।
यी दुवै कम्पनीको सेयर सूचीकृत भएसँगै त्यसको मूल्य क्रमशः ६० प्रतिशतभन्दा धेरैले बढिसकेको हो।
योबाहेकका भने ग्रिन भेन्चर र उन्नति सहकार्य लघुवित्त कमाउनेमा अगाडि छन्। यी दुवै कम्पनीको आठ कारोबार दिनमा क्रमशः ३ र ४ दिन ३१ प्रतिशत र २५ प्रतिशतले मूल्य बढेको छ।
योबाहेक कालिका पावर कम्पनीको २३ प्रतिशत, विन्दवासिनी हाइड्रोको २२ प्रतिशत, लुम्बिनी विकास बैंकको २१ प्रतिशत, शिवम् सिमेन्टको १९ प्रतिशत, माथिल्लो सोलुको १७ प्रतिशत र समता घरेलुको १७ प्रतिशतले मूल्य बढेको छ।
Shares

प्रतिक्रिया