कारोबार


‘संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यावहारिक’

‘संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने सीडीएससीको प्रस्तावित निर्देशिका अव्यावहारिक’

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १८:०, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यावहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ।

सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको हो। 

सीडीएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमूलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ।

प्रस्तावित सो व्यवस्था अन्तर्राष्ट्रिय मान्यता र स्थापित अभ्यासविपरीत हुने पनि चेम्बरको ठहर छ। 

चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ, र नेपालको परिपक्व नबनेको पुँजी बजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्नेछ।’

विगत केही वर्षदेखि सीडीएससीले सेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक सेयरमा स्वतः रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग–अलग आईएसआईएन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको चेम्बरले जनाएको छ ।

नेपालमा सेयर बजार अझै पनि लगानीमैत्री बन्न सकेको अवस्था छैन । यस्तोमा सीडीएससीजस्तो संस्थाले आफैंले बनाएका पुराना मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउँदा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ।

चेम्बरले यो निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ। अन्यथा, लगानीकर्ताको भरोसा घट्दै जाने, संस्थापक सेयर निष्क्रिय हुने र बजारमा तरलताको संकट बढ्दै जाने गम्भीर जोखिम रहेको चेम्बरले जनाएको छ । 

नेपालको समग्र पुँजी बजारको विकास, लगानी सुरक्षाको प्रत्याभूति र निजी क्षेत्रको विश्वास कायम राख्न सीडीएससीले ल्याएको निर्देशिकालाई पुनर्विचार गर्न समेत चेम्बरले धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad