‘मजस्तै जब तपाईं खराब शासन चलेको देशमा बस्नुहुन्छ र तपाईंसँग पैसा पनि छैन भने जीवन राम्ररी अघि बढ्ने सुखद भविष्यको आशा पनि रहँदैन । त्यही कारण तपाईं कतै आशाको त्यान्द्रो बाँकी छ कि भनेर भौँतारिनुहुन्छ’, ७९ वर्षीय अर्बपति स्टिभन उदवर हेजीको भनाइ हो यो।
उनी सानो छँदै हंगेरीबाट न्युयोर्क बसाइँ सरेका थिए। म्यानहटनको एक वेयरहाउसमा उनले १४ वर्षको उमेरमै घण्टाको ३० सेन्ट कमाउन बक्स प्याक गर्ने काम गरे। पछि उनै स्टिभनले विमान भाडामा दिने उद्योग खडा गरे।
‘जब तपाईं त्यस्तो अवस्थाबाट मुक्त भएर अमेरिका आउनुहुन्छ, तपाईंसँग जन्मेको स्थानभन्दा पूर्णतया फरक प्रणाली हुन्छ’, उनी भन्छन्, ‘त्यसैले तपाईं फरक विन्दुबाट सुरु गर्नुहुन्छ। त्यस्तो विन्दु जहाँ मूल्य निर्माणको प्रशंसा गर्नुहुन्छ, सहयोगी मानिसहरूको तारिफ गर्नुहुन्छ र यसबाट आफ्नो लक्ष्य र उद्देश्यमा एकध्यान हुनुहुन्छ। किनभने तपाईं आफ्नो इतिहास र विगतलाई सम्भव भएसम्म चाँडो छाड्न चाहनुहुन्छ। यहाँ अभिप्रेरणाको तह नै बेग्लै छ।’
स्टिभन विदेशमा जन्मेका १२५ अमेरिकी धनाढ्यमध्ये एक हुन्। उनी अहिले अमेरिका बस्छन्। २०२२ मा यस्ता धनाढ्यको संख्या अमेरिकामा ९२ मात्र थियो। अहिलेको संख्या कीर्तिमानी भएको फोर्ब्सले उल्लेख गरेको छ।
यी सबै ४१ देशबाट अमेरिका आएका अर्बपतिहरू हुन्। उनीहरू अमेरिकाको कुल सम्पत्तिका १४ प्रतिशत हिस्सेदार हुन्। यी अमेरिकी आप्रवासीहरूसँग कीर्तिमानी कुल १३ खर्ब अमेरिकी डलर सम्पत्ति छ भने अमेरिकाको कुल अर्बपति सम्पत्ति ७.२ ट्रिलियनको १८ प्रतिशत यिनैसँग छ। अमेरिकामा १० धनाढ्यमध्ये हरेकमा ३ जना आप्रवासी रहेका छन्।
यस्तोमा संसारकै धनाढ्य इलोन मस्क पनि पर्छन्। जो दक्षिण अफ्रिकामा जम्मिए र कलेज विद्यार्थीको रुपमा क्यानडा हुँदै अमेरिका प्रवेश गरे। मस्कसँग अहिले ३ खर्ब ९३ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अनुमान छ।
गुगलका सहसंस्थापक सर्जे ब्रिन दोस्रो ठूला धनाढ्य आप्रवासी हुन्। जोसँग १ खर्ब ३९ अर्ब अमेरिकी डलर अनुमानित सम्पत्ति छ। ब्रिनको परिवार उनी ६ वर्षको उमेर हुँदा रुसबाट अमेरिका आएको थियो। रुसमा गैरमानवीय व्यवहार खेपेपछि उनको परिवारले रुस छाडेको थियो।
अमेरिकाको तेस्रो धनाढ्य आप्रवासी एनभिडियाका सहसंस्थापक तथा सीईओ जेन्सेन हुआङ हुन्। ताइवानमा जन्मिएका उनी सानै उमेरमा परिवारसँगै थाइल्यान्ड पुगे। थाइल्यान्डमा समाज अशान्त हुनथालेसँगै ९ वर्षको उमेरमा परिवारले उनलाई दाइसँगै अमेरिका पठाएको थियो।
जेन्सेनसँग १ खर्ब ३९ अर्ब डलर सम्पत्ति रहेको छ। उनी ताइवानबाट आएका ११ अर्बपति आप्रवासीमध्ये एक हुन्। अमेरिकामा इजरायलसँगै ताइवानका आप्रवासी अर्बपतिको संख्या बराबर छ। यस्तो संख्या ताइवानबाट अझै बढिरहेको छ। जेन्सनकै भतिजी चिप उत्पादक एएमडी सीईओ लिसा सु पनि १७ महिला आप्रवासी अर्बपतिमध्ये एक छिन्।
त्यस्तै इरानमा जन्मेकी मेकी जानागाने पनि अर्की नयाँ अर्बपति हुन्।
‘एक आप्रवासी हुनु भनेको उत्कृष्ट अवसरको खोजी गर्नु पनि हो र आफ्ना मूल्य र मान्यतामा नयाँ वातावरणलाई अंगाल्नु हो’, ५४ वर्षीया उनी भन्छिन् ।
कम्पनीको युरोपेली व्यवसाय सम्हालेपछि उनी सन् २००२ मा रोबोटिक सर्जरी फर्ममा काम गर्न पहिलोपटक अमेरिका आएकी थिइन्। उनी अहिले बायोटेक कम्पनी समिट थेराप्युटिक्सकी सहप्रमुख कार्यकारी अधिकृत रहेकी छिन्। यो कम्पनीको सेयर गत वर्ष झण्डै २ सय प्रतिशतले बढेको थियो। यसले उनलाई अर्बपतिको वरीयता दिलाएको थियो। कम्पनीको विश्वसनीय फोक्सो क्यान्सरको औषधिका कारण यो सबै सम्भव भएको थियो।
‘व्यवसायमा यो उही कुरा हो– तपाईं चुस्त रहनैपर्छ, माझिँदै जानुपर्छ र चुनौतीका बीच पनि शान्त रहनुपर्छ। यो सोचाइले नै मलाई सफलता दिलाएको हो’, उनी भन्छिन्।
अमेरिकामा भारतीय आप्रवासी अर्बपतिको संख्या पनि बढिरहेको छ। भारतले सर्वाधिक आप्रवासी अर्बपति जन्माउने ठाउँको संज्ञा इजरायलबाट खोसेको छ। भारतबाट थपिएका आप्रवासी अर्बपतिहरूमा अल्फाबेटका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका प्रमुख सत्या नाडेला र साइबर सुरक्षा कम्पनी पालो अल्टो नेटवर्कका निकेश अरोरा छन्।
अमेरिकामा सन् २०२५ मा भारतीय आप्रवासी अर्बपतिको संख्या १२ छ। जुन सबैभन्दा धेरै हो। त्यसैगरी इजरायली आप्रवासी अर्बपति ११, ताइवानी ११, क्यानडेली ९, चिनियाँ ८, जर्मन ६, इरानेली ६, फ्रान्सेली ५, हंगेरियाली ४ र युक्रेनबाट ४ जना रहेका छन्। यसबाहेक अन्य विभिन्न देशहरूबाट गरी कुल १२५ जना आप्रवासी अर्बपति रहेका छन्।
यीमध्ये ९३ प्रतिशत आफ्नै बलबुताले अर्बपति भएकाहरू रहेको फोर्ब्सले जनाएको छ। त्यस्तै झण्डै दुई तिहाइ यस्ता अर्बपतिहरू प्रविधि वा वित्तीय क्षेत्रका रहेका छन्। फोर्ब्सबाट
Shares

प्रतिक्रिया