एउटै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको ५ प्रतिशत वा सोभन्दा धेरैको सेयर खरिदको जानकारी नेपाल स्टक एक्स्चेन्ज(नेप्से)लाई गराउनुपर्ने भएको छ।
नेप्सेले सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई सूचना जारी गर्दै वित्तीय विवरणसँगै लगानीको सम्पूर्ण विवरण नेप्सेमा दिनुपर्ने व्यवस्था गरेको हो।
यसअनुसार एउटै व्यक्ति वा संस्थाले संगठित संस्थाको पाँच प्रतिशत वा सोभन्दा बढी हुने गरी सेयर लिएमा सो को जानकारी नेप्सेलाई तुरुन्तै दिनुपर्नेछ।
यस्तै नेप्सेले सूचीकृत संस्थाले लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतविेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र उपलब्ध गराउनुपर्नेछ।
प्रतिसेयर आम्दानी, मूल्य आय अनुपात, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, प्रतिसेयर कुल सम्पत्तिको मूल्य र तरलता अनुपातसम्बन्धी विवरणसहितको त्रैमासिक विवरण भने त्रैमासिक सकिएको १ महिनाभित्रै नेप्सेलाई उपलब्ध गराउनुपर्नेछ।
यदि कम्पनीले बुक क्लोज गर्दै छ भने पनि सोको जानकारी नेप्सेमा एक हप्ता अगाडि नै जानकारी दिनुपर्नेछ।
यस्तै १० करोड वा सोभन्दा माथिको सम्पत्ति खरिद वा बिक्रीसम्बन्धी निर्णय, सञ्चालक समिति तथा अन्य सदस्यहरुको फेरबदल र १० करोडभन्दा बढीको दायित्व वहन गर्नुपर्ने खालका मुद्दाबारे पनि तत्कालै नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। योसँगै नेप्सेले सूचीकृत कम्पनीहरुको १९ प्रकारका विवरण नेप्सेलाई उपलब्ध गराउन निर्देशन दिएको हो।
Shares

प्रतिक्रिया