कारोबार


‘सम्वाद र सहकार्यबाट समृद्धिको यात्रा तय होस्, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नहोस्’

‘सम्वाद र सहकार्यबाट समृद्धिको यात्रा तय होस्, शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नहोस्’

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १३:२, काठमाडौँ

मुलुकभर जेन–जी पुस्ताले विभिन्न सुधारका माग राखी गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ।

प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासंघले परिवारजनमा समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो।

‘मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजस्वको सदुपयोगलगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति सम्वेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरु लगायत सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीँ कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघ सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छ।’ 

सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्यालासहितको मर्यादित रोजगारी सम्भव रहेको उल्लेख गर्दै महासंघले आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि सबैले संयमित भई सम्वाद र सहकार्यका माध्यमबाट समृद्धितर्फको यात्रा तय गर्नुपर्नेमा महासंघको जोड छ।

‘आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलगायत सम्पूर्ण सबै राजनीतिक दलहरु एवं जेन जी पुस्तामा अपिल गर्दै युवाहरुको चाहनाअनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेसा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघ सरोकारवाला सबैमा आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad