कारोबार


प्रदर्शन उग्र बन्दा सार्वजनिक प्रतिष्ठानपछि निजी सम्पत्ति पनि निशानामा

प्रदर्शन उग्र बन्दा सार्वजनिक प्रतिष्ठानपछि निजी सम्पत्ति पनि निशानामा

निर्दोष घोरसाइने
भदौ २५, २०८२ बुधबार २:४०, काठमाडौँ

जेनजीको शान्तिपूर्ण रुपमा सुरु भएको आन्दोलनमा सरकारले दमन गरेपछि दोस्रो दिन व्यापक उग्र बनेको छ। 

सोमबार ठूलो संख्यामा नवयुवाहरु राज्यपक्षको दमनमा मारिएसँगै मंगलबार नेताहरु, उनीहरुका निवास सुरुवाती निशानामा परेका थिए। शीर्षस्थ नेताहरुको घरमा आगो बलेको छ भने मुख्य मुख्य सरकारी निवासहरु पनि जेनजी प्रदर्शनको निशानामा परेका छन्। 

सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म, संसद् भवनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयसम्म खरानी भएका छन्। यसबाहेक निजी सम्पत्ति पनि आन्दोलन चर्किँदै गर्दा जेनजी निशानामा पर्नथालेका छन्। मंगलबार आधा दर्जन बढी निजी सम्पत्ति जेनजीले ध्वस्त पारेका छन्। 

भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजी पुस्ताले सोमबार शान्तिपूर्ण प्रदर्शन गरेको थियो। तर प्रहरीको गोली प्रहारबाट एकै दिन झण्डै दुई दर्जनको मृत्यु भएपछि सरकार नै ढल्नेसम्मको स्थिति बन्यो। 

काठमाडौं उपत्यकामा १७ र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु तथा सयौंका संख्यामा प्रदर्शनकारी र प्रहरी घाइते हुन पुगे। 
योसँगै सरकारको चर्को आलोचना भयो भने गृहमन्त्री रमेश लेखकले सोमबार साँझ नै राजीनामा दिए। 

त्यसपछि आन्दोलन रोकिने सम्भावनामा मन्त्रिपरिषद्ले निष्क्रिय पारेको सामाजिक सञ्जाल खुलाइदियो। तर आन्दोलन रोकिएन।  

कलिला बालबालिकामाथि सरकारको बलजफतीबाट जेनजीको प्रदर्शनलाई मंगलबार बिहानैदेखि अन्य उमेर समूहका पुस्ताको समेत साथ मिल्यो। मुलुकको विभिन्न स्थानमा स्थानीयले स्वतःस्फूर्त रुपमा आन्दोलनमा सहभागी भए। 

सबैतिरबाट सरकार चेपुवामा परेपछि मन्त्रीहरुसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि राजीनामा दिन बाध्य भए। प्रधानमन्त्री, गृहमन्त्रीलगायतले सरकार छोडेसँगै आन्दोलनकारीको मनोबल उच्च बन्यो। 

सुरक्षा निकायहरुले पनि आन्दोलनकारीलाई रोक्ने चेस्टा गर्नसकेका छैनन्। सडक आन्दोलनकारीको कब्जामा आएपछि सार्वजनिक र निजी सम्पत्ति उनीहरुको निशानामा परेको देखिएको छ। 

पहिलो चरणमा सरकारी भवन र संरचना ध्वस्त पारेपछि उनीहरुले व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिमाथि पनि आक्रमण थालेका छन्। 

थापाथलीको अटोहब ध्वस्त
आन्दोलनकारीहरुको निशानामा अटो हबको रुपमा परिचित थापाथलीको गाडी शोरुम पनि परेको छ। आन्दोलनकारीहरुले सुजुकीको आधिकारिक वितरण सीजी मोटो कर्प, चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स, टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सको शोरुमा आगजनी गरिएको छ। 

यस्तै महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेट र हुन्डाई गाडीको आधिकारिक वितरण्क लक्ष्मी इन्टरकन्टिनेन्टलको शोरुमा तोड फोड गरिएको छ।

यस्तै थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कमा पनि आगजनी गरिएको छ भने एनएमबी र ग्लोबल आईएमई बैंकको एटीएम बुथ फुटाइएको छ। 

बत्तीसपुतलीस्थित हिमालय बैंक र बानेश्वरको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरिएको छ। मोबाइल अपरेटर एनसेलको कर्पोरेट टावर लाजिम्पाटमा आगजनी गरिएको छ।

केपी ओलीले राज्य कोषको अर्ब रुपैयाँ खर्च गरेर निर्माण गरेको झापाको दमकस्थित भ्यू टावर पनि आन्दोलनकारीको निशानमा परेको छ। भ्यू दावरमा आगजनी गरिएको छ। 

यस्तै, नक्सालस्थित हिल्टन होटल, वर्णबास होटल बालुवाटारमा आगो लगाइएको छ भने नक्साल, चाबहिल र विराटनगरस्थित भाटभटेनीक तोडफोड तथा लुटपाट गरिएको छ। 

जनता सडक कोटेश्वरस्थित सिम्रिक एयरको कर्पोरेट भवन, चन्द्रागिरी हिल्सको केबल कार पनि जलाइएको छ। 

यस्तै, नागरिक उड्यान प्राधिकरण, सडक विभाग, शहरी विकास तथा भवन निर्माण 
विभाग, कोटेश्वरस्थित जडिबुटी प्रशोधन केन्द्रमा पनि अगजनी गरिएको छ। 
बुटवलको मिलन चोकमा रहेको होटेल ड्रिम इन्टरनेशनल र ड्राइभर टोलमा रहेको होटेल टुलिपमा प्रदर्शनकारीले आगो लगाएका छन्।

खुमलटारमा रहेको युलेन्स स्कुल, मध्यबानेश्वरको ग्लोबल कलेज पनि प्रदर्शनकारीले जलाइदिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad