कारोबार


चन्द्रागिरि हिल्सले भन्यो- विचलित भएका छैनौँ, सबैको साथले सेवा सुचारु गर्न दृढ छौँ

"थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध छौँ"
चन्द्रागिरि हिल्सले भन्यो- विचलित भएका छैनौँ, सबैको साथले सेवा सुचारु गर्न दृढ छौँ

नेपालखबर
भदौ २८, २०८२ शनिबार १७:५१, काठमाडौँ

चन्द्रागिरि हिल्सले पुनः सेवा सुरु गर्न दृढ रहेको बताएको छ। शनिबार विज्ञप्ति जारी गर्दै सबैको साथले सेवा सुचारु गर्न हामी दृढ संकल्पित रहेको बताएको हो।

मंगलबारको जेनजी प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बेस स्टेसनमा आगजनी भएको थियो। 

कम्पनीले भदौ २३ गते सोमबार यता जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। 

"दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ  साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ", कम्पनीले भनेको छ।

जेन-जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति हाम्रो सम्मान र साझा उद्देश्य रहेको कम्पनीले उल्लेख गरेको छ।  

"तथापि, सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको छ", कम्पनीले भनेको छ। 

चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था नभई यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था भएको कम्पनीले जनाएको छ। 

"नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ", विज्ञप्तिमा भनिएको छ, "प्रदर्शनकै क्रममा मङ्गलबार अन्य ठाउँहरुमा जस्तै हामीलाई समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केवलकारको बटम स्टेशनमा ठुलो क्षति पुगेको छ। यद्यपि, हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा हामी कति पनि विचलित भएका छैनौँ ।"

कम्पनीले आफूप्रति सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने सपना र अठोट अझै मजबुत बनेको उल्लेख गरेको छ। 

"हामी पुनः उठ्ने छौँ र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौँ । हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौँ । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षा सहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौँ", कम्पनीले भनेको छ।

कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूले देखाएको सक्रिय सहयोग र तदारुकताप्रति कम्पनीले आभार प्रकट गरेको छ। 

कम्पनीले भनेको छ, "यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। साथै स्थानीय, समुदायको सहयोग र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गर्दछौँ।"

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad