भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट मात्रै ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको पाइएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सुन र नगद गरेर कुल ३७ देखि ३८ करोडसम्मको लुटपाट भएको बताएका हुन्।
उनले सुशान्त प्रधानको पडकास्टमा दिएको अन्तर्वार्तामा संसद् भवनमा रहेको वाणिज्य बैंकमा ‘सिरियस चोरी’ भएको खुलासा गरेका हुन्। उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन चोरिएको उनको भनाइ छ।
‘एक ठाउँमा भने सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ५ करोड नगद र १८ किलो सुन लुटिएको छ। ३७/३८ करोड बराबरको लुटपाट भएको छ’, उनले पडकास्टमा भनेका छन्।
प्रदर्शनका क्रममा राष्ट्र बैंकमा क्षति नभए पनि बैंकका शाखाहरुमा भने गम्भीर क्षति भएको देखिएको हो।
प्रदर्शन साम्य भएपछि गभर्नर पौडेलले २६ गते संसद् भवनमा रहेको उक्त शाखाको अनुगमन गरेका थिए।
सुरुवाती अनुसन्धानबाट संसद् भवनको वाणिज्य बैंकको शाखा कार्यालयका लकरसहित तोडफोड र लुटपाट हुँदा करोडौँको क्षति पुगेको गभर्नर स्वयंले खुलासा गरेका हुन्।
हालसम्म औपचारिक रुपमा उक्त शाखाबाट कति लुटपाट भयो भन्ने विवरण नआए पनि गभर्नर डा. पौडेलले ३८ करोड लुटिएको अनुमानित तथ्यांकबारे जानकारी दिएका छन्।
बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंककै अनुसन्धानबाट नेपालभर ६८ वटा बैंकका शाखा र ६९ एटीएममा क्षति पुगेको विवरण सार्वजनिक भइसकेको छ।
गभर्नर पौडेलले प्रदर्शनकारीको उद्देश्य बैंकहरु नभए पनि लोकेसनका कारण पनि शाखा कार्यालयहरुमा क्षति पुगेको बताए।
उनले भनेजस्तै प्रदर्शनकारीहरुले ठूला सरकारी कार्यलय तथा नजिक रहेका बैंकका शाखा कार्यालय, ठूला बिजनेस हाउसनजिक रहेका शाखा र एटीएममा क्षति पुगेको थियो।
अहिले राष्ट्र बैंकले संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखा कार्यालयबाहेकका अन्य क्षतिग्रस्त कार्यालयहरुबाट रकम लुटपाट नभएको जनाएको छ। लुटपाटको प्रयास भए पनि सफल हुन नसकेको देखिएको छ।
‘उनीहरुको उद्देश्य बैंकभन्दा पनि संसद् र भाटभटेनी थिए। भाटभटेनीभित्र रहेका एटीएम, सरकारी अफिसभित्र र बिजनेस कम्प्लेक्सभित्र भएका शाखाहरुमा अट्याक गरेका छन्’, उनले पडकास्टमा भनेका छन्, ‘भरतपुरमा एटीएम मेसिन लुटे तर लुटे पनि पैसा भने निकाल्न सकेनन्। एटीएम लुटे पनि पैसा निकाल्नै सकिँदैन। यो लुटेर केही हुनेवाला छैन।’
उनले नबिलको चाबहिल शाखा, वाणिज्य बैंककै दुहबी शाखामा पनि लुट्ने गम्भीर प्रयास भएको बताउँदै बैंककै कर्मचारीको तदारुकताले बचेको उल्लेख गरेका हुन्। यद्यपि प्रदर्शनको इपिसेन्टर बनेको संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखा भने बचाउन सक्ने अवस्थाभन्दा बाहिर थियो। जसले मानिसहरुको हुलले नै शाखा कार्यालयमा रहेको लकर तोडफोड गरी नगद र सुन चोरेर भागेका थिए।
गभर्नर पौडेलका अनुसार लुटपाटमा संलग्नहरु अझै पक्राउ परिसकेका छैनन्। राष्ट्र बैंक र प्रहरीले सीसीटीभी फुटेज हेरेर संलग्नको पहिचान तथा अनुसन्धान गरिरहेको छ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले भने उक्त शाखामा भएको क्षतिबारेको अनुसन्धान अन्तिम चरणमा रहेको बताए।
‘हामीले उक्त शाखामा भएको क्षति र लुटपाटको अनुसन्धान अन्तिम चरणमा पु¥याएका छौँ, आज र भोलिमै सकिनेछ। त्यसपछि मात्रै कति क्षति भयो भन्ने एकीन हुनेछ’, उनले भने।
उक्त शाखाबाहेकका अन्य शाखाहरुमा भने कर्मचारीसँगै प्रदर्शनकारी पनि संयमित बन्दा लुटपाट हुनबाट बचेको थियो। गभर्नर पौडेलले संसद् भवनमा रहेको वाणिज्य बैंकको शाखाबाहेकका अन्य शाखा भने सुरक्षित नै रहेको बताए।
घटनालगत्तै बैंकर्स एसोसिएसनले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरे पनि अन्तिम विवरण भने सार्वजनिक गरिसकेको छैन। सम्भवतः केही दिनभित्रै राष्ट्र बैंकले क्षति बारेको विवरण सार्वजनिक गर्ने जनाइएको छ।
गभर्नर पौडेलले घटना घट्नेबित्तिकै सीईओहरुसँग भेटेर क्षतिको विवरण मगाएको र आउन बाँकी नै रहेको बताएका छन्।
‘बैंकिङ क्षेत्र नै ध्वस्त हुनबाट बच्यो’
उनले उक्त पडकास्टमा बोल्दै आफूलाई सबैभन्दा धेरै डर बैंकिङ प्रणाली नै ध्वस्त हुने हो कि भन्ने रहेको उल्लेख गरेका छन्।
आन्दोलनमा बैंकहरुमा क्षति पुगे पनि बैंकहरुमा नै लक्षित नभएका कारण थप क्षति पुग्नबाट बचेको उनको भनाइ छ।
२३ र २४ गतेको प्रदर्शनले बैंकहरु तथा एटीएममा लुटपाट बढेपछि बैंकिङ क्षेत्र जोखिममा पर्ने डर पसेको उनी बताउँछन्।
‘मलाई डर थियो, एटीएममा पैसा नहुने र डिजिटल पे पनि नहुने हो कि भन्ने थियो, किनभने कोलाहलसँगै कारागारबाट मान्छे भागेका थिए।यसले थप लुटपाट बढाएर नगद अभाव हुने भन्ने भय थियो’, पौडेलले भनेका छन्, ‘तर हामी त्यस्तो अवस्थाबाट जोगियौँ। अहिले वित्तीय क्षेत्र सुरक्षित छ।’
पौडेलले जोखिमका बाबजुद पनि पेमेन्ट सिस्टमको इन्टिग्रिटी मेन्टेन गर्न सक्दा डिजिटल पेमेन्टमा रोकावट नआएको बताए। उनले विषम परिस्थितिमा पनि बैंकका कर्मचारीले निर्वाह गरेको दायित्वको प्रशंसा गर्दै भने, ‘कोलाहलको फाइदा उठाउन खोजेनन्, बरु कर्मचारीले प्रतिबद्ध भएर काम गरे जसका कारण अहिले वित्तीय क्षेत्र सुरक्षित छ।’
बैंकहरुमा भएको लुटपाटका कारण सेवाग्राहीमा बैंकप्रतिको विश्वास कमजोर भएको छ भने बैंक कति सुरक्षित भन्ने प्रश्न पनि उब्जाएको छ। यद्यपि गभर्नर डा. पौडेलले भने असुरक्षाका बाबजुद संसद् भवनको एक शाखाबाहेक अन्य सबै बैंकहरु र तिनका शाखा कार्यालयहरुको लकर र बैंक खाता सबै सुरक्षित रहेको बताए।
‘बैकिङ क्षेत्र सुरक्षित नै छन्, हामीले निगरानी पनि गरिरहेका छौँ’, उनले पडकास्टमा भने।
पडकास्टमै बोल्दै गभर्नर डा. पौडेलले सरकार र व्यावसायिक प्रतिष्ठानहरुको लस अत्यधिक रहेका बताएका हुन्। उनले विभिन्न स्रोतका अनुसार भाटभटेनी सुपरस्टोरकै १ खर्बसम्मको क्षति भएको खुलासा गरे।
उनले भने, ‘भाटभटेनीकै क्षति १ खर्बसम्मको छ कि भन्ने कुरा आइरहेको छ। २० वटा शाखा नष्ट भएको भन्ने आइरहेको छ। यो एकीनचाहिँ होइन। भेरिफाइ गर्न बाँकी छ।’
उनले हिल्टनको ८ अर्बसँगै सरकारको खर्बौँ सम्पत्ति नष्ट हुँदा त्यसले अर्थतन्त्रलाई थप नाजुक बनाएको बताए। उनले व्यवसायीलाई क्षतिबाट निस्किएर व्यवसाय गर्न सक्ने बनाउन वित्त नीतिमार्फत सहजीकरण गर्नुपर्ने धारणा राखे।
Shares

प्रतिक्रिया