कारोबार


कुलमानको निर्देशनका बाबजुद नागढुंगा सुरुङमार्ग दसैँमा चलाउन जापानी ठेकेदार अनिच्छुक

कुलमानको निर्देशनका बाबजुद नागढुंगा सुरुङमार्ग दसैँमा चलाउन जापानी ठेकेदार अनिच्छुक

निर्दोष घोरसाइने
असोज ७, २०८२ मंगलबार २०:१३, काठमाडौँ

जापानी निर्माण कम्पनी हाजमा–आन्दो जेभीले सुरक्षाको कारण देखाउँदै नागढुंगा सुरुङमार्ग दसैँमा सञ्चालन गर्न अनिच्छा प्रकट गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै नागढुंगा–सिस्नेरी सुरुङमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। मन्त्री घिसिङले शनिबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, यातायात व्यवसायीसँगको छलफलपछि यस्तो निर्णय गरेका थिए। 

सुरुङमार्ग निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको अवस्था छैन। यस्तोमा मन्त्री घिसिङले दसैँका लागि मात्र सुरुङमार्ग प्रयोगमा ल्याउन निर्देशन दिएपछि आइतबारदेखि सडक विभागका अधिकारी निर्माण कम्पनीसँग छलफलमा छन्। बुधबार पनि निर्माण व्यवसायीसँग छलफल गर्ने आयोजना निर्देशक सौजन्य नेपालको भनाइ छ।

‘सुरुङमार्गको मुख्य काम लगभग सबै सकिएको छ। फिनिसिङ, ट्राफिक सुरक्षा, पेन्टिङ, साइनबोर्ड, सञ्चालनसम्बन्धी व्यवस्थाको काम मात्र बाँकी छ,’ नेपालले भने, ‘यसकै आधारमा दसैँ अघि सुरुङमार्ग सञ्चालन गर्न सकिन्छ कि भनेर निर्माण कम्पनीसँग छलफल अघि बढाइएको हो।’

सडक तयार भएकाले सुरुङमार्ग हुँदै सवारी गुडाउन मिल्ने अवस्था छ। सञ्चालनमा आउँदा दसैँ मनाउन उपत्यका छोड्ने धेरै सवारी सुरुङमार्ग हुँदै बाहिरिन सक्छन्। यात्राको क्रममा सुरुङमार्गमा भित्र कुनै भवितव्य पर्न सक्ने खतराप्रति निर्माण कम्पनीले चासो देखाएको छ।

सुरक्षा उपायहरू पूर्ण रूपमा अवलम्बन नगरेसम्म सडक सञ्चालन ल्याएर त्यसको भागिदार बन्ने पक्षमा निर्माण कम्पनी छैन। विभागले निर्माण कम्पनीलाई मनाउन प्रयास गरे पनि हालसम्म सफलता पाउन सकेको छैन।

सडक विभागले सुरुङमार्ग सञ्चालनका लागि आइतबार पनि निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो। उक्त छलफलमा निर्माण कम्पनीले परामर्शदाताको स्वीकृतिबिना सुरुङमार्ग सञ्चालनमा ल्याउन नसकिने प्रतिक्रिया दिएको थियो। सुरुङमार्गको मुख्य परामर्शदातामा जापानको निप्पोन कोइ इन्जिनियरिङ छ।

आइतबारको छलफलमा परामर्शदाताका टिम लिडर जापानमा रहेका थिए। टिम लिडर सोमबार काठमाडौं आइपुगेका हुन्। उनी आएलगत्तै विभागले मंगलबार पुनः छलफल गरेको थियो। तर, उक्त छलफल निष्कर्षविहीन बन्न पुगेको छ।

‘जापानीहरू आफ्नो समयसीमा अडिग हुन्छन्। अहिले सुरुङमार्ग निर्माण कम्पनीकै स्वामित्वमा छ। यस्तोमा उनीहरूको स्वीकृतिबिना सञ्चालन गर्न सम्भव छैन,’ सडक विभागका एक अधिकारीले नेपालखबरसँग भने, ‘निर्माण कम्पनीको चासो जायज नै छ। सुरुङमार्ग सञ्चालनको प्रमुख चुनौती भनेको सुरक्षा नै हो। त्यसैले जोड जरबजस्ती गर्न सकिएको छैन।’

२०७६ असोज ६ गते ठेक्का लागेको सुरुङमार्गको निर्माण अवधि २०८२ कात्तिक ८ गतेसम्मका लागि थपिएको छ। सुरु ४२ महिनामा सक्ने भनिए पनि समयमा काम नहुँदा लागत र समयावधि दुवै बढाइएको छ। 

भित्रबाट गाडी मात्र पास गराउने भनिए पनि प्राविधिक कामहरू बाँकी छन्। सञ्चालनमा ल्याउँदा सुरुङमार्गभित्र दुर्घटना नहोस् भन्ने कामना गर्नेबाहेक अन्य विकल्प विभागसँग छैन। सुरुङमार्गमा आगजनी नियन्त्रण गर्न अटोमेटिक फ्रायर फाइटिङ प्रणाली त छ तर त्यसलाई सञ्चालन गर्ने जनशक्ति र उपकरणको अभाव छ। त्यसैले हालकै अवस्थामा सुरुङमार्गभित्र उद्धार र राहत  प्रदान गर्न कठिन छ। 

सुरुङमार्ग सञ्चालनको ठेक्का नै बाँकी
सुरुङमार्ग सञ्चालन  तथा व्यवस्थापनका लागि सडक विभागले ठेक्का आह्वान गर्नुपर्नेछ। विभागले सार्वजनिक खरिद अनुगमन कार्यालयमा स्पेसिफिकेसन तयार पारेर बुझाएको छ। तर, अनुगमन कार्यालयबाट अनुमोदन भइसकेको छैन। 

सडक विभाग र अनुगमन कार्यालयबीच बोलपत्रका कागजातलाई अन्तिम रूप दिन विभिन्न चरणमा छलफल भने भएका छन्। अनुगमन कार्यालयले दिएका सुझावका आधारमा विभागले आवश्यक सुधार पनि गरेर बुझाइसकेको छ। अनुगमन कार्यालयले स्वीकृति प्रदान गरेपछि खरिद प्रक्रिया अघि बढाइने निर्देशक नेपालले बताए। 

विभागको योजनाअनुसार, खुला प्रतिस्पर्धाबाट सुरुङमार्ग सञ्चालन गरेको अनुभव भएको सेवा प्रदायकले ठेक्का पाउनेछ। नेपालमा सञ्चालन हुन लागेको यो नै पहिलो सडक सुरुङमार्ग हो। त्यसैले विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नेछ। त्यसमा नेपाली कम्पनी साझेदारको रूपमा राखिनेछ, जसबाट नेपाली कम्पनीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ। ठेक्का अवधि सकिएपछि सुरुङमार्ग नेपाली कम्पनीबाटै सञ्चालन गर्न सहज हुने विभागको विश्वास छ। 

सञ्चालनको जिम्मा पाउने कम्पनीले त्यहाँ गुड्ने सवारी साधनबाट रकम उठाउने छ। उसैले सुरुङमार्गको सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै राहत र उद्धारको काम पनि गर्नेछ।

सुरुङमार्ग प्रयोग गरेवापत उठाउने रकम सञ्चालक कम्पनीले सोझै प्रयोग गर्न भने पाउँदैन। उक्त रकम सडक बोर्डको खातामा जम्मा गर्नुपर्नेछ। विभागले रकम संकलन गर्ने कार्यका लागि आवश्यक पर्ने जनशक्ति सञ्चालक कम्पनीलाई उपलब्ध गराउनेछ। समय तालिका अनुसार सुरुङमार्ग निर्माण अघि बढे आगामी पुससम्म सबै प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउने विभागको योजना छ।

यदि सबै काम पूरा नहुँदै दसैँमा सुरुङमार्ग प्रयोग गरिए पुसभित्र सञ्चालनमा ल्याउन कठिन हुने विभागका अधिकारीहरू बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad