कारोबार


राजमार्गको सास्ती कम गर्न रकसेड र साना सुरुङमार्ग

राजमार्गको सास्ती कम गर्न रकसेड र साना सुरुङमार्ग

नागढुंगा सुरुङमार्ग र चीनको रकसेड प्रविधि


निर्दोष घोरसाइने
असोज १२, २०८२ आइतबार ११:५२, काठमाडौँ

चाडपर्वको मुखैमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरुले अत्यधिक झञ्झट व्यहोरे।

त्यसअघि नै मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा झरेको पहिरोले दशैँमा घर हिँडेकाहरुलाई अघिल्लो शुक्रबारदेखि नै अत्यायो। पटक–पटकको पहिरोले करिब १०५ घण्टा यातायात पूर्णतः अवरुद्ध हुनपुग्यो। 

मंगलबार दिउँसो झनै ठूलो पहिरो आयो। बल्लबल्ल एकतर्फी खुलेको सडक अनि त पूरै ठप्प भयो। बिहीबारदेखि अहिले दुवै ठाउँमा निर्बाध रुपमा बाटो खुलेको छ।   

तुइनखोलामा मंगलबारको पहिरो ठूलो थियो। तत्काल खोल्न सम्भव नभएकाले सडक विभागले सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो। यसका लागि त्रिभुवन राजपथ (नौबिसे–हेटौंडा), कान्ति राजमार्ग (सातदोबाटो– टीकाभैरव–बगुवा–लेनडाँडा–हेटौंडा) कालीगण्डकी करिडोरबाट छिरेर (गैंडाकोट–पाल्पा रामपुर–भिमाद–तनहुँ), धादिङ (फिर्केखोला–धादिङबेसी–सल्यानटार)–गोर्खा (आरुघाट–आबुखैरेनी), बुटवल –पोखरा वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको थियो। 

तुइनखोला पहिरो

पूर्वअर्थमन्त्री जनार्दन शर्माले त बुधबार सामाजिक सञ्जालमा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस हाइवेको पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट राख्दै ‘ ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ–नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न नसक्ने उल्लेख गरेका थिए। 

‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ’, शर्माले लेखेका थिए। 

मुलुकको भौगोलिक बनावट र कमसल निर्माणकार्यले गर्दा राष्ट्रिय राजमार्गमा पनि यात्रुले सास्ती खेप्नुपरेको हो। पछिल्लो समय सडक विस्तारका लागि पहाड खोस्रिँदा सानो पानीले पनि पहिरो निम्त्याउने गरेको छ। यस्तोमा पहाड खुर्केर सडक विस्तारभन्दा पनि रकसेड (सडकमाथि कंक्रिटको वाल), साना सुरुङलगायतका विकल्पमा उपयुक्त हुने विज्ञहरुको भनाइ छ। 

नयाँ सडक निर्माणभन्दा पनि सञ्चालनकै अवस्थामा रहेका सडकलाई व्यवस्थित गर्न सकिए यात्रुले सास्ती भोग्नु नपर्ने पूर्वसचिव अर्जुनजंग थापा बताउँछन्। 

‘सडक निर्माण महँगो कार्य हो। तत्काल नयाँ सडक बन्दैन। समय र स्रोत (रकम) आवश्यक पर्छ’, थापाले नेपालखबरसँग भने। 

नौबिसे–मुग्लिङ–नारायणगढ सडक खण्ड हरेक वर्ष पहिरोका कारण अवरुद्ध हुने गर्छ। यस खण्डमा सडक अवरुद्ध हुन नदिन सडक विभागअन्तर्गतको पुल महाशाखा र अर्थ मन्त्रालयबीच २०७८ मा जोखिमयुक्त स्थानमा रकसेड र साना सुरुङमार्ग निर्माण गर्ने सम्बन्धमा छलफल भएको थियो। 

तर यस्तो अभ्यासको सुरुवात सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा भयो। यहाँ सुरुङ र रकसेड दुवै निर्माण भइरहेको छ। नौबिसे–मुग्लिङ–नारायणगढ काठमाडौं उपत्यकाको लाइफलाइन भए पनि नेताको भोट बैंकमा पर्दैन।

‘रकसेड निर्माण गर्न ठूलो पैसा पनि लाग्दैन। यो पुलभन्दा तीन–चार गुणा मात्र महँगो हुने हो’, थापाले भने, ‘सय मिटर बनाउन ३०–४० करोड रुपैयाँ लाग्छ।’ 

आवश्यकता र स्रोतको आधारमा जोखिमयुक्त स्थान रकसेड र साना सुरुङ बनाउन सकिन्छ।

रसुवागढी–केरुङ चीनतर्फ पनि केही स्थानमा रकसेड निर्माण गरिएको छ। बाढी पहिरोका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याप्रुबेसी–रसुवागढी बारम्बार अवरोध हुने गर्छ। तर चीनतर्फ यस्तो समस्या कमै हुने उनले जानकारी दिए। 

सरकारले अहिले राजमार्ग मर्मतसम्भारको रकम पनि कटौती गरिरहेको छ। पहिरो पन्छाउन पनि मुस्किल अवस्था छ। अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको प्राथमिकतामा राष्ट्रिय राजमार्गभन्दा पनि सासंदहरुलाई खुसी बनाउन खुद्रे आयोजनामा बजेट विनियोजन गर्दा समस्या निम्तिएको विज्ञहरु बताउँछन्। 

संविधानको अनुसूची ५, ६, ७ र ८ ले राजमार्ग मात्र संघीय सरकारको जिम्मेवारीमा पर्छ। तर संविधानको मर्मविपरीत संघीय सडकमा प्रयोग हुनुपर्ने रकम वडा तहसम्म पुगेको छ।  

चालू आवमा खुद्रे सडक आयोजनामा २३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ। 

राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनामा निर्माण व्यवसायीलाई कामका आधारमा भुक्तानी दिन पनि समस्या छ। 

निर्माणाधीन द्रुतमार्ग

काठमाडौं–तराई द्रुतमार्ग उपयुक्त विकल्प
काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने विभिन्न वैकल्पिक सडक सञ्चालनमा रहे पनि ती दीर्घकालीन समाधान नभएको थापा बताउँछन्। 

त्यसको उपयुक्त समाधान निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग भएकाले प्राथमिकताका साथ छिटो निर्माण सम्पन्न गर्नुपर्नेमा उनको जोड छ। 

यो सडक निर्माण भएमा काठमाडौं–तराईको दूरी ७२ किलोमिटरमा छोटिन्छ। साथै आयोजनाको डिजाइनमा बुधुने–हेटौंडा ९ किलोमिटर सडक छ। बुधुने–हेटौंडा खण्ड प्रयोग गरेर पश्चिमतर्फका सवारी पनि गुड्न सक्छन्। पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार प्रक्रिया सडक विभागले अघि बढाएको छ। पथलैया–हेटौंडा–नारायणघाट पनि चार लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढ्ने अन्तिम चरणमा छ।  

नारायणगढ–बुटवल खण्डलाई अवरोधविना सञ्चालन गर्न दाउन्ने खण्डमा सुरुङमार्ग निर्माण गर्नुपर्ने थापाको सुझाव छ। 

‘दाउन्नेको पहिरोले दुःख दिन थालेको लामो समय भइसकेको छ। समयसँगै ठूलो हुँदै गइरहेको छ। यहाँ पनि सुरुङमार्ग आवश्यक छ’, उनले भने। 

खर्च हुन नसकेका आयोजनाका बजेट निकालेर यसमा लगाउनुपर्ने उनको सुझाव छ। सुरुङमार्ग नबनेसम्म दाउन्ने सडकखण्डको दुःख अन्त्य नहुने थापा बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad