उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि भारतीय रााजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
शुक्रबार उद्योग मन्त्रालयमै भएको भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा छलफल भएको मन्त्री सिन्हाको सचिवालयले जनाएको छ।
त्यसक्रममा राजदूत श्रीवास्तवले नवनियुक्त मन्त्री सिन्हाको सफल कार्यकालको शुभकामना व्यक्त गरे भने मन्त्री सिन्हाले दुई मुलुकबीच रहेको ऐतिहासिक द्विपक्षीय सम्बन्ध तथा नेपालको आर्थिक तथा सामाजिक विकासमा भारतले पुर्याएको सहयोगप्रति आभार प्रकट गरे।
त्यसक्रममा मन्त्री सिन्हाले जेनजी प्रदर्शनपछि गठित सरकारको प्रमुख जिम्मेवारी फागुन २१ गतेका लागि घोषित निर्वाचन सम्पन्न गराउनु रहेको बताए।
उनले विषम परिस्थितिमा आपूर्ति श्रृंखला सुचारु राख्न भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै नेपाललाई भारतले पुर्याउँदै आएको सहयोगको निरन्तरताकोसमेत अपेक्षा व्यक्त गरेका छन्।
त्यसक्रममा मन्त्रीज्यूले पछिल्लो समय नेपाल भारतबीच बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न व्यापार सहजीकरण, प्रक्रियागत सरलीकरण, भारतीय लगानी विस्तार र उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको संस्थागत क्षमता विकासमा सहयोग गर्न जोड दिँदै नेपालबाट भारतमा हुने निर्यातका वस्तुमा लगाइएको बीआरएस प्रमाणीकरण प्रक्रियालाई थप सहज र सरल बनाउन, स्टीलजन्य वस्तुहरुको निर्यातमा पूर्ववत सहजीकरण गर्न तथा सेफगार्ड शुल्क नलगाउन, जटजन्य बस्तुहरुको निर्यातमा एन्टी डम्पिङ शुल्क नलगाउने विषयमा सहजीकरण गर्न अनुरोध गर्नुभयो, भेटपछि मन्त्रालयका सहसचिव हुमकला पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यसैगरि उद्योगमन्त्री सिन्हाले भारतीय राजदूतबीच भेटमा नेपाल भारत पारवहन सन्धि, २०२३ को संशोधनका लागि नेपालको तर्फबाट भारत सरकारलाई पठाइएको लेटर अफ एक्सचेन्जहरुलाई निष्कर्षमा पुर्याउन एवं नेपाल भारत व्यापार सन्धि २००९ को पुनरावलोकन प्रक्रिया अघि बढाउन सहजीकरण हुने अपेक्षा पनि व्यक्त गरेका छन्।
त्यसक्रममा भारत सरकारको सहयोगमा निर्माण भइरहेका व्यापारिक पूर्वाधार निर्माणलाई तीव्रता दिने विषयमासमेत छलफल भएको छ।
छलफलका क्रममा राजदूत श्रीवास्तवले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु र व्यापारजन्य पूर्वाधार निर्माण लगायतका विषयमा भारत सरकारले नेपालसँग सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरका छन्।
यसअघि गएको शुक्रबार मन्त्री सिन्हा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबीच पनि भेटवार्ता भएको मन्त्री सिन्हाको सचिवालयले जनाएको छ।
त्यस अवसरमा दुई मुलुकबीच लामो समयदेखि रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्ध तथा नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुयाएको सहयोगको विषयमा छलफल भएको मन्त्री सिन्हाको सचिवालयले जनाएको छ।
त्यस अवसरमा मन्त्री सिन्हाले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरेका छन्।

Shares

प्रतिक्रिया